फूलहरू जीवनका रङहरू
‘फूलको जीवन र जीवनको फूल’ भन्नु मानवीय जीवन सन्निकट सम्बन्धको एक दर्शन हो। फूलहरू जीवनका रङहरू हुन् भन्नु यस्तो दर्शन जुन आदिम छ। यो यस्तो सम्बन्धको सिलसिला जुन अनन्त छ।
फूल र जीवनबीचको यो नाता सधैँ नयाँ हुन्छ। तर यो नाता–सम्बन्ध धेरै पुरानो हो। फूलले जीवनसँग मित्रताको साइनो गाँस्छ। जीवनले फूलसँग सौन्दर्यको पैँचो माग्छ। फूलको नियमित परिवर्तन र स्वाभाविक रङ–सौन्दर्यको आकर्षणमा जीवन नजिकिन्छ। यही निःस्वार्थ नजिक्याइ नै वस्तुतः फूल र जीवनको गहिरो सम्बन्धको प्रस्थान विन्दु हो।
प्रकृतिले जब आफ्नो रूप–लावण्यसहित अनेकौं सुन्दरताका उपस्थितिमा वसन्त निम्त्याउँछ। जब शरदको उज्यालो मौसममा फूलहरूको मगमग बासना र जताततै ढकमक्क फूलहरूको लताकुञ्ज मुस्काउन थाल्छ। त्यसपछि मान्छेको जीवनमा पनि फूलको जीवन चलमलाउन थाल्छ। त्यहाँ दुःखसँग पौठेजोरी खेलेको पीडा भुलिन्छ। त्यहाँ काँडाले घोचेर रगताम्मे पारेको चोट निको हुन्छ। किनभने फूलहरू जीवनका रङ बनेर त्यहाँ प्रकट भइरहेका हुन्छन्।
जीवनको फूल फुलेर परिवर्तित समयको सङ्घारमा फूलको जस्तै जीवन बोकेर जीवनले आफूलाई अरू समक्ष सप्रेम पेश गर्छ। त्यतिबेला त्यहाँ खुशीका मुर्छनाहरू निर्बन्ध आउँछन्। दुःखका अपठ्याराहरू अनायासै कतै भाग्छन्। कुनै दिन काँडाले कलिलो मन दुखाएको पनि सबै बिर्साउँछ। बरु रगतमा मधुर सङ्गीत बग्छ। आनन्दको सुमधुर उत्सव प्रारम्भ हुन्छ।
बागबगैँचामा रङहरूको उत्सव चल्छ। प्राकृतिक सौन्दर्यको तामझामले दुःख बिर्साएर खुशियालीको क्षण ल्याइदिन्छ। यतिबेला हावाले पनि फूलको सुगन्ध बोकेर मनमस्तिष्कलाई सुम्सुम्याउँछ। कलिलो काया–कलेवरमा आफूलाई प्रस्तुत गर्दै जीवनले फूलको जस्तै जीवनको अपेक्षा राख्छ। त्यसैले ‘फूलको जीवन र जीवनको फूल’ भन्नु जीवन र फूलको तुलनात्मक अध्याय हो। यहीँबाट आरम्भ हुन्छ प्रकृति र जीवनबीचको सम्बन्धका सिलसिलाहरू।
लाग्छ, फूलहरू भन्नु फूलहरू मात्रै होइनन् । फूलहरू जीवन हुन्। प्रेरणा र प्रभावका साक्षात् स्वरूप हुन् । अनेक किसिमले मान्छेका आँखाहरूमा सौन्दर्यको आकर्षण पैदा गर्ने मनमोहनी रूप हुन्। फूलहरू सामान्य विरुवा, बनस्पति वा झारपातहरू पनि होइनन्। यी जीवनदायीनी शक्ति जडीबुटी पनि हुन्।
वास्तवमा फूलहरू जीवनका उल्लासमय रङहरू हुन्। जीवनका सौन्दर्यमय विम्बका प्रतिनिधि पनि हुन्।
फूलहरू भावना हुन्। अनुभूतिका आलेखन हुन्। फूलहरू जीवनका विम्ब हुन्। फूलहरू मायाका प्रतिविम्ब हुन्। कनिकुथी होइन प्रकृतिले स्वतः रचेका कविताहरू हुन्। संगीतका स्वरहरू हुन्। चित्रकारका क्यानभासमा सिर्जित जीवनका खुशीहरू हुन्। प्रकृतिका रङहरू हुन्। सिर्जनाका अनुपम रङहरूका मिठासपूर्ण मिलन हुन्।
फूलहरू फुल्नु फूलको कर्तव्य हो। मीठो बासनाले भरिभराउ पारिजात कुनै रातको सन्नाटामा, कुनै दुर्गन्धको व्याप्तिमा, अन्धकारको शून्यतामा हरहर सुमधुर वासना बाँड्दै वातावरणभरि फैलिएको हुन्छ। अँध्यारोमा पनि आफ्नो सुगन्ध छरिदिन्छ। एक्लै एकान्तमा पनि सुन्दर रूप देखाइरहेकै हुन्छ। त्यसैले त ‘फूलको जीवन र जीवनको फूल’ भन्नु मानवीय सम्बन्धको परिचायक पनि हो।
यही कारण फूलसँगै प्रेमका अग्नि–शिखाहरू प्रज्वलित हुन्छन्। फूलले जीवनको क्षणभङ्गुरता सम्झाइदिन्छ। फुल्नु, ओइलिनु, भुईमा झर्नु र फूलको अस्तित्व सक्किनुले फूलको जीवन–दर्शनको चक्र देखाउँछ। फूल अजम्बरी होइन, हुँदैन। फूल फुल्नु र फुलिसकेपछि फेरि केही दिनभित्र समाप्त हुन्छ । यो नियमित क्रम हो। मान्छेको जीवन जस्तै। मान्छेको जीवन भोगाइसँग मेल खाँदै फूलले जीवनबोधको अतित्व स्वीकार गरेको हुन्छ।
फूलहरू मौन भएर पनि यति धेरै बोल्छन् कि ती शब्दभन्दा गहिरा लाग्छन्। फूलहरू स्वतः निर्मित रङका ठम्याइ नसक्नु आकाशहरूमा यस्ता लाग्छन् कि फूलहरूमा जति रङको बिस्कुन अन्त कहीँ लाग्दैन। रङहरूको मनमोहक छटाले भरिभराउ फूलको जीवन सौन्दर्यको द्योतक हो।
बुझ्न खोजेर बुझ्नै सकिँदैन फूलको सौन्दर्य र सौन्दर्यको रहस्य। मान्छेको जीवन पनि यस्तै हो। कोही कसैलाई चिनेर पनि चिन्न जानिदैन। भेटेर पनि भेट्न पाइँदैन। पुगेर पनि पुग्न नसकिएको यात्रा जस्तै हुन्छ। रहस्य बाँकी नै रहन्छ। हेर्नुपर्ने कुरा हेर्न सकिएकै हुँदैन।
सोंचौं न सौन्दर्यलाई बुझ्न फूलभन्दा सुन्दर प्रतीक के हुन सक्छ अरू? रङहरूको अध्ययन गर्न फूलहरूभन्दा अर्को के हुन सक्छ?
फूलमा सौन्दर्य र सौन्दर्यको जीवन–दर्शन हुन्छ। कुनै फूलको रङले उत्साह दिन्छ, कुनै फूलको मन्द बासनाले शान्ति दिन्छ। कुनै फूल ओइलिनु जीवनको नश्वर पक्ष सम्झाइदिन्छ। काँडासँग हुर्केर, मौरी र भँवरासँग यौवन लुटाएर, घामपानीसँग आफूलाई जोगाएर फूलले जीवनको संघर्ष दर्शाउँछ। जीवनको खास पाठ र पाठशालामा पु¥याउँछ।
अतः सौन्दर्यको मिठास हो फूल। फूलहरू प्रेमका प्रतीक हुन्। फूलहरू आस्था, विश्वास र श्रद्धाका प्रतीक हुन् । भगवानका लागि फूलहरू मान्छेले चढाउने अगाध आस्थाका आराधना हुन् । फूल नभए भगवान पनि बेखुशी हुन्छन्। फूल भएर भगवानदेखि भक्तसम्म खुशी छन्।
प्रियसीलाई एउटा रातो गुलाफ दिनु प्रेमको मौन भाषा हो। अथाह मायाको प्रतीक हो। फूलले ‘म तिमीलाई प्रेम गर्छु’ भन्दैन, तर भन्छ। फूलले ‘तिमी मेरो जीवनमा सूर्यझैं चम्किन्छौ’ भनेर खुलस्त बोल्दैन, तर फूलले भनिरहेको हुन्छ।
कविहरू फूललाई गीतिभाषामा बाँध्न खोज्छन्। प्रेमको परागमा मिसाउन चाहन्छन्। कति भावुक भावना पोख्छन्। कति मार्मिक शब्द खेलाउँछन्। तर फूलहरू त मौन रहन चाहन्छन्। शब्दहरूमा अनुवादित अनुभूति, धर्तीमा झरेका यी सौन्दर्यका अंशहरू, हाम्रो अनुभूतिहरूलाई शब्दबद्ध गरिरहन्छन्।
फूललाई नियाल्छौं, हामी कविता पढ्छौं। फूललाई सुँघ्छौं, हामी संगीत सुन्छौं । फूललाई समाउँछौं, हामी जीवनलाई छुन खोज्छौं। कति प्रेमिल अनुभूतिका स्पन्दित पलहरू फूलका!
त्यसैले फूलहरू हामीलाई प्रेम र सौन्दर्य मात्र होइन, जीवनको रहस्य पनि सिकाउँछन्। फूल फक्रिन्छ फुल्छ, समय पुगेपछि ओइलिएर झर्छ। फेरि बिस्तारै विरुवामा कोपिला बस्छ, पुनर्जन्म लिएर फूल फुल्छ। जीवन पनि यस्तै त हो– जन्म, प्रेम, सौन्दर्य, वियोग अनि पुनर्जन्म।
फूलहरूको भाषा शब्दविहीन हुन्छ। यद्यपि तिनीहरू मान्छेका हृदयसम्म पुग्ने भावनाका सम्प्रेषक हुन्। कुनै फूलले प्रेमको रस चखाउँछ । कुनैले वियोगको आँसु खसाल्छ। हरेक फूलले अनेकौं अनौठा रहरूहरूको मिश्रणमा रहस्य खोलेर स्वप्निल सौन्दर्यको अनुभूति गराउँछ।
फूलहरू जीवनका रहस्य बुझाउने शिक्षक पनि हुन्। वसन्तमा हाँस्ने, वर्षामा नाच्ने, हिउँदमा ओइलाउने र फेरि नयाँ ढंगले फक्रने फूलहरू जीवनको अनित्यताको कथा सुनाउँछन्। तिनीहरू भन्छन्– ‘तिमी पनि जीवनको प्रत्येक ऋतुलाई स्वीकार गर, रूपान्तरणलाई अँगाल र आफ्नो सुगन्ध अरूलाई बाँड। आफ्नो खुशी साझा गर। आफ्नो सौन्दर्य लुकाउने होइन प्रदर्शन गर।’
फूलहरूको यो मूक काव्य हाम्रा हृदयमा सधैंभरि जीवित रहन्छ। तिनीहरू कुनै कागजमा लेखिएका कविता होइनन्, तिनीहरू हावासँग बगेर, सूर्यसँग चम्केर, जूनसँग शीतल तापेर, ओसिला माटोसँग सिञ्चित भएर बाँच्ने कविता हुन्।
यही कारण हो– हामी फूलतिर हेर्छौं, हाम्रो मन पनि फक्रिन्छ। हामी तिनको सुगन्ध महसुस गर्छौं, हाम्रो आत्मा पनि सुगन्धित हुन्छ। हामी तिनलाई प्रेम गर्छौं, हामी आफैं प्रेममय बन्न पुग्छौं।
फूलहरू कला हुन्। हामी तिनका कलाप्रेमी दर्शक। फूलहरू कविता हुन्। हामी तिनका काव्यप्रेमी पाठक! फूलहरू प्रवचन हुन्। फूलहरू नाट्य मञ्चन हुन्। हामी तिनका स्रोता–दर्शक।
अन्ततः वसन्तका यी फूलहरू, यी काव्यहरू, यी कलाहरू, यी प्रेमहरू, यी रङ्गीन सौन्दर्यका छटाहरू यी केवल बाहिरी दृश्य होइनन्, यी हाम्रै आत्माका अंशहरू हुन्। फूलको भाषा बुझ्नेलाई जीवनको भाषा बुझ्न गाह्रो पर्दैन। फूलहरू फुल्नुसँगै तिनीहरू बोल्छन्। जीवनको चित्र कोर्छन्। एक निश्चल फूलझैं जीवन बाँच्न, मित्रताको हार्दिक सुगन्ध छर्छन् । पवित्र र निःस्वार्थ प्रेम बाँड्छन्। अनि सौन्दर्यको भाषा बोल्छन्, बोल्न प्रेरित गर्छन्।
यही हो, ‘फूलको जीवन र जीवनको फूल’ को अर्थ–अभिप्राय! त्यसैले फूलहरू जीवनका रङहरू हुन्। जीवनका रङहरू फूल हुन्।
