नफर्किएको भनेको त तिमी मात्र हौ
छुट्न त ऋतुहरू छुटेर गए
नदीहरू छुटेर गए
बचेराहरू गुँडबाट छुटेर गए
छुट्न त
अनेकन गोरेटो छुटे
पाइतालाको डोब छुट्यो
बालापन छुट्यो
जन्मेर हुर्केको आँगन छुट्यो
साँझपख घाम छुट्यो
बिहानपख जून छुट्यो
ताराहरू छुटे
सपनाहरू छुटे
रहरहरू छुटे
याम आयाम छुटेर गए
तर यी छुटेर जानेहरू
कहीँ न कहीँ भेटिए
कहीँ न कहीँ पुगेर फर्किए
नफर्केको भनेको त तिमी मात्र हौ
मिरमिरे बिहान होस् या त गोधूली साँझ
वसन्त पतझड होस या शिशिरको ठण्डी
वर्षामा झर्ने पानीका बुँदहरूले त झन्
छुटेर गएको यादहरू बल्झी बल्झी आउँछ
छुटी जानेहरू सप्पै फर्केर आए
कहीँ न कहीँ भेटिए
नभेटिएको भनेको त तिमी मात्र हौ !
खै कुन भूगोलमा पुग्यौ तिमी ?
मैले पठाएको याद बतासले सुनायो, सुनाएन ?
मैले पठाएको प्रेम वर्षातले स्पर्श गरायो कि गराएन ?
ए निष्ठुरी
तिमी घाम जूनको देशमा छौ कि ?
ताराहरूको सहरमा छौ ?
छुटेर जानेहरू सप्पै फर्किए
कहीँ न कहीँ भेटिए
नफर्केको त तिमी मात्र हौ
नभेटिएको भनेको त तिमी मात्र हौ ।
Great poem