शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर
फाइल तस्बिर
काठमाडौं। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा शीर्ष तहमा सहमति नजुटेकोले अब मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्दैछ।
विद्यालय शिक्षा विधेयकका अधिकांश विषयमा समितिले टुंगो लगाए पनि, शिक्षामन्त्री रघुजी पन्तले सरकारलाई थप समय चाहिएको भन्दै पारित गर्न ढिलाइ गरिरहेका छन्। नेपाली कांग्रेसले पनि यसमा सरकारलाई साथ दिएको छ। विशेषगरी, शिक्षकको बढुवा र अस्थायी शिक्षकको स्थायित्वसम्बन्धी प्रावधानमा सहमति हुन सकेको छैन।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, स्वार्थ समूह र शिक्षकलाई बोक्नेहरूले विधेयक अड्काउन भूमिका खेलेका छन्। यसै कारणले, समितिले अब मिडिया काउन्सिल विधेयकमा छलफल अगाडि बढाउन लागेको हो।
मन्त्री पन्तले थप समय मागेपछि समितिले पाँच दिनको समय दिएको थियो। गत असार २२ गते समिति सभापति थापाले यो समय दिए पनि हालसम्म मन्त्री समितिमा शिक्षा विधेयकमाथि छलफल गरी अन्तिम रुप दिन पक्षमा देखिएका छैनन्।
विधेयक पारित गर्न ढिलाइ भएको साथै त्यसमा सहमतिअनुसारका बुँदा नसमेट्न चलखेल भइरहेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाउँदै आएको छ। सहमति अनुसार चाँडोभन्दा चाँडो विधेयक पारित नगर्ने पहिलेभन्दा कडा खालको आन्दोलन गर्ने चेतावनी महासंघले दिइसकेको छ।
समितिले छलफल थालेको मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको हो र यसको उद्देश्य स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि मिडिया काउन्सिलको स्थापना गर्नु हो। यसले प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गरी समसामयिक पत्रकारितालाई नियमन गर्ने लक्ष्य राखेको छ।
शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’
बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’
