फुर्सदको भ्रम र व्यस्तताको सत्य
फुर्सदको भ्रम र व्यस्तताको सत्यबीच हामी अनवरत हिँडिरहेका छौँ। जीवनको दौडमा हामी प्रायः एउटा अनौठो विरोधाभासका बीचमा अल्झिरहेका हुन्छौँ।
‘फुर्सद छ भन्नु के र फुर्सदै छैन भन्नु के?!’ यो भनाइले आधुनिक जीवनशैलीको एउटा कटु सत्यलाई उजागर गर्छ। जहाँ समयको अवधारणा यति तरल बनेको हुन्छ कि फुर्सद र बेफुर्सदबीचको सीमा धमिलिएको हुन्छ।
हामी मुखले फुर्सद छैन भन्छौँ। तर भित्री रूपमा कहिल्यै फुर्सदमा हुँदैनौँ। सधैँ कामको चपेटामा रहिरहेका हुन्छौँ। बेफुर्सदको डोरीले बाँधिएका हुन्छौँ।
‘फुर्सदमा भेटघाट गरौँला’ भन्यो। तर, फुर्सद फेरि फर्किएर आउँदैन। भेटघाटको काम नै ‘काम’ हुन्छ। ‘फुर्सदमा घरको सफासुग्घर गरौँला’ भन्यो। घरको काम गर्नु नै अर्को थप काम हुन्छ। त्यसमा फुर्सद कहाँ हुनु? त्यस काममा पनि व्यस्तता नै हुन्छ।
त्यसैगरी ‘फुर्सद मिलाएर सपरिवार कतै घुम्न जाउँला’ भन्ने योजना बनायो। घुम्न जानु पनि अर्को ‘काम’माथि ‘कामै’ हुन्छ। लाग्छ, व्यस्तताले हामीलाई एकछिन पनि छोड्दैन। बेफुर्सदी जीवनका हरेक पाटा र पात्रहरूले हामीलाई कामकै धन्दा र ध्याउन्नमा अल्झाइराखेका हुन्छन्।
आखिर यो फुर्सद हुन्छ चाहिँ कहाँ? जहिले पनि बेफुर्सद, जहिले पनि कामै काम। यस्तोमा फुर्सद कहाँ मिल्नु? फुर्सदमा गरिने काम चाहिँ आखिर के हुन्छ कुन्नि!
आजको युगमा, ‘एकछिन यसो बसेर मोबाइल हेर्नु पनि कामै हुन्छ।’ हो, यो एउटा नयाँ प्रकारको ‘काम’ हो, जसले हाम्रो धेरै समय ओगट्छ। सामाजिक सञ्जालका अनेकौँ सूचनाहरू, इमेलका ‘नोटिफिकेशन’हरू वा ‘टिकटक’, ‘रिल’, ‘भिडियो’हरूमा हराउनु।
मान्छेले देख्दा फुर्सदमा मोबाइलमा छ भन्छन्। तर, यी सबैले हामीलाई व्यस्त राख्छन्। हामीलाई लाग्छ, हामी फुर्सदमा छौँ। तर वास्तवमा हामी ‘डिजिटल’ संसारको अदृश्य जालमा अल्झिएका हुन्छौँ। यो व्यस्तताले हामीलाई शारीरिक रूपमा निष्क्रिय राखे पनि मानसिक रूपमा सधैँ सक्रिय बनाइराख्छ।
त्यस्तै, ‘टेलिभिजन सेट अगाडि बसेर टिभी हेर्नु पनि अर्कै काम हुन्छ।’ सिरियलका भागहरू, समाचारका हेडलाइनहरू वा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्दा हामी मानसिक रूपमा व्यस्त हुन्छौँ। टेलिभिजनले हामीलाई बाहिरी संसारबाट काट्छ र आफ्नै संसारमा डुबाउँछ। यो पनि एक प्रकारको कार्य नै हो, किनकि यसले हाम्रो ऊर्जा खपत गर्छ र समयलाई द्रूत गतिमा बगाइदिन्छ।
हामी ‘फुर्सदमा एकछिन बसेर यसो लेख्न, पढ्न खोज्दा फुर्सद कहाँ हुनु र!?’ भन्छौँ। तब यो वाक्यले हाम्रो वास्तविक प्राथमिकताहरूमाथि प्रश्न उठाउँछ।
हामी प्रायः भन्छौँ, ‘समय पाए लेख्छु’, ‘फुर्सद भयो भने पढ्छु।’ तर, वास्तविकता के हो भने, लेख्न वा पढ्नका लागि फुर्सद आफैँ आउँदैन। ती क्रियाकलापहरूलाई हामीले आफैँ सिर्जना गर्नुपर्छ। बेफुर्सदका बीचमा पनि अलिकति समय उबारेर लेख्ने काम गरिहाल्नुपर्छ। पढ्ने काम पढिहाल्नुपर्छ। सबै काम सकिएला र म फुर्सदमा हुँदा अनि पढौँला, लेखौँला भन्न थाल्यो भने यी काम गर्ने फुर्सद फर्किएर आउँदैन।
‘फुर्सद छैन’ भन्ने हाम्रो मनोविज्ञान र दैनिक जीवनको व्यस्तता एकदमै सामयिक र गहिरो छ। फुर्सद छैन भन्ने कुरा एउटा ‘भ्रम’ सिवाय अरू केही होइन। ‘फुर्सद मिलाएर भेटौँला’ भन्ने योजना बनायो। त्यो योजना कहिल्यै पूरा हुँदैन। ‘फुर्सद भएपछि केही कुरा लेख्छु, केही मनपरेका छानिएका किताबहरू पढ्छु’ भनेर भन्यो। भेट्ने, लेख्ने र पढ्ने योजना ‘फुर्सदमा गर्छु’ भनेर भन्यो! तर खासमा ती त फुर्सदका काम नहुँदा रहेछन्।
लाग्छ, फुर्सद भन्नु कसैलाई पनि छैन। सबै हतारमा, सबै व्यस्त जीवनशैलीमा! त्यसैले ‘फुर्सद छैन!’ भन्नु व्यर्थ रहेछ, फुर्सदमा काम गर्छु भन्नु पनि हुँदैन रहेछ। फुर्सदमा यो गर्छु र त्यो गर्छु भन्ने योजना बनाउनु पनि केही बेकार रहेछ।
‘फुर्सदमा गरौँला’ भन्ने वाक्यले वास्तवमा फुर्सदमा के–के न काम गर्ने हो, कस्तो चाहिँ काम पूरा हुने हो? भन्ने लाग्छ। तर होइन, मान्छेलाई फुर्सद कहिल्यै पनि हुँदैन। ‘सास रहुन्जेल आश हुन्छ’ भने जस्तै, त्यस्तै हुने रहेछ फुर्सदमा गर्छु भन्ने काम पनि। सास रहेसम्म आश रहे जस्तै सास रहेसम्म फुर्सदले हामीलाई छोड्दैन।
यी वाक्यहरूले हाम्रो समयको हृदय नै समातेर थिच्दै लैजान्छ। अब त यसैमा हामी रमाउँछौँ, त्यसैमा गर्व गर्छौँ, अनि त्यसैलाई ढाल बनाउँछौँ– लेख्न नपाउनुको, पढ्न नपाउनुको, हाँस्न नपाउनुको, यहाँसम्म कि आफैँसँगै बस्न नपाउनुको पीडा पनि!
यसरी फुर्सद छैन भन्नु आफैँमा नयाँ खालको व्यस्तताको पहिचान भइसकेको छ। यो भनाइ अब भावना होइन, शैली भइसकेको छ। अतः ‘लेख्नु त मन छ नि, तर फुर्सद छैन’ भन्नु व्यर्थको बकवास मात्रै हो भन्दा हुन्छ।
‘घर सफा गर्न त सोचिएको थियो, तर फुर्सदै छैन’ भन्नु अथवा कसैलाई फोनसम्म गर्ने समय नहुनु भनेको फुर्सदै नमिलेर हो भनिन्छ। तर खासमा फोन गर्नु पनि कामै हो। सफासुग्घर गर्नु पनि कामै हो। वास्तवमा यी सबै कुरा समस्या होइन, यी बहाना बन्न पुगेका छन्।
सुधारौँ न अब सोँच्ने तरिका– के साँच्चै फुर्सद छैन? कि हामीले आफ्ना प्राथमिकतालाई सजिलै ‘स्क्रोल’ गर्दै जीवनको सारलाई नै पछाडि पारिरहेका छौँ?
आजको दिन फुर्सद छैन भन्ने मानिस घण्टौँ मोबाइलमा औँला घुमाउँछ, टेलिभिजनका चिप्ला पर्दाहरूमा जीवनको कथा खोज्छ। तर एकछिन आफ्नै आत्मासँग गफ गर्न उसलाई समय हुँदैन, बेफुर्सदको पिँजडामा थुनिएको जत्तिकै कतै बाहिरी संसारमा फुत्त निस्किन सक्दैन।
अनि हामी भन्छौँ– लेख्नु काम हो, पढ्नु काम हो, घर सफा गर्नु झन् झमेलाको काम हो! अनि स्क्रोल गर्नु? चुपचाप टोलाउनु? गफ गर्नु? यी भने के हुन्?
के हामीले फुर्सदलाई लाज लाग्ने वस्त्र बनाइसकेका हौँ? जसलाई ओड्नै डर लाग्छ, ‘फुर्सद छ’ भनिहाल्नै डर लाग्छ– किनभने फुर्सद हुनु त आजकाल नालायक हुनुसँग जोडिएको छ।
यस्तो लाग्न थालिसकेको छ– फुर्सद हुनु भनेको फुर्सदी हुनु हो, फुर्सद हुनु भनेको उद्देश्यविहीन हुनु हो।
तर, यथार्थमा यस्तो होइन। फुर्सद हुनु भनेको आफूलाई भेट्ने मौका हुनु हो। फुर्सदले हामीलाई हाम्रो भित्रको मौनता सुनाउँछ। फुर्सदमा शब्दहरू जन्मिन्छन्। रचना फुल्छ। मुटु रोकिन्छ। आँखा रसाउँछ।
फुर्सदमा लेखिएका चिठीहरू आज पनि साँचिन्छन्। फुर्सदमा लेखिएका डायरीका पानाहरूले आज पनि जीवन सुम्सुम्याउँछन्। फुर्सदमा गरिएका कुराकानीहरूले आज पनि न्यानोपनको आभास दिइरहन्छन्।
साँच्चै भन्नुपर्दा– फुर्सद भन्ने कुरा समयको अभाव होइन, त्यो त मनको सञ्झ्याल खोल्ने आँटको अभाव हो। हामी डराउँछौँ– आफ्नै मौनता, आफ्नै असहजता, आफ्नै अधुरोपनसँग बस्न। त्यसैले व्यस्तताका चिटिक्क परेका पर्खालहरू बनाउँछौँ।
अब हामीले एकैछिन आफूलाई यसो फर्किएर हेर्ने समय निकालौँ। अब हामीले फुर्सद छैन भन्ने भ्रम र व्यस्तताको सत्यलाई तोडौँ। ‘जीवन सुन्दर छ। म मेरो जीवनलाई मायाले सुम्सुम्याउँदै माया गर्छु’ भन्नुसँगै यो भनाइलाई व्यवहारमा पनि उतारौँ।
* * *
