म जन्मिएको दिन

जन्मिएको दिन आफैंमा एउटा उल्लासको उत्सव हो। ‘ह्याप्पी बर्थ डे’ त्यत्तिकै कहाँ भनिएको हो र! यो दिन साँच्चै बेग्लै खुशीको दिन हो। हिजोआजको जन्मदिन त अझ भव्य समारोहकै स्वरूपमा मनाइने चलन हुन थालेको छ।

यसरी आफू जन्मिएको दिन म जीवनको अर्को मोडमा उभिएको छु। उमेरको घडीले फेरि एउटा वर्ष थपेको छ। तर, त्योभन्दा बढी, जन्म दिनमा मैले पाएको प्रेम, सद्भाव, आशीर्वचन र आत्मीयताको रसपानले मेरो मन भरिएको छ। भरिएर चुली चुलिन नसकेर छचल्किएको छ। म हर्षविभोर भएको छु। कृतज्ञता स्वरूप यिनै शब्दमार्फत खुसीका अनुभूति सार्वजनिक गर्दैछु।

असार १२ गते म जन्मिएको दिन। यस अवसरमा मलाई बधाई र शुभेच्छा दिने सबैप्रति सधन्यवादपूर्वक मेरो हृदयदेखिको हार्दिक कृतज्ञता व्यक्त गर्छु।

अलिकति खुशी, अलिकति दुःखी। मुस्कानको हार्दिकता, मित्रता र आत्मीयता। जिन्दगीको सुखद खुसियाली एक अञ्जुली जति! मायाको आभास दुई थोपा आँसु जति। तथापि सप्रेम सम्झना र सुमधुर सम्बन्ध अनि मित्रवत् साथ–सौगातहरू कति–कति!

जीवनको यो यात्रामा साथ, सहयोग, सम्बन्ध र सम्झनाले जन्मिएको दिनलाई अर्थमय बनायो। म ती सबै प्रियजनप्रति हृदयदेखि आभारी छु। कसैले फोनबाट आवाज पठाउनुभयो, कसैले अक्षरमार्फत मायालु सन्देश दिनुभयो, कसैले मौन रहँदै पनि आत्मीयता देखाउनुभयो। यी सबै भावनाहरूले जीवन केवल व्यक्तिगत होइन, सम्बन्धहरूको समष्टि पनि हो भन्ने कुरा फेरि सम्झाइदिए।

शुभकामना दिनु र लिनु मात्र औपचारिकता होइन, त्यो मानवीय मनको स्वाभाविक अभिव्यक्ति हो। त्यहाँ ‘तपाईको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु, तपाई मेरो हृदयमा हुनुहुन्छ’ भन्ने मौन वचन समेटिएको हुन्छ। मित्रता झन प्रगाढ हुँदै जान्छ।

त्यसैले ती दृष्टिहरू, मनका स्पन्दनहरूप्रति म गहिरो कृतज्ञता प्रकट गर्छु। शुभकामनामा केवल शब्द होइन, आत्मीयताको स्पर्श अनुभव गर्नुपर्छ। त्यो केवल परम्पराको निरन्तरता मात्र नभई प्रेरणादायी अनुभूति पनि हो।

जन्मदिनले मलाई सम्झायो – ‘म जीवित छु, म यात्रा गरिरहेछु। म तिनै सम्बन्धहरूबाट बनेको छु।’

मलाई लाग्छ, यदि केही सुन्दर छ भने त्यो जन्मदिनमा आफन्तहरूबाट फेरि–फेरि जन्मिने सौभाग्य हो। अन्ततः शुभाशीर्वाद र शुभेच्छाका शब्दले आफू पुजित हुनु हो।

म जन्मिएको असार महिना अस्तित्वको प्रारम्भ महिना हो। त्यही बेला म यो धर्तीमा अवतरित भएँ। मेरो जन्मको समय खेतीपातीको चरम व्यस्तताको समय। शायद, यही कारणले होला, मेरो जीवनमा पनि सधैं कामको चाप आइलाग्छ।

वर्षाले भिजेको जमिनको सुगन्धले मलाई सधैं मेरो जग र जरातिर डो¥याउँछ। मैले जीवनका सुख–दुःख, आरोह–अवरोहलाई असारे झरीझैं स्वीकारेको छु। कहिले मुसलधारे वर्षाझैं समस्या, कहिले रिमझिम पानीझैं सानातिना खुशीले मन भिजाउँछ।

खेतीपातीको मौसममा किसानहरूको धैर्य, लगनशीलता र आशाले मलाई सधैं प्रेरणा दिन्छ। म पनि त्यस्तै छु – सधैं केही न केही नयाँ रोप्न र त्यसको फल पाउन प्रयासरत। मेरो जन्म दिनले मलाई सम्झाउँछ – जीवन एउटा ऊर्वर भूमि हो, जहाँ जे रोपिन्छ, त्यही फल्छ।

असारको झरी, शरदको सौन्दर्य, शिशिरको चिसो, वसन्तको हरियालीसँगै बाँच्दै आएको जीवन। यी सबै पार गर्दै यहाँसम्म आइपुगेको छु।

आज फर्किएर हेर्दा लाग्छ – म हरेक वर्ष धानको गाभाझैं हलक्क हुर्किंदै, परिपक्व हुँदै गएको छु। असारको कामले मलाई थकाउँदैन, बरु हरेक क्षण सदुपयोग गर्न सघाउँछ। यही हो मेरो असारे अस्तित्वको कथा।

त्यहाँ परिश्रम, आशा र जीवनको ऊर्वरता सँगसँगै हिँड्छन्। असारे हिलोमा मैलिएर होइन, अन्न–ऐश्वर्यको मङ्सिर सपनाजस्तै मनमा बस्छन्।

अन्ततः, जन्म दिनको उज्यालोमा आफैंलाई मात्र होइन, मलाई सम्झिने सबै आत्मीयहरूलाई समेटेर कृतज्ञता व्यक्त गर्छु। उनीहरूका शुभकामनाले मेरो जीवनलाई अझ अर्थपूर्ण बनाएको छ।

वास्तवमा, जन्म दिन आफैंमा एक उत्सव हो – हरेक वर्ष पुनर्जन्मको अवसर। सबै शुभेच्छुकप्रति हार्दिक कृतज्ञता! ह्याप्पी बर्थ डे – त्यत्तिकै कहाँ भनिएको हो र!

***

फूलहरू जीवनका रङहरू

जीवनका ऊर्जा : मीठो याद र स्मृतिहरू

छलाङ मार्दै पदचापहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *