भेट

भेट्न त हामीले जीवनको कुनै पनि मोडमा
नभेटिऔँ भनेका थियौँ
तर संयोगवस
हामी आन्दोलनमा भेटियौँ
म शासक प्रशासकहरू विरुद्ध खबरदारी गरिरहेथेँ
तिमी त्यही हुलमा मुठ्ठी उठाइरहेका रहेछौ
म लाल गद्दारहरूलाई चेतावनी उद्घोष गरिरहेथेँ
तिमी त्यही बेला नारा लगाइरहेका रहेछौ।

भेट्न त हामीले चोक, चौतारा, देउराली
कतै नभेटिऔँ भनेका थियौँ
तर हामी आन्दोलनमा भेटियौँ
छुट्टिनुपूर्व लहर नमिलेका पहाड जस्तै
हाम्रा आस्था र विचारहरू
आज एकैठाउँ भएछ
वर्षौंपछि हामी भेटिएका छौँ
भेट्न त हामीले जीवनको कुनै पनि मोडमा
नभेटिऔँ भनेका थियौँ
तर आज सडकमा भेटियौँ।

मलाई अझै पनि सम्झना छ
धेरै अघि हामी दोबाटोमा छुट्टिएका थियौँ
कहिल्यै नभेटिने उज्यालो र अँध्यारो जस्तै
तिमीले सोच्ने तरिका अलग
मैले बाँच्ने तरिका अलग
हामी एकै भएर पनि
आकाश र धर्ती जस्तै छुटेका थियौँ
अलग बाटो समातेका थियौँ
हामीले अलग यात्रा हिँडेका थियौँ।

मलाई अझै पनि सम्झना छ
हामीले छोडेको बिन्दु नै अन्तिम थियो
तर कसो हामी दुई फरक ध्रुवमा उभिएका मान्छे
आज यो ध्रुवमा भेटियौँ
मलाई जस्तै आश्चर्य तिमीलाई पनि लागेको हुनुपर्छ
मलाई जस्तो छटपटी तिमीलाई पनि लागेको हुनुपर्छ
भेट्न त हामीले
सपनीमा पनि नभेटौँ भनेका थियौँ
तर आज यस्तो महत्वपूर्ण घडीमा भेटियौँ।

थाहा छैन
बादलबाट छुट्टिएको पानीको थोपा जस्तै छुट्टिएका हामी
कसरी भेटियौँ?
हुन सक्छ पानी समुद्रमा पुगेर बादल बनेझैँ
तिमीले आफ्नो धारणा परिवर्तन गर्यौ कि म बदलिए?
तिमीले आफ्नो अहंकार तोड्यौ कि
म फेरिएँ?
या त यो पृथ्वीको धरातल बदलियो?
फरक ध्रुवमा उभिएका हामी
आज यसरी भेटिएका छौँ
छुट्टिनु अघि जसरी त्यो अन्तिम बिन्दु थियो
भेटिएपछि उस्तरी नै यो सुरुवाती बिन्दु हुन सक्छ
या त नहुन पनि सक्छ
तर हामी अनौठो गरी यसरी भेटियौँ
यो भेट अन्तिम पनि हुन सक्छ
या त निरन्तर भेटिइरहने पहिलो पनि हुन सक्छ।

भेट्न त हामीले जीवनको कुनै पनि मोडमा
नभेटिऔँ भनेका थियौँ
तर संयोगवश
हामी आन्दोलनमा भेटियौँ।

***

नफर्किएको भनेको त तिमी मात्र हौ

***

म झरेको समय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *