‘कौसी र करेसाबारी क्रान्ति’ को अभियान पूर्वमा

विराटनगर। आफ्नै घरको कौसी र करेसाबारीमा अर्ग्यानिक तरकारी र फलफूल उब्जाएर प्रयोग गर्ने अभियानका अभियन्ताले पूर्वमा रहेका सरोकारवालासँग अन्तरक्रिया गरेका छन्। यस क्रममा अनुभव साटासाट गर्नुका साथै बिउ, बिजन वितरण पनि गरिएको छ।

फेसबुकमा अत्यन्त सक्रिय सदस्यहरु भएको एउटा पेज छ– हाम्रो कौसी र करेसाबारी क्रान्ति । यो सार्वजनिक पेजमा १ लाख ३२ हजारभन्दा बढी सदस्य छन्। निश्चित नियम र अनुशासनमा बाँधिएर यो पेजमा सदस्यहरुले आफ्नो गतिविधि, विचार, सुझाव र सल्लाह शेयर गरिरहेका हुन्छन्।

आफूले उब्जाएका वस्तुको फोटो र भिडियो खिचेर पेजमा शेयर गर्ने गरिएको छ। त्यसबाट अरु सदस्यले जानकारी पाउनुका साथै खेती विधिबारे पनि थाहा पाउने गरेका छन्। कुनै रोग लागे के उपाय लगाउने भन्नेबारे पनि अनुभव आदान प्रदान गर्ने गरिएको छ।

ती सबै कुरा केन्द्रित हुने विषय हो– कौसी र करेसाबारी खेती। यो समूहको नारा नै छ, ‘पारिको होइन अब बारीको।’ यही नाराबाट प्रेरित भएर देश र विदेशमा रहेका नेपालीहरुले आफ्नो करेसाबारी, कौसी, बरण्डा जहाँ जहाँ मिल्छ त्यहाँ साग सब्जी, फलफूल लगाउँछन्। विषादीरहित, अर्ग्यानिक फलाएर आफू पनि खान्छन् अनि पुगेसम्म छरछिमेक, साथीभाई र आफन्तलाई खुवाउँछन्।

पेजका अगुवा दूर्जेय चेतनाले विभिन्न खालका तरकारी, फलफूल लगाउने वैज्ञानिक तरिका, बढी फलाउन सक्ने जुक्तिहरु अनि तिनबाट स्वास्थ्यमा हुने फाइदा जस्ता विषयमा तथ्यपरक र सन्देशमूलक जानकारीहरु राखिरहेका हुन्छन्।

उनी भन्छन्, ‘हामी हाम्रो देशलाई आत्मनिर्भर बनाउँदै, सहर र गाउँमा विषादीरहित उत्पादनको महत्व स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं। घरको कौसी, करेसाबारी, वा कुनै पनि खाली ठाउँलाई उपयोग गरेर आवश्यक तरकारी विषादीरहित उत्पादन गर्ने प्रणालीलाई प्रोत्साहित गर्न सकियो भने, हामी अरबौं रूपैयाँ विदेशिनबाट जोगाउन सक्षम हुनेछौं।’

यस्तो गर्नेमा पेजका अन्य मोडरेटरहरुको भूमिका पनि उत्तिकै सक्रिय देखिन्छ। कुन सिजनमा के तरकारी र फलफूल लगाउने, कस्तो रोग लाग्दा के विधि अपनाएर निर्मूल गर्ने जस्ता थुप्रै जानकारीमूलक सामग्री यो पेजमा राख्ने गरिएको छ।

आफूले लगाएका बिरुवामा प्रयोग गर्न कम्पोष्ट मल कसरी बनाउने, कस्तो मल कुन बिरुवालाई उपयुक्त हुन्छ भन्ने जस्ता धेरै जानकारी पेजमा शेयर गर्ने गरिएको पेजका सदस्य रहेका अजय ब्रजाचार्य बताउँछन्।

उक्त पेजको मोडरेटर मध्येकी एक शीला पराजुली शहरमा बसोबास भएको अनि खाली जग्गा नभएको अवस्थामा पीर गर्नु पर्ने अवस्था नहुने बताउँछिन्। घरको छत उपयोग गरेर छोटा जरा भएका र छिटो उत्पादन दिने मौसम अनुसारका तरकारी फलाउन सकिने उनको भनाइ छ।

पराजुली भन्छिन्, ‘इलामको अकबरे खुर्सानीदेखि जोमसोममा हुने जिम्बुसम्म फलाउन सकिन्छ। भान्साबाट निस्कने फोहोरलाई एउटा गमलामा राख्नुस्, त्यसमाथि माटोको लेयरले छोपिदिनुस्, एक महिनापछि त्यो कम्पोष्ट बन्छ बिरुवालाई त्यही दिनुहोस्, तरकारी किन्न बजार धाउने समय हरेक दिन कौसीमा विरुवाहरुलाई दिनुहोस्, विषादीको पनि डर भएन, स्वादको त कुरै नगरौं। यसरी मजस्तै शहरमा व्यस्त जीवन बिताउने जोकोही पनि लगभग ७० प्रतिशत तरकारीमा आत्मनिर्भर हुन सकिन्छ। प्रयास गर्नुहोस् जीवन परिवर्तन हुन्छ।’

‘हरित सहरका लागि हाम्रो अभियान’ भन्ने उद्देश्य बोकेको यही पेजकी मोडरेटर मध्येकी एक बनेपाकी विजया मानन्धरले पूर्वका केही स्थानमा यस्तै खेतीबारे चेतनामूलक कार्यक्रम गरेकी छन्।

सुनसरीको धरान, धरानकै फरक फरक स्थान अनि विराटनगरमा पनि यस्तो खेतीमा सक्रिय र इच्छुकहरुलाई भेला गराएर अन्तरक्रिया गरिएको छ। ती कार्यक्रमहरुमा सदस्यहरुबीच परिचय, अनुभव आदानप्रदान, बिउ बिजन वितरण र आदान प्रदान गरिएको थियो।

विराटनगरको भेलामा सहभागी गंगा आचार्यले नयाँ साथीहरुसँग चिनजान हुन पाएको र धेरै कुराहरु सिक्न पाएको बताइन्। आफूले उक्त पेजबाट जानकारी पाएर ड्रागन, कागती, सागसब्जी जस्ता खेती गरिरहेको उनले बताइन्। यसैगरी, सहभागी दिपिका ढुंगाना कोइरालालेले आफूले पनि करेसाबारी र कौसी खेती गर्दै आएको सुनाउँदै यसबाट धेरै लाभ लिन सकिने अनुभव सुनाइन्।

त्यस क्रममा मोडरेटर मानन्धरले पेज, त्यसको उद्देश्य र सदस्यहरु बीचको सहकार्य अनि नियमहरुका बारेमा जानकारी गराएकी थिइन्। पेजमा आवद्ध सदस्यहरुले कौसीमै सागसब्जीदेखि तरुल, फलफूल जस्ता वस्तु उब्जाएर त्यसको फोटो, भिडियो शेयर गर्छन्, जसले अरु सदस्यहरुलाई पनि त्यस्तै गर्न प्रेरित गर्ने गरेको मानन्धरको भनाइ छ।

उल्लेखित भेलाहरुमा सहभागीलाई बिउ, बिजन वितरण गर्न उक्त पेजका नेतृत्वकर्ता अगुवा दूर्जेय चेतनाले सहयोग गरेका थिए। धरानमा भएको कार्यक्रममा उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) पनि सहभागी भएका थिए। विकासका लागि आफैंले श्रम गर्नुपर्छ भन्ने अडानका साथ काम गरिरहेका उनले कौसी र करेसाबारी क्रान्तिमा लागेका सदस्यहरुको उत्साहको प्रशंसा गरेका थिए।

आउँदो माघ ३ गते पोखरामा यस्तै कार्यक्रम हुँदैछ। त्यसका लागि पेजका पोखरावासी सदस्यहरु लागिपरेका छन्। बिउ संकलन गर्ने, प्याकिङ गर्ने काम उनीहरुले गरिरहेका छन्।

पेजको पोखरा टिमकी सदस्य रुपा क्षेत्रीले अरु सदस्यलाई आफूसँग भएका बिउ लिएर भेला हुन आह्वान गरेकी छन्। आफूसँग बिउ नभए पनि भेला हुन र चाहिएको बिउ लैजान साथै अनुभव सुन्न अनि सुनाउन उनले आग्रह गरेकी छन्।


प्रतिक्रिया

2 thoughts on “‘कौसी र करेसाबारी क्रान्ति’ को अभियान पूर्वमा

  1. धेरै धेरै धन्यवाद हाम्रो kausi र करेसा बारी page लाई Biratnagar मा यो सुनौलो अवसर जुटाइ दिनुभएकोमा! यो page बाट कौसी खेती सम्बन्धी धेरै कुरा सिक्ने अवसर मिलेको छ! हिजोको भेटघाटले अझै अगाडि बढ्न hausala मिलेको छ! पारीको होइन अब अाफ्नै बारीको! जय कौसी खेती

  2. “गरे के हुन्न र यहाँ पाखुरा कसे ! केही हुन्न जहाँ हात बाधी बसे” । यो अभियानले निरन्तरता र सार्थकता पाओस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *