लहानमा समता साहित्य उत्सव : विद्यार्थी भविष्यका स्रष्टा
सिरहा । लहानस्थित समता स्कुलमा समता साहित्य उत्सव भव्यताका साथ सम्पन्न भएको छ । पूर्वसांसद लगनलाल चौधरीको प्रमुख आतिथ्य र समता लहानका प्रिन्सिपल कमल सिङ्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै कवि तथा अनुवादक निमेष निखिलले आजका विद्यार्थीहरूलाई साहित्यका उपभोक्ता मात्र नभई भविष्यका स्रष्टा बनाउन प्रेरित गरे । उनले साहित्य पठन र लेखनलाई जीवनशैलीमा समेट्नुपर्नेमा जोड दिए ।
लहान, राजविराज, गाईघाट, गोलबजार, र हेटौंडाबाट आएका दुई दर्जन कविहरूको कविता वाचनले कार्यक्रममा साहित्यिक ऊर्जा थपेको थियो । कार्यक्रमको संयोजन समता स्कुलका साहित्यदूत तथा कवि बिमल बैद्यले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा समता पूर्वी कन्सोर्टियम अन्तर्गतका समता स्कुलका विद्यार्थीबीच गायन र नृत्य प्रतियोगिताको मेगा अडिसन सम्पन्न भएको थियो । यसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास बढाउने महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।
साहित्य र कलालाई शिक्षाको अभिन्न हिस्सा बनाउँदै आएको समता स्कुलका संस्थापक उत्तम सञ्जेलको दृष्टिकोणले यस कार्यक्रमलाई थप प्रेरणादायी बनाएको सहभागीले बताए । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुलले यो उत्सवलाई चौथो वर्षसम्म निरन्तरता दिएको छ ।
समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले यस उत्सवलाई अन्य जिल्लाका समता स्कुलहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए । कविहरू र वक्ताहरूले समता स्कुलको कला र साहित्यप्रतिको पहलकदमीको प्रशंसा गरे ।
शिक्षा, साहित्य, र कलाको समन्वय मार्फत नयाँ पुस्तालाई सशक्त बनाउने समता स्कुलको यो प्रयासले भविष्यमा पनि प्रेरणा दिन्छ भन्ने विश्वास गरिएको आयोजकको भनाइ छ ।
