शिक्षा विधेयकमा राजनीतिक सहमति खोज्नुपर्ने देखियो : मन्त्री पन्त
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन्। विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको पनि उल्लेख गरे।
सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले यस्तो बताएका हुन्। निरन्तर छलफल गरी विधेयकलाई टुङ्गोमा पुर्याइने उनले बताए।
मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका बिषयमा अन्तिममा टुङ्गोमा पुराउने गरी छलफल अघि बढाउन सुझाव दिए।
समितिका सभापति अम्वरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्ने बताए। अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने उनको भनाइ थियो।
समिति अन्तर्गतको उपसमितिले बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समितिमा पेश गरिसकेको छ। उक्त प्रतिवेदनमा सरकारसँग भएको सहमति अनुसारको विषयहरु नसमेटिएको भन्दै शिक्षक र कर्मचारीहरुले असन्तुष्टि जनाइरहेका छन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लामो समयसम्मको आन्दोलनपछि सरकारसँग भएको वार्तामा गरिएका सबै सहमति प्रतिवेदनमा नसमेटिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
शिक्षकहरुलाई अनेक बहानामा भुल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्ट पक्षले फेरि पनि धोका भए अझ कडा आन्दोलन गर्नुको विकल्प नरहेको बताइरहेका छन्।
शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो (यस्तो छ प्रतिवेदन)
