‘शिक्षा विधेयक हामीले रोकेको होइन’
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक चाँडै संसदमा पेस हुने बताएका छन् । सरकारले सहमतिको प्रयास गरिरहेकाले एकदुई दिनभित्रै विधेयक समितिबाट पारित हुने उनको भनाइ छ ।
सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्रै पारित गर्ने प्रतिबद्धता जनाए पनि केही विषयमा सहमति हुन नसक्दा विधेयक संसदीय समितिमै अड्किएको छ । मुख्य रुपमा अस्थायी शिक्षक व्यवस्थापन, शिक्षकहरूको मूल्यांकन र बालविकास (ईसीडी) को विषयमा सहमति हुन सकेको छैन ।
शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग छलफल गरी ती विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ । समिति सभापति थापाले सहमति भएर आउनासाथ विधेयक संसदमा पेस गर्ने गरी तयार गरिने बताए ।
गत आइतबार बसेको प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको थियो । संघीय निजामती सेवा विधेयक पारित गरेसँगै स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेको जानकारी दिएका थिए ।
विधेयकलाई समितिले रोकेको नभइ सरकार र शिक्षक महासंघबीच कुरा नमिल्दा रोकिएको उनको भनाइ छ । ‘समितिले लगभग विधेयकलाई टुंग्याइसकेको छ’ उनले भने, ‘अब सरकारले समितिको निर्णय मान्नुपर्छ नत्र विधेयक फिर्ता लिनुपर्छ ।’
राहत शिक्षक, अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षक, कक्षा ११ र १२ को स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षक लगायतको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यसमा महासंघले आन्तरिकबाट ७५ प्रतिशत र खुला ४० प्रतिशत हुनुपर्ने माग राखेको छ ।
विधेयकमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला गर्ने भनिएको थियो । संसदीय उपसमितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला गर्ने सहमति गरेको थियो । यो महासंघले मानेको छैन ।
अस्थायी शिक्षक व्यवस्थापन, मूल्यांकन र ईसीडीको विवाद समाधान कसरी ?
महासंघलाई देखाएर शिक्षा विधेयकमा विलम्ब किन ?
शिक्षा विधेयक : सांसदहरू पारित गरौं भन्ने, मन्त्री रोक्ने
विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
