शिक्षक महासंघद्वारा धर्ना जारी
महासंघआबद्ध शिक्षक कर्मचारीहरू इलाम नगरपालिकाको कार्यालयमा धर्ना दिँदै।
काठमाडौँ। विद्यालय शिक्षा विधेयकका केही प्रावधान सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राजनीतिक दलका कार्यालय र स्थानीय तहमा धर्ना दिने कार्य जारी राखेको छ।
महासंघको टोलीले आज शुक्रबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको छ। यसअघि महासंघले कांग्रेस र एमालेको केन्द्रीय कार्यालयमा पनि धर्ना दिइसकेको छ। महासंघआबद्ध शिक्षक–कर्मचारीहरूले देशका विभिन्न स्थानीय तहमा पनि धर्ना दिँदै आएका छन्।
महासंघले विधेयकमा भएका अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धा कोटा, स्थायी शिक्षकको बढुवा, अस्थायी अवधिको गणना, अध्यापन अनुमतिपत्रको म्याद थप, र शिक्षकको विभागीय कारबाहीसम्बन्धी व्यवस्थामा असहमति जनाएको छ।
अस्थायी शिक्षकको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने महासंघको माग छ। विधेयकमा भने ६० र ४० प्रतिशत प्रस्ताव गरिएको छ।
यसैगरी, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको पद तथा सेवा सुविधा सुनिश्चित गरिनुपर्ने, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधान हटाउनुपर्ने र शिक्षण काउन्सिल तथा राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व हुनुपर्ने माग पनि अघि सारिएको छ।
* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
शिक्षा विधेयकमा छुटेका विषय समावेश गर्न माग
‘शिक्षा विधेयक २०२८ सालको शिक्षा ऐनभन्दा कमजोर’
शिक्षकका माग सम्बोधन नभएपछि पुनः आन्दोलन सुरु
शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि
शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)
