शिक्षा विधेयकमा कहिले हुन्छ छलफल ? टुंगो छैन
फाइल तस्बिर
काठमाडौं । अन्तिम समयमा आएर संसदीय समितिमै रोकिन पुगेको विद्यालय शिक्षा विधेयकमाथि अब कहिले छलफल हुन्छ भन्ने यकिन छैन । सोमबार विधेयकलाई तत्काल पारित नगर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।
शिक्षामन्त्री रघुजी पन्तको आग्रहमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति अम्मरबहादुर थापाले बैठक स्थगित गरेका थिए । समितिका सदस्य सांसदहरुले विधेयकलाई टुंगोमा पुर्याउने पर्छ भनेर दबाब दिए पनि त्यसको सुनुवाइ हुन सकेन ।
मन्त्री पन्तले बैठक स्थगित गर्न गरेको प्रस्तावअनुसार समिति सभापति थापाले हालसम्मका सहमतिलाई कायम राखेर बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका थिए ।
मन्त्री पन्तले गठबन्धनको सरकार भएकाले सत्ता साझेदार दलका प्रमुख सचेतकको कुरा मान्नु पर्ने भन्दै बैठक केही दिन स्थगित गर्न प्रस्ताव गरेका थिए ।
समितिका एक जना सदस्यका अनुसार विधेयकलाई निष्कर्षमा पुर्याउने अझै दुई चार दिन लाग्न सक्छ । उनका अनुसार अर्को बैठक कहिले बस्ने भन्ने यकिन भइसकेको छैन ।
शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सहमति भइसकेको थियो । सोमबार समितिको बैठक सुरु हुनै लाग्दा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग छलफल गर्न भन्दै समय मागेका थिए । त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघका प्रतिनिधिसँग छलफल गरेका थिए ।
मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायत प्रतिनिधिसँग मन्त्री पन्तले छलफल गरेका थिए । छलफलमा कांग्रेस प्रमुख सचेतक घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला पनि बैठकमा सहभागी थिए ।
मन्त्री पन्तले ६०–४० मा सहमति जनाउन शिक्षक नेतालाई आग्रह गरे पनि शिक्षक प्रतिनिधिहरूले स्वीकार गरेनन् । वार्तामा सहभागी एक शिक्षक प्रतिनिधिका अनुसार ७५–२५ हुनुपर्ने र कार्यसम्पादन मूल्यांकनको अंक ९० बाट घटाउनु पर्ने प्रस्ताव महासंघले गरेको थियो । यसमा सरकार पक्ष सहमत हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
