आँखाले चश्मा मागेपछि
आँखाले चश्मा मागेपछि दृश्यहरू स्वतः झन् स्पष्ट देखिँदोरहेछ । आँखाको धमिलोपन दूर भाग्दोरहेछ । चश्माले आँखा खोजेपछि आँखा पनि तरुनो बन्दोरहेछ । स्पष्ट देख्न नपाएका कतिपय कुरा देख्न पाउँदा दङ्ग पर्दै मसक्क मस्किँदोरहेछ । आँखाले चश्मा पाएपछि अनुहारले पनि रूप फेर्दोरहेछ । देख्ने पनि अर्कै देख्ने रहेछ । आँखाले देख्न पाएपछि के के मात्र देख्ने हो देखेर देख्दादेख्दै आँखासमेत दुख्ने पनि रहेछ ।
आँखाले चश्मा खोजेर आँखामा चश्माको राज भएपछि अनुहारमा चश्मा सुहाउँने नै भयो । आँखामा चश्मा लगाउनुपर्ने भएपछि आँखाले नयाँ दृष्टि पाउने भएपछि संसारै रङ्गीन देखिने नै भयो । हुन त चश्मा केही होइन र पनि केही हो रहेछ । आखिर आँखाकै लागि हो चश्मा । चश्मा आँखाकै निम्ति हो ।
आँखाको ज्योतिको लागि आँखाले राम्ररी नियाल्नका लागि आँखा भएन भने केही हुँदैन । आँखा भएरै रङ खुट्याउन सकिन्छ । राम्रोलाई चिन्न र नराम्रोलाई ‘नराम्रो’ भन्न सकिन्छ । यदि हेर्ने आँखै भएन भने आँखा भएर पनि यदि आँखाले स्पष्ट देख्न सकेन भने !? कहाँ चिन्न सकिन्छ र पराइ र आफन्त मान्छे पनि । फूलको रङ र इन्द्रेणीको सौन्दर्यमा रमाउन पनि आँखाले देख्न नसकेपछि सकिँदैन रहेछ ।
आँखामा चश्मा भएकैले आरामले पढ्न सकिने रहेछ । फुर्सदमा लेख्न पाइने रहेछ । अन्यथा किताब कसरी पढ्नु ? साना र मसिना किरिङ्गमिरिङ अक्षरहरू भएर आँखालाई नै बिझाउने रहेछ । जब आँखामा चश्मा पर्छ तब किताबका अक्षरहरू आँखामा स्पर्श गर्न आउँछन् । किताबका भावहरू, किताबका शब्द र अर्थहरूले मनसम्म छुन पुग्छन् ।
किताबका अनुभूति र अभिव्यक्तिका यी स्पर्शहरूले किताब पढ्नुको आनन्द बल्ल महसुस हुन्छ । किताब भनेको ज्ञानको सागर हो । किताब भनेको यात्राको उचाइ पनि हो; जहाँ पुगेपछि विश्राममा सारा थकाई फुलिन्छ । आँखाले चश्मा मागेरपछि र माग पूरा भएपछि आँखाको ‘चोर चक्षु चञ्चल’ हुन थाल्ने रहेछ ।
चश्माले अक्षर चिनाउँदो रहेछ । दृश्यलाई स्पष्ट पार्दोरहेछ । के थाहा चश्माको यति सारो महत्व ? चश्माको यति ठूलो आवश्यकता ? हेर्नलाई मरिहत्ते गर्ने यी दुई आँखाहरूले स्पष्ट देख्नलाई चश्मा पाएपछि आँखामा कहिलेकाहीँ मात पनि चढ्ने रहेछ । देख्नुपर्ने कुरा देख्नु त ठिकै हो । कहिलेकाहीँ देख्नु ‘नपर्ने’ र देख्नु ‘नुहुने’ कुरा पनि देख्नुपर्ने अवस्था आउँदोरहेछ ।
जे होस्, सृष्टिको अनुपम वरदान हुन् यी आँखाहरू । मानिसको शरीरमा रहेका इन्द्रीयहरूमध्ये आँखा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यी दुई आँखाले नै संसारका रङ्गीन दृश्यहरूलाई हाम्रा मस्तिष्कमा कैद गर्छन् । आँखा नभए संसारमा के हेर्नु, के देख्नु, राम्रो र नराम्रो छुट्याउँन पनि सकिँदैन । चश्माको पनि कुनै काम हुँदैन ।
वास्तवमा यी आँखाहरू छन् र हामीले सुन्दरताको पहिचान गर्न पाएका छौँ । तर, यी आँखाहरू देख्ने माध्यम मात्र होइनन्, यिनले भावना व्यक्त गर्छन्, प्रेम दर्शाउँछन्, पीडा लुकाउँछन् । तिनले आशाका किरणहरू पनि बोकेका हुन्छन् । जब कुनै कलाकारले क्यानभासमा रङ पोत्छ, त्यो उसका आँखाले देखेको र हृदयले महसुस गरेको सुन्दरताको प्रतिविम्ब हुन्छ । जब एउटा बालकले आफ्नी आमालाई हेर्छ, ती आँखामा देखिने निश्छल, निर्मल, निःस्वार्थ प्रेमको व्याख्या गर्न सकिँदैन ।
आँखाको हेराइमा हामी जे देख्छौँ, त्यसलाई हाम्रो व्यक्तिगत अनुभव, भावना र दृष्टिकोणले रङ्ग्याउँछ । उदाहरणका लागि, एउटै सूर्यास्तलाई दुई फरक व्यक्तिले हेर्दा फरक–फरक अनुभूति गर्न सक्छन् । एकजनालाई त्यसले शान्ति र आनन्द दिन सक्छ भने अर्कोलाई विगतका सम्झनाहरूले भावुक बनाउन सक्छ । आँखाले मनलाई पहिचान गर्न सक्छ । त्यसका पछाडिका मानवीय संवेदना र अर्थलाई बुझ्न सक्छ ।
आँखाको मर्मलाई बुझ्न हामीले त्यसको भित्री संसारमा डुबुल्की लगाउनुपर्छ । आँखाको माध्यमबाट हामी प्रकृतिसँग जोडिन्छौँ । कलाको सौन्दर्यमा रमाउँछौँ । मानवीय सम्बन्धहरूको गहिराइ महसुस गर्छौँ । आँखाले शब्दविहीन संवाद गर्छ । कहिलेकाहीँ त आँखाले हजारौँ शब्दभन्दा बढी बोल्छ । कसैको आँखामा हेरेर हामी उसको मनको भावना बुझ्न सक्छौँ, उसको खुसी वा दुःख पत्ता लगाउन सक्छौँ ।
कुनै मानिसको आँखामा झल्किने मानवीय करुणा, सहानुभूति वा प्रेमको गहिराइलाई नाप्न सकिँदैन । यी हेर्नलाई मरिहत्ते गर्ने आँखाहरू प्रकाशको संवेदक मात्र होइनन् । यिनले हाम्रो आत्मिक यात्रालाई डो¥याउँछन्, संसारलाई बुझ्न मद्दत गर्छन् र हामीलाई मानवीयताको पाठ सिकाउँछन् । आँखाले देखेका कुराहरूलाई हामीले कसरी अनुभव गर्छौँ, कसरी आत्मसात् गर्छौँ, त्यो नै हाम्रो मानव हुनुको विशिष्टता हो ।
अन्ततः हेर्नलाई दुई आँखाहरू ! यी दुई आँखाहरू, जो मलाई संसार देखाउने माध्यम हुन्, यिनमा कति रहस्य लुकेको होला ! कहिलेकाहीँ लाग्छ, यिनले देख्ने कुरा बाहिरी आवरण मात्र होइनन्, बरु ती भित्र लुकेका अनगन्ती कथाहरू, भावनाहरू र जीवनका अदृश्य स्पन्दनहरू पनि हुन् । आँखाले देख्ने हरेक चीजमा एउटा पवित्रता छ जसलाई म मर्यादाले हेर्नुपर्छ ? या हरेक दृष्टिमा एउटा जिम्मेवारी छ जसलाई मैले आत्मसात गर्नुपर्छ ?
यी आँखाहरूले जब बिहानको पहिलो किरण देख्छन्, तब तिनमा नयाँ आशाको दियो बलिरहेको हुन्छ । जब कसैको अनुहारमा उदासी देख्छन्, तब तिनमा सहानुभूति र करुणाको वर्षा हुन्छ । प्रकृतिको विशालता, हिमालको सौन्दर्य, नदीको अविरल प्रवाह वा एउटा सानो फूलको कोमलता– यी सबैलाई यिनले आत्मसात गर्छन् । हरेक दृश्य, हरेक रङ, हरेक आकारले मभित्र एउटा नयाँ अनुभूति जन्माउँछ । यी आँखाहरूले देख्दैनन्, यिनले महसुस गर्छन्, यिनले सिक्छन् र यिनले प्रेम गर्छन् ।
तर, यिनै आँखाहरू कहिलेकाहीँ भ्रममा पर्छन् । बाहिर जे देखिन्छ, भित्र त्यो नहुन सक्छ । मान्छेको छली मुस्कान वा प्रकृतिको भयानक रूप– यिनले कहिलेकाहीँ सत्यको पर्दा उघार्न सक्दैनन् । त्यस्तो बेला लाग्छ, यिनलाई मर्यादाले हेर्नुपर्ने रहेछ । मर्यादा किनकि हरेक चीजको आफ्नै महत्व हुन्छ ।
हरेक व्यक्तिको आफ्नै कथा हुन्छ, र हरेक परिस्थितिको आफ्नै अर्थ हुन्छ । हतारमा, सतही रूपमा गरिने दृष्टिले कहिल्यै गहिरो सत्यलाई भेट्टाउन सक्दैन । त्यसैले, आँखाको यो शक्तिलाई बुझेर यसको उचित प्रयोग गर्नु नै मेरो लागि ‘मर्यादा’ हो ।
यी आँखाहरूले मेरा सपनाहरू देख्छन्, मेरा इच्छा–आकांक्षाका चित्रहरू कोर्छन् । यिनले अतीतका मीठा सम्झनाहरूलाई पुनः जीवित गर्छन् र भविष्यका कल्पनाहरूलाई आकार दिन्छन् । कहिलेकाहीँ यिनमा आँसु भरिन्छ । परेला भिज्छ । ती आँसु बग्दै मुखसम्म पुग्छन् । तिनको नुनिलो स्वादले मनमा बेचैनीको भाव महसुस गराउँछ ।
खुसीका, दुःखका, या कुनै अव्यक्त पीडाका । ती आँसुहरू केवल पानीका थोपा मात्र होइनन्, बरु ती मेरा भावनाहरूको गहिराइका प्रमाण हुन् । यिनै आँसुले कहिलेकाहीँ दृश्यलाई धमिल्याए पनि, तिनले मनको भित्र लुकेको सत्यलाई अझ प्रगाढ बनाउँछन् ।
यी दुई आँखाहरू मेरा लागि हेर्ने साधन मात्र होइनन् । यिनले मलाई जीवनको पाठ सिकाउँछन्, सम्बन्धको महत्व बुझाउँछन् । र, मानवताको अर्थ परिभाषित गर्छन् । यिनले देख्ने हरेक क्षण एउटा अनमोल उपहार हो जसलाई मैले मर्यादाले, कृतज्ञताका साथ र पूर्ण हृदयले अँगाल्नुपर्छ । आखिर, यो संसारलाई हेर्ने र बुझ्ने मेरो आफ्नै ‘मर्यादित’ तरिका नै मेरो जीवनको सुन्दरता हो ।
अझ यतिबेला किताब पढ्नका लागि मलाई मेरो आँखाले चश्मा माग्यो । लेख्नका लागि मेरो आँखाले मसँग चश्मा माग्यो । मैले आँखाको माग जब पूरा गरिदिएँ । म हातमा किताब लिएर पढ्न बसेँ । किताबका अक्षरहरूले स्पष्ट आकारमा मलाई बुझ्न मद्दत गरे । लेख्न बस्दा आँखाको चश्माले झन् स्पष्ट दृष्टि दिए । म हर्षविभोर भएरँ । आँखाले मागेको माग पूरा गरी आफूले पाएको सुविधाले गदगद भएँ । आँखाले चश्मा मागेपछि मेरो जीवनशैलीले पनि कोल्टे फेरेको महसुस भयो ।
* * *
