इजरायलबाट नेपाल फर्कन ६ सयले दर्ता गराए नाम

काठमाडौं। युद्धग्रस्त इजरायलबाट स्वदेश फर्कन ६ सय जना नेपालीले नाम दर्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपाल फर्कन चाहनेहरुले नाम दर्ता गराएका हुन्।

इजरायल–इरानबीच युद्धका कारण त्यहाँ अप्ठ्यारो र जोखिमपूर्ण अवस्था छ। त्यही भएर नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर राजदूतावासमार्फत् सरकारले विवरण लिन सुरू गरेको थियो।

उक्त पोर्टलमा हालसम्म ६ जनाभन्दा बढीले विवरण दर्ता गराइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत बुधबार दोस्रोपटक ‘ट्राभल एड्भाइजरी’ जारी गरेर इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध गरेको थियो।

परराष्ट्र मन्त्रालयमा शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठक बसेको थियो। त्यस क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरूलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी थिइन्।

मन्त्री राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको जानकारी दिइन्।

‘जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो’ उनले भनिन्, ‘त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ।’

बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताएका थिए।

गत जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएको थियो। जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरूलाई अनुरोध गरिएको थियो । ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगहरूलाई परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।

इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेको र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेको जनाइएको छ। इरानमा १८ जना नेपाली रहेको अनुमान छ।

इरान र इजरायलबाट नेपालीको उद्धार पहल

इरान र इजरायलको भ्रमण नगर्न सरकारकोे सुझाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *