पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध किन खनिए शिक्षक ?
विराटनगर । पूर्व शिक्षामन्त्री, सांसद एवं संसदीय समिति सदस्य सुमना श्रेष्ठले दिएको एउटा अभिव्यक्तिपछि देशभरका शिक्षक–कर्मचारी चिढिएका छन् । सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता गरे पनि त्यसको पालना नभएकामा शिक्षक-कर्मचारी असन्तुष्ट छन् ।
उक्त विधेयकलाई अन्तिम रुप दिन प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धेरैपटक छलफल भइसकेको छ । समितिले विधेयकलाई टुंग्याएर पारित गर्दै संसदमा पेस गर्ने तयारी गरेको थियो ।
अन्तिम समयमा आएर विधेयक समितिमै अड्किन पुगेको छ । केही विषयमा सहमति हुन नसक्दा विधेयक अघि बढ्न नसकेको हो । खासगरी अस्थायी प्रकृतिका शिक्षक, मूल्यांकन प्रक्रियाजस्ता विषयमा कुरा मिल्न सकेको छैन ।
यही सेरोफेरोमा केही दिनअघि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले भनेकी थिइन्, ‘निजामती सरहको सेवा–सुविधा शिक्षकले माग्ने हो भने निजामती सरहको काम पनि गर्नुपर्यो होला नि होइन ? निजामती हरेक दिन चौबिसै घण्टा नेपाल सरकारको हुन्छ । शिक्षक हुँदैन ।’
शिक्षकहरूको मागप्रति अलि अनुदार देखिंदै आएकी उनको यो अभिव्यक्तिपछि शिक्षक-कर्मचारी वृत्त आक्रोसित बनेको छ । उनीहरूले विभिन्न माध्यमबाट आफ्नो असन्तुष्टि र आक्रोका साथै गुनासो व्यक्त गरिरहेका छन् ।
नेपाल शिक्षक संघका तत्कालीन प्रदेश १ अध्यक्ष पूर्णप्रसाद गौतमले श्रेष्ठको उक्त अभिव्यक्ति राखेर आफ्नो टिप्पणीसहितको धारणा सामाजिक सञ्जालमा राखेका छन् ।
शिक्षक–कर्मचारीको काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय सहभागिता जनाएका गौतम लेख्छन्–
‘माननीय पूर्व शिक्षामन्त्रीज्यू, हजुरले निजामती कर्मचारीको तुलनामा कति बढी काम गर्नु भएको छ ? हजुरले राष्ट्रप्रति गर्नु भएको योगदान बापत, राज्य कोषबाट उपभोग गर्नु भएको सेवा सुविधा शून्य नै छ कि क्या हो ? हजुरहरूबाट सम्पादन भएको कामको पनि लेखाजोखा गर्ने कि ? शिक्षक वा शिक्षाकर्मीको कामको मापन गर्ने, हजुरको थर्माेमिटर एकपटक परीक्षण गराएर पो हेर्ने हो कि ? भरखरैको नाटक भनौं या अभिनय– त्यो हेर्दा त, उच्च ओहोदाका निजामती कर्मचारी र माननीय, आदरणीय र पूजनीय सांसदज्यूहरुको कार्य क्षमता, इमान्दारिता र कर्तव्य बोधको सम्मान गर्ने अवसर कहिले पाइएला ? प्रतीक्षारत हुनु परेको छ ।’

गौतमको यो टिप्पणी आएपछि धेरैले त्यसमा प्रतिक्रिया दिएका छन् । अन्य सयौं शिक्षक र कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री श्रेष्ठको आलोचना र टिप्पणी गरेका छन् । कतिपयले कडै आक्रोस पनि पोखिरहेका छन् ।
यही क्रममा बलराम ढकालले लेखेका छन्, ‘शिक्षकको तलब निजामती कर्मचारीको भन्दापनि धेरै हुनुपर्छ त्यसो भयो भने अब्बल नम्बर ल्याउनेहरु शिक्षक हुन तयार हुन्छन् । नतिजा स्वरूप शिक्षाको गुणस्तर बढ्दछ ।’
यसैगरी बिगेन्द्र याखाको टिप्पणी छ्, ‘यस्ता थाङ्…का कुरा सुनेर शिक्षक कदापि दुःखी हुनुहुन्न बरू यस्ताहरूको स्तर थाहा पाउनुपर्छ ।’
निजामती कर्मचारीले भन्दा शिक्षकले बढी मेहनत गर्ने भन्दै टठबहादेर पाण्डेले लेखेका छन्, ‘निजामती भन्दा बढी काम शिक्षकहरूले गरिरहेका हुन्छन् नियालेर मसिनो मसिनो केलाएर हेर्नु सिक्नुहोस् त ।’
देश हाँक्न खोज्ने आशा गरिएका नेतृत्वको सोच यस्तो हुनु पक्कै पनि राम्रो हैन भनेर प्रेम सुब्बाले आफ्नो प्रतिक्रिया दिएका छन् ।
पूर्वमन्त्री श्रेष्ठले यथार्थ नबुझी टिप्पणी गरेको चेतराज रेग्मीको धारणा छ । उनी भन्छन्, ‘यथार्थ धरातलमा उभिएर नेपाली जन्तालाई आत्माले सम्झेर नेपालको माटो समाएर राष्ट्र र जनताको सवालमा बोलेको बोली भए पो सुन्नु । माननीयजी नेपालकी छोरीभन्दा पनि अमेरिकाकी बुहारी हो नि त । नेपालीलाई दबाउने हप्काउने थर्काउने तर्साउने कोसिस गर्ने काम पटक्कै नगरे हुन्छ तपाईंको बोलीले नेपाली जनताको यौटा रौं हल्लिँदैन ।’
यसैगरी, बिमला हेम्ब्याको भनाइ छ, ‘सामुदायिक विद्यालयको समस्या चुनौती समयसँगै कति पेचिलो बन्दै गएको छ । माननीयज्यूद्वारा अध्ययन गर्न बाँकी देखें मैले, अहिले सामुदायिक विद्यालयमा कस्ता विद्यार्थी नानी आउँछन् र कसरी व्यवस्थापन गरेर सीमित स्रोत साधनको बाबजुद पनि शिक्षकहरू प्रयासरत् छौं भन्ने कसैले मूल्यांकन गर्न सकेको छैन ।’
शिक्षकहरू राज्यकोष दोहन गर्नेमा पर्दैनन् भन्दै भीम बोहोरा लेख्छन्, ‘पूर्व शिक्षामन्त्री साह्रै दूरदर्शिता भएकी हुन्, निजामती कर्मचारीले जस्तो काम गर्न शिक्षक कर छली गर्दैन, राज्यकोषको दोहन गर्दैन, घुस लिँदैन, अभिभावकलाई दुःख दिंदैन । छरछिमेकीका नानीबाबु भए आफ्नै सवारी साधन, नभए डोर्याएर विद्यालय र घर गराउँछ । यथार्थमा शिक्षक समाजको अभिभावक हो । उ कहिल्यै निजामती कर्मचारी जस्तो काम गर्दैन । धन्य छौ सुमना धन्य छौ ।’
यस्तै, लक्ष्मीप्रसाद दुलालको भनाइ छ, ‘वर्तमान शिक्षा मन्त्रीहरु भन्दा निक्कै माथिको उचाइ होला भन्ने आम बुझाइ रहेको छ तर देशको ब्युरोक्रेसीको चक्रब्यूहमा फसेकी पेपर टाइगर हुन खोज्नु दुर्भाग्य ।’
प्रतिक्रिया दिने क्रममा तारादेवी शर्मा लेख्छिन्, ‘यति नि…सोचाइ होला भन्ने त लागेको पनि थिएन । आफ्नो असली रुप आफैं देखाउन सफल हुनुभो नि पूर्वमन्त्रीज्यू ।’
यसैगरी, मित्र खनाल लेख्छन्, ‘माननीयज्यूले यस्तो तुलनात्मक संकुचित विचार प्रकट गर्नु हुन्छ जस्तो लागेको थिएन । घ…सोच ।’
‘भ्रष्टाचार चाहिँ निजामतीसरह गर्न सकिँदैन है माननीयज्यू…’ लक्ष्मी लिम्बूको प्रतिक्रिया यस्तो छ ।
‘सुमना महोदय र उहाँका पूजनीय निजामती कर्मचारीले गरेको निजामती विधेयकको काम वास्तवमै सम्झन लायक छ’ सूर्य सापकोटाको प्रतिक्रिया छ, ‘ बौद्धिक दरिद्रता ।’
पूर्वमन्त्रीको अभिव्यक्तिप्रति दलबहादुर खड्का निकै आक्रोसित छन् । गौतमको धारणामा प्रतिक्रिया दिंदै उनी लेख्छन्, ‘…..भाग्य चिट्ठाले मन्त्री हुन पाउँदा पुङ न पुछरको बुर्जुवा शिक्षक सुरुवा निर्देशिका बनाएर कति न गतिलो भए भन्ने लागेको होला…, मैले त शिक्षक र कर्मचारीहरुको बारेमा नबोलेकै राम्रो भनेर लेख्ने गरेकै छु, आज मेरो आदरणीय गुरुले अति सान्दर्भिक, कुराको उठान गर्नु भएकोमा मेरो राजनीतिक, शैक्षिक गुरुप्रति हार्दिक नमन ।’
यसैगरी, हरि फुयाँल लेख्छन्, ‘एउटा सांसद जो विधायक पनि हो विधि विधान र कानुन निर्माण गर्ने जसको आँखा (दृष्टिकोण) एकदमै निष्पक्ष र तटस्थ हुनैपर्छ। हरेक व्यक्ति आ-आफ्ना क्षेत्रमा बेग्लै र विशिष्ट हुन्छन् र तिनीहरूलाई विशिष्टताको आँखाले होइन र हेर्ने ? कसैले कसैलाई दाँजेर मूल्याङ्कन गर्न मिल्दैन र पाइँदैन भन्ने सामान्य कुरा पनि थाहा छैन ? यो भन्दा विडम्बना अर्को के हुनसक्छ ? निजामती र शिक्षकको कार्य क्षेत्र तौर तरिका नै बेग्लै हुन्छ भने यिनलाई दाँजेर विभेद गर्ने अधिकार कसले दियो ?’
शिक्षा विधेयक : सहमति पर्खँदै शिक्षा समिति, मन्त्रालय र महासंघ वार्तामा
‘शिक्षा विधेयक हामीले रोकेको होइन’
शिक्षा विधेयकमा कहिले हुन्छ छलफल ? टुंगो छैन
