छलाङ मार्दै पदचापहरू
जिन्दगी एक निरन्तर यात्रा हो, जहाँ हरेक कदम नयाँ गन्तव्यतर्फ बढ्दै जान्छ। जब हामी जीवनको कठिनाइ र संघर्षसँग जुध्दै अगाडि बढ्छौं, तब हाम्रो मनले नयाँ आशा र साहसको खोजी गर्छ।
छलाङ मार्दै पदचापहरूले यात्रा, संघर्ष र उत्साहको भावना पोख्छन्। छलाङ एउटा साहसिक कदम हो। हामीले केही नयाँ प्राप्त गर्न, केही पुरानो छोड्न, वा आफूलाई चुनौती दिन छलाङ मार्छौं। यसले जीवनका ती क्षणहरूलाई दर्शाउँछ, जब हामी न डराएर, न पछाडि फर्केर, अपार विश्वास र ऊर्जा साथ अगाडि बढ्छौं।
छलाङ मार्ने क्रममा पदचापहरू हाम्रो प्रत्येक प्रयासको संकेत बन्ने छन्। ती पदचापहरू हामीले गरेका संघर्ष र मेहनतका गहिरा छायाँहरू हुन्। प्रत्येक कदम र हरेक आवाजले हामीलाई नयाँ अनुभव र नयाँ पाठ सिकाउँछन्। तिनीहरूले हामीलाई यो यात्रा मात्र महत्वपूर्ण गराउँदैनन्, हाम्रा भावना र सोच पनि महत्वपूर्ण बनाउँछन्।
समाजमा परिवर्तन ल्याउन प्रथमतः पाइला चाल्नुपर्छ। प्रत्येक पदचापले हामीलाई नयाँ गन्तव्यतर्फ लैजानु पर्छ। कहिलेकाहीँ ती पदचापहरू अप्रत्याशित धर्मराउँन सक्छन्। हामी साहसी र धैर्यशील हुनुपर्छ। चुनौती र कठिनाइले हामीलाई थप बलियो बनाउँछ। छलाङ मार्नुसँग यसका पछाडि धेरै अर्थहरू लुकेका हुन्छन्। यसले हामीलाई आत्मविश्वास, साहस र आफ्नो क्षमताको पहिचान दिन्छन्। यिनैलाई पाइलाले कुल्चेर अगाडि बढ्दा हामी सहजै सफलताको चुलीमा पुग्छौं।
यात्रामा भइरहेका पदचापका छलाङहरूले हाम्रो मानसिकता र जीवनको दृष्टिकोणलाई परिभाषित गर्छन्। हामीले जुन दिशा रोजेका छौं, ती पदचापहरूले हाम्रो मनको गहिराइलाई समेट्छन्। प्रत्येक छलाङले हामीलाई केही नयाँ सिकाउँदै जीवनलाई नयाँ दृष्टिकोणले महसुस गर्न प्रेरित गर्छन्। ती पदचापहरू हाम्रो संघर्ष, साहस र परिश्रमका चिह्न हुन्। दिनदिनै उज्यालो भविष्यको प्रतीक यी बन्ने छन्।
सधैं एउटै र एकनाशको जीवन हुँदैन। हामी कहिलेकाहीँ थकित पनि हुन्छौं। हर्ष र आशासँगै निराशा पनि आउँछ। प्रत्येक छलाङले हामीलाई यो समय पनि अस्थायी छ भन्ने बोध गराउँछ। हरेक कठिनाइपछि अनुकूल समय आउँछ। पदचापहरूको आवाज गड्गडाहटको रूपमा हामीलाई अघि बढ्न प्रेरित गर्न सक्छ।
अन्ततः छलाङ मार्दै पदचापहरू यौटा परिकल्पना मात्र होइन । यो हाम्रो जीवनको वास्तविकता हो। यो यात्राका प्रत्येक कदम, प्रत्येक प्रयास र प्रत्येक छलाङले हामीलाई हाम्रो लक्ष्यको नजिक पुर्याउँछ।
हाम्रा पदचापहरू यस यथार्थको प्रतीक हुन् कि हामी कुनै पनि परिस्थिति र चुनौतीलाई सामना गर्दै अघि बढ्न सक्छौं। जीवनको सार यही हो– हरेक छलाङले हामीलाई अझ दृढ र सक्षम बनाउँछ। त्यसैले हामीले कुनै न कुनै किसिमले यात्रामा निस्किनुपर्छ। पाइला–पदचापमा आफूलाई सरिक गराउँदै जीवनपथको सुखद अनुभव सँगाल्नुपर्छ।
यसरी हाम्रा पदचापहरू जीवनको अनमोल यात्राका प्रतिध्वनिहरू हुन्। यिनले हामीलाई अझ झन् धेरै छलाङ मार्न आवश्यक छ भन्ने सन्देश दिन्छन्। त्यसपछि हामीले आफ्ना धेरै सपना पूरा गर्न आवश्यक ठान्छौं। झन् धेरै कसम र प्रगति हासिल गर्न आवश्यक छ भन्ने कुराको बोधले हामी काममा प्रतिबद्ध हुन थाल्छौं।
यसैबीच पाइला चाल्दै छलाङ मार्ने पाइलाहरू पहाडको बाटोका ओरालो लागेको थियो। हिँड्न त साह्रै मन थियो। तर मनको हतारले पाइला सम्हाल्न दिएन। शरीरसँगै मन पनि उफ्रिरहेको थियो, जसरी खोल्सामा खसेको ढुंगा तलतिर छिटो–छिटो हुत्तिएर झर्छ त्यसरी नै।
यो यात्रा कुनै निश्चित गन्तव्यमा पुग्न होइन, अनुभवको एउटा तह पार गर्नु थियो। बाटोमा भेटिएका रुखहरू झ्याँगिएका थिए। त्यसबाट घामका केही किरणहरूले पदयात्रीहरूलाई चियाएर हेरिरहेका हुन्थे। चाल मारेर आएका ती मधुर किरणहरूमा यात्रीलाई यात्राको मिठास चखाउने मेलो हुन्थ्यो। किनभने जंगलभित्र छिर्दै आएका उज्यालोपनको प्रवेशले प्रकृतिको रङलाई अनौठो स्वरूपमा दृष्टिगोचर गराउँथ्यो। रङ–सौन्दर्यको पृथक परिवेशमा यात्राको सुखद पल पनि उद्घाटित हुन्थ्यो।
‘किन हतारिएको होला मन?’ यो प्रश्न पैतालाले मथ्थर बनेर सोधेझैं लाग्यो। मसँगै यात्रा गरिरहेका केही अनुहारहरू आफ्नो गन्तव्यमा पुग्न उत्साहित देखिन्थे। कसैले भन्न सक्छ– समय कम छ, धेरै टाढा जानु छ। तर समयसँगै हिँड्न छोडेर त्यसलाई उछिन्न खोज्ने प्रयास कति जायज होला?
गन्तव्य उहीँ रहन्छ, पाइला भने उफ्रिन्छन्। ठेगान नभएका ती छलाङहरू कहिले पहाड चढ्छन्। कहिले खोँचमा झर्छन्। जीवन पनि त त्यस्तै हुँदोरहेछ। कहिले स्थिर, कहिले हतार। तर जसले आफ्नो यात्रा महसुस गर्छ, उहीँले चालबुझ्न सक्छ।
घाम हल्का झुल्किन थालेको थियो। हावा शीतल र मन्द थियो। म केही साथीहरूसँग घोडेपानी पदमार्गतिर लम्कँदै थिएँ। हाम्रो यात्रा पोखराबाट सुरुभएको थियो, गन्तव्य–पुनहिल। यात्रा लामो थियो, उकालो–ओरालो पार गर्दै अघि बढ्नुपर्ने। सुरुवाती जोशमा हामी तीव्र गतिमा अघि बढ्यौं। तर केही घण्टामै थकानले देह भारी भयो।
‘हतारिएर छिटो पुग्ने होइन’, स्थानीय बुढापाकाले भने, ‘पहाडको बाटो आड भरोसामा होइन, धैर्यले नापिन्छ।’
ती शब्दहरू एकछिन नसुन्ने बहानामा हामी अघि बढ्यौं। तर जब घनाजङ्गलमा प्रवेश ग¥यौं, शरीरले नै त्यो पाठ सिकायो। सास फुल्यो, पाइला अल्झिए। हतारको कारण बाटोको सौन्दर्य मनमा बस्न सकेन।
