शिक्षकसँगको सहमति साउनदेखि लागू हुने, के छ सहमतिमा ?

काठमाडौं। शिक्षक-कर्मचारीले गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शनपछि सरकारले वार्ता गरी ९ बुँदे सहमति गरेको थियो। मुख्य मागका रूपमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ लाई असार १५ गतेभित्र पारित गर्ने सहमति भएको थियो।

त्यसबाहेक विभिन्न विषय समेटिएको ९ बुँदे सहमति गरिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त सहमति साउनदेखि लागु हुने सार्वजनिक रुपमा बताइसकेका छन्।

यसैबीच, शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ वटा बुँदा तयार भएको जनाइएको छ। शिक्षा मन्त्रालयका प्रतिनिधि र नेपाल शिक्षक महासंघका प्रतिनिधिले संशोधन गर्नुपर्ने बुँदा तयार पारेका हुन्। उक्त विधेयकमा छलफल गरी जेठ ४ गते संसदीय उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको थियो।

शिक्षक महासंघले तोकिएको समयभित्र ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिंदै आएको छ। महासंघको अगुवाइमा गत चैत २० चैतदेखि २९ दिनसम्म काठमाडौं केन्द्रि सडक प्रदर्शन गरिएको थियो। वैशाख १७ गते भएको सहमतिमा असार १५ गतेभित्र ऐन जारी गर्ने भनिएको थियो। त्यसपछि आन्दोलन स्थगित भएको थियो।

के छ ९ बुँदे सहमतिमा?

–शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

–अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी र करार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता) को विरामी विदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने।

–प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने।

–आगामी आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने।

–स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी र करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानून बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।

–सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।

–नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्न ।

–नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।

–निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह हुने गरी कायम गर्ने।

शिक्षकहरूसँगको ९ बुँदे सहमति साउनदेखि लागू हुने

शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *