स्वस्थ बुढ्यौलीका लागि योग

उमेर पाको हुँदै जाँदा मानव शरीरमा बिस्तारै ह्रास आउन थाल्छ। शरीरका कोषिकाहरूमा पानीको मात्रा कम हुन थाल्छ, जोर्नीहरू कडा हुँदै जान्छन् र महत्त्वपूर्ण अङ्गहरूको कार्यक्षमता पनि सुस्त हुन थाल्छ। अनुहारमा चाउरी पर्नु र कपाल फुल्नु जस्तै यो पनि एउटा सामान्य प्राकृतिक प्रक्रिया हो।

वृद्धावस्था वा बुढ्यौली जीवनको त्यो अवस्था हो, जसमा मानिसको उमेर मानव जीवनको औसत आयुको नजिक वा त्योभन्दा बढी हुन्छ। वृद्धवृद्धाहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ र उनीहरूका समस्याहरू पनि फरक हुन्छन्। यो अवस्था बिस्तारै आउने एउटा स्वाभाविक र प्राकृतिक प्रक्रिया हो। ‘वृद्ध’ को शाब्दिक अर्थ बढेको, पाकेको वा परिपक्व भएको भन्ने मानिन्छ।

कुलशेखरद्वारा रचित मुकुन्दमाला स्तोत्र (श्लोक ३३) मा भनिएको छ :

कृष्ण त्वदीय पद पङ्कज पञ्जरान्तम्, अद्यैव मे विशतु मानसराजहंसः।

प्राण प्रयाण समये कफ वातपित्तै कण्ठावरोधनविधौ स्मरणं कुतस्ते॥

कुलशेखरले यो श्लोकको मर्म र सन्देशलाई एकदमै गहिरो र मार्मिक रूपमा व्यक्त गरेका छन्। वास्तवमा, समय छँदै गरिएको साधना र भक्ति नै सार्थक हुन्छ। जब संकट वा अन्तिम घडी आउँछ, तब चाहेर पनि मन एकाग्र हुन सक्दैन। विचलित मनलाई एकाग्रता दिनका लागि योग महत्त्वपूर्ण कडी भएकाले भगवद्भक्तिसँगै योग अभ्यासलाई जीवनशैली बनाउन सके बुढ्यौली जीवन सहज बन्न सक्छ।

यस वर्ष १२ औँ अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने मूल नाराका साथ मनाइँदैछ। यो नाराले जीवनको हरेक चरणमा योगको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारेको छ। योगले शारीरिक लचिलोपन, सन्तुलन, शक्ति र मानसिक शान्तिलाई बढावा दिन्छ र तनाव, चिन्ता र जीवनशैलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य चुनौतीहरूको व्यवस्थापन गर्न मद्दत गर्दछ। नियमित योग अभ्यासले सबै उमेरका मानिसहरूलाई स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवन बिताउन प्रेरित गर्दछ। यो नाराले स्वस्थ र सम्मानजनक बुढ्यौलीको विश्वव्यापी लक्ष्यलाई पनि बलियो बनाउन मद्दत गर्दछ।

बुढ्यौली एक प्राकृतिक र अवश्यम्भावी प्रक्रिया हो, तर हामी कसरी वृद्ध हुँदैछौँ भन्ने कुरा धेरै हदसम्म हाम्रै हातमा हुन्छ। दशकौँदेखि पश्चिमा चिकित्सा विज्ञानले बुढ्यौलीका शारीरिक समस्याहरू जस्तै कमजोर हड्डी, कडा भएका जोर्नीहरू, असन्तुलित शरीर र बिर्सने बानीलाई उमेरसँगै आउने अपरिवर्तनीय उतारचढावका रूपमा हेर्दै आएको थियो। तर, आधुनिक जेरोन्टोलोजी (वृद्धवृद्धाको अध्ययन गर्ने विज्ञान) ले अर्कै तथ्य अघि सारेको छ। वृद्धावस्थामा देखिने धेरैजसो समस्याहरू वास्तवमा शरीरको निष्क्रियता वा ‘प्रयोग नगर्नु’ को परिणाम हुन्।

उमेर ढल्किँदै जाँदा मानव शरीर र मस्तिष्कमा अनेकौँ स्वाभाविक परिवर्तनहरू आउँछन्। शारीरिक शक्ति घट्दै जानु, जोर्नीहरू कडा हुनु, रोगप्रतिरोधात्मक क्षमता कमजोर बन्नु र मानसिक रूपमा एक्लोपन वा तनाव बढ्नु बुढ्यौलीका सामान्य विशेषता हुन्। यो अवस्थामा औषधि र आधुनिक उपचारले शरीरलाई केही हदसम्म सहारा त दिन्छन्, तर पूर्ण स्वस्थ र ऊर्जावान् राख्न सक्दैनन्। त्यसैले, बुढ्यौली उमेरलाई सुखमय, सक्रिय र सम्मानित बनाउन योग एक अचुक, प्राकृतिक र सर्वोत्तम माध्यम हो।

योगले यही निष्क्रियताको विरुद्ध एक वैज्ञानिक र व्यवस्थित समाधान प्रदान गर्दछ। यो शरीरलाई जबरजस्ती बङ्ग्याउने वा कठिन आसनहरू गर्ने मात्र होइन, बरु यो तपाईंको ७०, ८० वा त्योभन्दा बढीको उमेरमा पनि शारीरिक संरचना, कोषहरूको स्वास्थ्य र मानसिक स्पष्टता कायम राख्न वैज्ञानिक रूपमा प्रमाणित भएको एक उत्तम पद्धति हो।

हाम्रो समाजमा बुढेशकाल लागेपछि मानिस शारीरिक रूपमा शिथिल, मानसिक रूपमा कमजोर, आर्थिक रूपमा निष्क्रिय एवं अनेकन प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित भएको पाइन्छ। त्यस्तै पारिवारिक बिछोडको सम्भावना र त्यसले दिने पीडा, सन्ततिबाट टाढा रहनुपर्ने र एक्लो जीवन जिउनुपर्ने बाध्यता एवं कतिपय अवस्थामा समाज तथा परिवारबाट अपहेलित हुनुपर्ने अवस्था सिर्जना पनि हुन सक्छ।

सबै प्रकारले अरूप्रति आश्रित हुनुपर्ने अवस्था वृद्धावस्था हो। कतिपय बुढ्यौली अवस्थामा आश्रय नपाउँदा जीवन अधिकांशका लागि निकै दुखदायी भएको यथार्थ हाम्रासामु छर्लङ्ग नै छ। वृद्धवृद्धाहरूमा लड्नु एक ठूलो चिन्ताको विषय हो। लड्नाले गम्भीर चोटपटकहरू लाग्न सक्छन्, जस्तै- हड्डी भाँचिने, टाउकोमा चोट लाग्ने र यहाँसम्म कि मृत्युसमेत हुन सक्छ। यो अवस्थामा योगको भूमिका महत्त्वपूर्ण हुन्छ।

वृद्ध हुनु भनेको सबै कुरा सकिनु वा निराश हुनु होइन। उमेरसँगै मानिसले त्यस्तो ज्ञान र बुद्धिमत्ता हासिल गर्दछ, जुन युवावस्थामा हुँदैन। यसले मानिसमा एक प्रकारको परिपक्वता र शालीनता ल्याउँछ। यसका साथै, विभिन्न वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि नियमित योग गर्दा शरीरमा उमेरका कारण हुने जलन कम हुन्छ, मस्तिष्कको कार्यक्षमता बढ्छ र वृद्धावस्थामा पनि मानिस आत्मनिर्भर र गतिशील रहन सक्छ।

योगले वृद्धवृद्धाहरूको शारीरिक सन्तुलन, शक्ति, लचकता र समग्र फिटनेसमा सुधार गरेर उनीहरूलाई लड्नबाट जोगाउन मद्दत गर्दछ। सन्तुलन कायम राख्न सक्नु नै दुर्घटनाबाट बच्ने एक प्रमुख उपाय हो। योगाभ्यासले शक्ति र लचकता बढाउँछ, जसले वृद्धवृद्धाहरूलाई उठ्ने-बस्ने गर्दा वा हिँडडुल गर्दा लड्नबाट जोगाउन सक्छ। आज यहाँ यस्तै योगासनको बारेमा चर्चा गरिनेछ, जसले वृद्धवृद्धाहरूको सन्तुलनलाई राम्रो बनाउन र लड्नबाट जोगाउन शारीरिक लाभका अलावा मानसिक र भावनात्मक फाइदाहरू पनि दिन्छ।

योगले शारीरिक स्वास्थ्यका अलावा तनाव र चिन्ताबाट मुक्ति दिन्छ। यसले तनाव, चिन्ता र डिप्रेसनलाई कम गर्न मद्दत गर्छ, जसका कारण लड्ने जोखिम बढ्न सक्छ। त्यस्तै यसले एकाग्रतामा सुधार ल्याउँछ। योगले ध्यान र एकाग्रतालाई राम्रो बनाउँछ, जसले गर्दा ज्येष्ठ नागरिकहरूले आफ्नो वरपरको वातावरणलाई राम्रोसँग बुझ्न र खतराहरूबाट बच्न सक्छन्।

फिटनेस र लाइफस्टाइल विज्ञ यश अग्रवालका अनुसार योगको माध्यमबाट तपाईंको हात-आँखाको समन्वय दुवैलाई बढाउन सकिन्छ। यसले शरीरको माथिल्लो र तल्लो भागलाई राम्रोसँग जोड्न मद्दत गर्नेछ, जसले गर्दा शारीरिक सन्तुलन र नियन्त्रण अझ राम्रो हुनेछ।

स्वस्थ शरीर र शक्तिशाली आत्मा योग दर्शनका मुख्य विषयवस्तु मानिन्छन्। योग गर्ने समयमा शिर र गर्धनलाई सीधा पारेर राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वासप्रश्वासको नियम पालना गर्नु र पवित्र मनको अनुकूल स्थानमा अभ्यास गर्नुजस्ता विधान योग दर्शनमा पाइन्छन्।

योग दर्शनले शरीरलाई कहिल्यै मिथ्या मान्दैन बरु उपयोगी वस्तु मान्दछ। यसले स्वस्थ शरीरमा शुद्ध दिमाग हुन्छ र शुद्ध दिमागले मात्र मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्छ। योग दर्शन नै एउटा यस्तो दर्शन हो, जुन मानव जीवनमा अध्यात्मवाद, वादविवाद या तर्कशास्त्रलाई महत्त्व नदिएर जीवनको उद्धारका लागि मानव शरीरको व्यावहारिक र प्रयोगात्मक पक्षमा विशेष बल दिन्छ।

सुरुमा वा शरीर कमजोर भएको अवस्थामा योग सुरु गर्न अलिकति डर वा धक लाग्नु स्वाभाविक हो। तर, योगको सबैभन्दा ठूलो विशेषता भनेको यसलाई आफ्नो शारीरिक क्षमता अनुसार ढाल्न सकिन्छ। कुनै पनि नयाँ अभ्यास सुरु गर्नुअघि विज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

योग जस्तो सुगम मार्गलाई पनि आज हामीले दुर्गम मानेर बसिरहेका छौँ। योग गर्नलाई ‘मन’ भए पुग्छ, इच्छाशक्ति भए पुग्छ। मनमा तत्परता र तन्मयता छ भने जसले पनि योग गर्न सक्छ। योग गर्न कठिन छैन। मात्र बिहान ब्रह्ममुहूर्तमा उठ्न सक्नुपर्दछ अनि साहस र श्रद्धा चाहिँ पक्कै हुनुपर्छ।

सैद्धान्तिक ज्ञान मात्र होइन कि योग दर्शनमा धेरै व्यावहारिक ज्ञानहरू पनि छन्। हामी जति पनि शारीरिक अभ्यास, दौड, बिहानको हिँडाइ, कठिन परिश्रम आदि जे जति गरे तापनि ती अभ्यासबाट पूर्ण व्यायाम कदापि हुँदैन। त्यस्ता अभ्यासबाट शारीरिक व्यायाम हुन्छ तर मानसिक, संवेगात्मक र आध्यात्मिक अभ्यास हुने कुरै भएन। तर योग नै एउटा यस्तो माध्यम हो जसबाट हामीलाई पूर्ण व्यायाम प्राप्त हुन्छ।

यसरी पूर्ण व्यायामका लागि योग अति महत्त्वपूर्ण र मानव जीवनमा अति आवश्यक भएकोले हामीले पनि आजैदेखि ढिला नगरी योगकर्ममा जुटिहालौँ। योग तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य, शारीरिक शक्ति र गतिशीलता बढाउने एउटा अचम्मको कडी हो।

त्यसैले, यदि तपाईं बुढ्यौलीमा पनि ओजस्वी, निरोगी र ऊर्जावान् रहन चाहनुहुन्छ भने आजैदेखि योगलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउनुहोस्। यसले दिने परिणामले तपाईंलाई आश्चर्यचकित बनाउनेछ र खुसी, सुखी जीवन जिउन प्रेरणा प्राप्त हुनेछ।

योगको सबैभन्दा सुन्दर पक्ष भनेको यसको सर्वसुलभता हो। यसले तपाईंको विगतको फिटनेस कस्तो थियो, तपाईं कत्तिको लचिलो हुनुहुन्छ वा तपाईंको उमेर कति हो भन्ने कुराको वास्ता गर्दैन। तपाईं पूर्ण रूपमा परिमार्जन गरिएको कुर्सी योग गर्नुहोस् वा म्याटमा अभ्यास गर्नुहोस्, यसबाट मिल्ने जैविक र मानसिक फाइदाहरू समान हुन्छन्।

दिनको मात्र १५ देखि २० मिनेट सजगताका साथ शरीर चलाउँदा र गहिरो सास फेर्दा, तपाईंले आफ्नो जीवनमा वर्षहरू मात्र थप्नुहुन्न, बरु ती वर्षहरूमा जीवन्तता, आत्मनिर्भरता र आनन्द पनि थप्नुहुन्छ।

बुढ्यौली जीवनको अन्त्य होइन, बल्कि यो त अनुभव र परिपक्वताको स्वर्ण युग हो। यो उमेरमा योगको आवश्यकता ओखतीको जस्तै हुन्छ। दैनिक ३० देखि ४५ मिनेट मात्र गरिएको सरल योग, प्राणायाम र ध्यानले जीवनको उत्तरार्धलाई निरोगी, सुखमय र ऊर्जावान् बनाउन सक्छ। त्यसैले, “ढल्कँदो उमेर, योगको सुमेरु” भन्ने तथ्यलाई आत्मसात् गर्दै प्रत्येक ज्येष्ठ नागरिकलाई योगतर्फ आकर्षित गर्नु परिवार र समाजको पनि दायित्व हो।

ॐ सर्वे भवन्तु सुखिनः ।

सर्वे सन्तु निरामयाः ।

सर्वे भद्राणि पश्यन्तु ।

मा कश्चित् दुःख भाग्भवेत् ॥

ॐ शान्तिः शान्तिः शान्तिः॥

* * *

विद्यार्थी जीवनको तनाव : योग नै किन समाधान?

गरौँ योग, रहौँ निरोग

योग र अध्यात्म : बाहिरी मौनता र भित्री परमानन्दको संगम

मानसिक स्वास्थ्यका लागि बिहानको योग र ध्यान महत्वपूर्ण, यस्ता छन् फाइदा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *