मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

काठमाडौ। विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन संसदीय समितिअन्तर्गत परामर्श समितिको बैठक आज बिहीबार बस्ने भएको छ। यो समितिको बैठक बसेर छलफल गरिने भए पनि मूल समितिको बैठक बस्ने भन्ने टुंगो लागेको छैन।

विधेयक पारित गर्ने कार्यमा सरकारको असहयोग र आलटालका कारण संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल रोकिएको छ। समितिका सभापति अम्मबरबहादुर थापाका अनुसार परामर्श समितिको बैठकले समितिको पूर्ण बैठक कहिले बस्ने भन्ने तय गर्नेछ।

समितिले विधेयकका बाँकी विषय टुंग्याउन दिएको पाँच दिनको समय लम्बिएर १० दिन भइसक्दा पनि शिक्षामन्त्री रघुजी पन्त तयार भएका छैनन्।

समितिले जेठ ४ गते नै विधेयक पारित गरेर संसदमा पठाउने तयारी गरेको थियो। तर सरकार पटक–पटक समय माग्दै विधेयक पारित गर्न अनिच्छुक देखिएको छ। असार २२ गते समितिमा छलफल चलिरहँदा बढुवासम्बन्धी प्रावधानमा थप संवाद आवश्यक भन्दै शिक्षामन्त्रीले विधेयक पारित हुन नदिने अडान लिएका थिए।

शिक्षामन्त्रीको अनुपस्थितिका कारण समितिका सभापति थापाले पाँच दिनको समय दिएर बैठक स्थगित गरेका थिए। तर सो समयावधि सकिएको १० दिनसम्म पनि मन्त्री बैठकमा नआएपछि थापाले आपत्ति जनाएका छन्।

‘पाँच दिनको समय दिएको हो, तर १० दिन हुँदा पनि बैठक राख्न तयार हुनुभएको छैन। यो मन्त्रीको नैतिकताको पनि विषय हो,’ सभापति थापाले भने। मन्त्री पन्तले असार ३२ गतेसम्म बैठकमा उपस्थित हुन नसक्ने जानकारी पठाए पनि नयाँ मिति तोकिएको छैन।

शिक्षक बढुवामा ‘अंक नतोक्ने’ माग गर्दै आएको शिक्षक महासंघको दबाबपछि मन्त्री पन्तले विधेयक पारित गराउने तयारीबाट पछाडि हटेका थिए। छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले तृतीय श्रेणीको १० वर्ष र दोस्रो श्रेणीको १२ वर्षमा आवधिक बढुवा हुने प्रस्ताव गरेको थियो। पाँच वर्षमा औसत ९० अंक ल्याउनु पर्ने व्यवस्था पनि त्यसमा समावेश गरिएको थियो।

असार सकियो, अझै टुंगिएन शिक्षा विधेयक

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

विधेयक रोकिएपछि आन्दोलनको तयारीमा शिक्षक महासंघ

राहत शिक्षक आन्दोलित, शिक्षा विधेयकलाई ‘कालो विधेयक’ को संज्ञा

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *