शिक्षा विधेयकको प्रतिवेदन तयार, संसदमा पेस गर्ने तयारी

काठमाडौं । लामो समयदेखि छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा देखिएका विवादित विषयहरु थाती राख्दै संसदीय समितिले प्रतिवेदन तयार पारेको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सचिवालयलाई प्रतिवेदन लेख्न दिएको निर्देशन अनुसार सचिवालयले उक्त काम सकेको हो।

समिति सचिव दशरथ धमलाका अनुसार प्रतिवेदन लेखनको काम पूरा भएको छ। नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा रहेको उपसमितिले तयार पारेको प्रतिवेदनलाई परिमार्जनसहित समितिले पारित गरेको थियो। त्यसलाई सचिवालयले यो प्रतिवेदनको रुप दिएको हो।

समितिले पारित गरे पनि विधेयकमा अझै केही विषयहरू मिल्न बाँकी छ। विधेयकमा सबैभन्दा ठूलो विवाद निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा दिने कि नदिने भन्नेमा देखिएको छ।

निजी विद्यालय सञ्चालकहरूले यस्तो सुविधा दिन नसकिने बताउँदै आएका छन् भने सांसदहरूले अनिवार्य दिनुपर्ने अडान राखेका छन्। अब यो विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिको बैठकबाट टुंगो लगाउने तयारी छ।

यसै विषयमा छलफल गर्न बिहीबार परामर्श उपसमितिको बैठक बोलाइएको थियो। शिक्षामन्त्री रघुजी पन्त व्यस्तताका कारण बैठकमा अनुपस्थित भएपछि कुनै निर्णय हुन सकेन।

परामर्श उपसमितिको बैठकबाट नमिलेका विषयमा सहमति जुटेपछि समितिको अर्को बैठक बोलाइनेछ। उक्त बैठकमा सदस्यहरूलाई प्रतिवेदन अध्ययनका लागि दिइनेछ। त्रुटिहरू सच्याएपछि विधेयक समितिबाट पारित गरी संसद्मा पेस गरिने समितिका एक सदस्यले जानकारी दिए। यस प्रक्रियाका लागि अब कम्तीमा दुईवटा बैठक बस्ने तयारी समितिले गरेको छ।

यता, विधेयकमा सहमति अनुसारका प्रावधानहरू नराखिएको भन्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलनको घोषणा गरेको छ। निजी विद्यालयका संगठनले पनि केही प्रावधानमा असहमति जनाउँदै विरोध गरिरहेका छन्।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि

शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ

शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *