किन स्थगित भयो शिक्षक महासंघको बैठक ?
फाइल तस्बिर
काठमाडौं। विद्यालय शिक्षा विधेयक पारित गर्न अलमल भइरहेका बेला नेपाल शिक्षक महासंघले आज बिहीबार आयोजना गर्ने भनिएको बैठक स्थगित भएको छ। यसअघि महासंघले सूचना जारी गर्दै जुम बैठक गर्ने जनाएको थियो।
विशेष कारणवश भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाएका छन्।
अघिल्लो सूचनामा राष्ट्रिय पदाधिकारीसहितको बैठक बस्ने जनाइएको थियो। ‘समसाायिक विषय’ मा छलफल गरिने भनिएको बैठकमा महासंघमा आबद्ध संस्थाहरूका अध्यक्ष तथा महासचिवहरूको सहभागिता हुने महासंघले जनाएको थियो।
विधेयक टुंग्याउन सरकारको आलटालपछि नेपाल शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। यो सन्दर्भमा आवद्ध संघ, संस्थाबीच अनौपचारिक छलफल पनि थालिएको छ।
महासंघले आन्तरिक छलफल गरी यथाशीघ्र चाँडै र पहिले गरिएको सहमतिअनुसार विधेयक जारी गर्न माग गरिसकेको छ। त्यसो नभए फेरि आन्दोलन गर्ने र त्यो पहिलेभन्दा कडा हुने चेतावनी महासंघको छ।
विधेयक पारित गर्नुपर्ने मुख्य मागसहित आन्दोलन गरेका शिक्षक–कर्मचारीसँग वार्ता गरी सरकारले असार १५ गतेभित्रै पारित गर्ने प्रतिबद्धता जनाएको थियो।
कतिपय विषयमा सहमति जुट्न नसक्दा उक्त म्याद गुज्रिसकेको छ। संसदीय उपसमितिले विधेयकमाथि छलफल गरी समितिसमक्ष प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पटकपटक विधेयकमाथि छलफल भइसकेको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकलाई लगभग अन्तिम रुप दिइसकिएको छ।
समितिले पारित गर्ने तयारी गरिरहेका बेला सरकारले केही समय माग गरेकाले विधेयक समितिमै अड्किएको छ । संसदमा प्रवेश हुन पाएको छैन। सभापति थापाले विधेयक समितिका कारण रोकिएको नभइ शिक्षा मन्त्री रघुजी पन्तले थप छलफल गर्नुपर्ने भन्दै समय माग गरेपछि अलमल भएको बताउँदै आएका छन्।
* * *
विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी
राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र
शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ
शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर
शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’
बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’