हामी रोकियौं। पर खोलाको आवाज टाढैबाट सुनिन्थ्यो। जंगल शान्त थियो। तर चरा र किटपतङ्गहरूको गुञ्जनले वातावरण जीवित बनाइरहेको थियो। स–साना फूलहरू, चिसो बतास, घामका किरणहरू, टाढाबाट देखिने हिउँका धर्साहरू– यिनलाई महसुस गर्ने फुर्सद हामीले अहिलेसम्म लिएका थिएनौं। बल्ल लियौं। आहा कति दिव्यानन्दको आभास! प्रकृतिको काखमा एकछिन सुस्ताएर आकाशतिर आँखालाई फैलाउँदा देखिने दृश्यले मनलाई तृप्त पारिदिन्थ्यो।
अब हामीले लय फे¥यौं। हतारको दौडधूप छाड्यौं। छलाङ मार्दै ठुलै भाग मिल्ने धोको बिर्सियौं। अब हरेक पाइला सावधानीपूर्वक अघि बढ्न थाल्यौं। आँखालाई प्रकृतिसँग मिलाउँदै हिँड्यौं। जरुवापानीले प्यास बुझाउँदै र भेटिएका ऐंसेलु, काफल खाँदै लम्कियौं। मरिकुच्चे भारी बोकेर पनि हाँसिरहेका भरियाका पसिनाले मन छुन खोज्थ्यो। आफ्नै लोक सुसेलीमा रनबन गुञ्जाउँदै उकाली र ओराली गर्ने ती ज्यानले कैयौं पटक छलाङ मारिसक्यो होला।
बाटोमा भेटिएका यिनै भरियाहरू र शेर्पा, गुरुङ समुदायका बासिन्दासँग कुरा गर्न थाल्यौं। उनीहरूका संघर्ष, हाँसो अनि पहाडमा बिताएका वर्षहरूका कथाहरू सुन्दै जाँदा यात्रा नयाँ अर्थमा बदलियो।
हामीले यात्रा मात्र गरिरहेका थिएनौं, हामी जीवनलाई नयाँ दृष्टिले नियालिरहेका थियौं। सन्देश स्पष्ट थियो– यात्रा गन्तव्यमा पुग्नका लागि मात्र हुँदैन। यो अनुभूति गर्ने, सिक्ने र हरेक क्षणलाई पूर्ण रूपमा जिउने अवसर पनि थियो।
अथक हिँडाइ पश्चात् हामी हिमालकै फेदी नजिक पुग्यौं, हिमालको अग्लो चुचुरो अगाडि नतमस्तक भयौं। हावा तीव्र थियो। तर मन शान्त। त्यो क्षण हामीले महसुस ग¥यौं– यदि हामी हतारिँदा बाटाका दृश्यहरू छुटाउँथ्यौं भने, हामी गन्तव्यमा त पुग्थ्यौं, तर यात्राको आत्मा गुम्थ्यो। हामीले खोज्न र भेट्न चाहेको सौन्दर्यसँग हाम्रो भेटै नभई हामी उपलब्धि विहीन हुन सक्ने हुन्थ्यौं।
यो सत्य हो कि हतारिएर छिटो पुग्ने होइन। यात्रालाई जति महसुस गरिन्छ, त्यति नै जीवन धनी बन्छ।
अन्ततः म रोकिन्छु। पहाडको फेदीमा बसेर एकछिन सास फेर्छु। मन बुझाउँछु– यात्रा मात्र महत्वपूर्ण छ, हतारिएर छिटो पुग्ने होइन। हिँड्दै अनुभव गर्ने कुरा महत्वपूर्ण हो।
त्यसपछि म फेरि हिँड्छु, तर यसपालि हतारिँदैन पाइला। पछाडि हेर्छु–तीव्र पाइला, ती छिटो–छिटो छलाङ मार्न आतुर पदचापहरू अहिले केही मन्द गतिमा गम खाँदै छन्।
वास्तवमा हिँड्नुको भोक पुग्नुको प्राप्तिमै मात्र सकिनु हुँदैन। छलाङ मादै पदचापहरूले अनुभूतिको सुन्दर चित्र कोर्न सक्नुपर्छ। त्यही चित्रले यात्राका भव्य भावलाई विविध किसिमले व्यक्त गरिदिन्छ। त्यसैले हिँडाइको क्रममा अनुभूतिका अनेकौं अनुभूतिहरू बटुल्दै पदचापका प्रत्येक स्पन्दनहरूलाई अविस्मरणीय पार्न सक्नुपर्छ। त्यसले नै यात्राको सुखद पाटो प्रस्तुत गर्छ। हाम्रो लक्ष्यलाई सन्तुष्टिको नजिकै पुर्याउँछ।
