समता स्कुल लहानमा साहित्य उत्सवको तयारी

सिरहा । समता स्कुल पूर्वी कन्सोर्टियमको आयोजनामा पुस १९ गते सिरहाको लहानमा ‘समता साहित्य उत्सव’ आयोजना हुने भएको छ । नेपाली साहित्यको प्रवर्द्धन गर्ने र विद्यार्थीहरूमा साहित्य प्रतिको रुचि तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो ।

साहित्य उत्सवमा सिरहा, धनुषा, सप्तरी, उदयपुर, सिन्धुलीलगायत जिल्लाका २० जनाभन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने नाराका साथ आयोजना हुने चौथो संस्करणको साहित्य उत्सव देशभरका अन्य समता विद्यालयहरूमा पनि क्रमशः आयोजना गर्ने योजना रहेको पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले बताए ।

मकवानपुरबाट सहभागिता जनाउने कवि निमेष निखिलले ‘विद्यालयमा साहित्यको भूमिका र सकारात्मक प्रभाव’ विषयमा वक्तव्य दिने कार्यक्रम रहेको संयोजक तथा समता पूर्वी कन्सोर्टियमका साहित्यदूत समेत रहेका इलामका कवि बिमल वैद्यले जानकारी दिए । त्यस अवसरमा सर्जकहरूले आफ्ना सिर्जनाहरू वाचन गर्नेछन् ।

यस अवसरमा झापा, इलाम, विराटनगर, लहान र इटहरीका विद्यार्थीहरूले पाँचौँ अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको दोस्रो चरणका प्रस्तुति पनि दिनेछन् । साहित्य उत्सवले विद्यार्थीहरूलाई साहित्यिक यात्रामा प्रेरित गर्दै नयाँ दृष्टिकोण दिन सफल हुने विश्वास आयोजकले लिएका छन् ।

उत्सवको संयोजक विमल बैद्य छन् भने प्रमुख वक्ताका रुपमा निमेष निखिल सहभागी हुने जनाइएको छ । यसैगरी, डाक्टर अमरेन्द्र मिश्र, डाक्टर रामसेवक सिंह, रोयाण्टर मण्डल, जिवछ यादव उदासी, सुमी पोखरेल, अर्जुनप्रसाद गुप्ता सुमन घिमिरे अग्रिम, जीवन आरोही, प्रमोद थारू, नानु दाहाल सुबेदी, ऋषि राईलगायत सर्जकको सहभागिता हुने भएको छ ।

इटहरीमा ‘समता साहित्यिक उत्सव’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *