शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ
फाइल तस्बिर
काठमाडौं। विद्यालय शिक्षा विधेयक टुंग्याउन सरकारको आलटालपछि नेपाल शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। यो सन्दर्भमा आवद्ध संघ, संस्थाबीच छलफल थालिएको छ।
महासंघले आन्तरिक छलफल गरी यथाशीघ्र चाँडै र पहिले गरिएको सहमतिअनुसार विधेयक जारी गर्न माग गरिसकेको छ। त्यसो नभए फेरि आन्दोलन गर्ने र त्यो पहिलेभन्दा कडा हुने चेतावनी महासंघको छ।
विधेयक पारित गर्न भइरहेको ढिलाइ, सरकारी आलटाल लगायतका विषयमा महासंघले साउन ८ गते राष्ट्रिय पदाधिकारीसहितको बैठक गर्दैछ ।
‘समसाायिक विषय’ मा छलफल गरिने भनिएको बैठकमा महासंघमा आबद्ध संस्थाहरूका अध्यक्ष तथा महासचिवहरूको सहभागिता हुने भएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार साउन ८ गने बिहान ११ बजेदेखि ‘जुम’ माध्यमबाट बैठक गरिने भएको हो। महासंघले सूचना प्रकाशित गर्दै उक्त बैठकमा सहभागिताका लागि आह्वान गरेको छ।
विधेयक पारित गर्नुपर्ने मुख्य मागसहित आन्दोलन गरेका शिक्षक–कर्मचारीसँग वार्ता गरी सरकारले असार १५ गतेभित्रै पारित गर्ने प्रतिबद्धता जनाएको थियो।
कतिपय विषयमा सहमति जुट्न नसक्दा उक्त म्याद गुज्रिसकेको छ। संसदीय उपसमितिले विधेयकमाथि छलफल गरी समितिसमक्ष प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पटकपटक विधेयकमाथि छलफल भइसकेको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकलाई लगभग अन्तिम रुप दिइसकिएको छ।
समितिले पारित गर्ने तयारी गरिरहेका बेला सरकारले केही समय माग गरेकाले विधेयक समितिमै अड्किएको छ । संसदमा प्रवेश हुन पाएको छैन। सभापति थापाले विधेयक समितिका कारण रोकिएको नभइ शिक्षा मन्त्री रघुजी पन्तले थप छलफल गर्नुपर्ने भन्दै समय माग गरेपछि अलमल भएको बताउँदै आएका छन्।
* * *
शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर
शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’
बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’
