इरान र इजरायलबाट नेपालीको उद्धार पहल

काठमाडौं। इरान र इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्ने पहल थालिएको छ। त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो।

इजरायल र इरानबीच युद्ध चर्किँदै गएपछि दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल थालेको हो।

इजरायल र इरानबीच युद्धको अवस्था बनेपछि समस्यामा परेका नेपालीलाई आवश्यकताअनुसार उद्धार तथा स्वदेश फिर्तीका लागि दूतावासले सूचना संकलन गर्न थालेको जनाइएको छ।

दूतावासले अनलाइन रजिस्ट्रेसनमा फारम भर्ने प्रक्रियामा सहभागी हुन इजरायलमा रहेका नेपालीहरूलाई आग्रह गरेको छ।

इजरायलमा साढे ५ हजारको हाराहारीमा नेपालीहरू रहेको सरकारी तथ्यांक छ। यसैगरी, इरानमा १२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरूको सुरक्षा तथा उद्धारको लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ। मंगलबार श्रम मन्त्रालयमा बसेको अन्तरमन्त्रालय तथा सरोकारवाला निकायबीचको बैठकमा आवश्यक परे तत्काल उद्धार गर्न सकिनेगरी तयारी अवस्थामा रहने निर्णय गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *