निश्चित ब्याच बाहेक अन्य ‘करेन्ट चाउचाउ’ खान योग्य रहेको दाबी
काठमाडौँ। यशोधा फुड्स प्रालिले बजारमा उपलब्ध निश्चित एक ब्याचबाहेक अन्य सबै ब्याचका ‘करेन्ट चाउचाउ’ पूर्ण रूपमा खान योग्य रहेको स्पष्ट पारेको छ। कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कैफियत देखाएको ब्याचबाहेकका अन्य उत्पादनमा कुनै समस्या नरहेको दाबी गरेको हो।
कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको ‘उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए’ भएको चाउचाउमा मात्र प्रश्न उठेको हो। यो निश्चित ब्याचबाहेक अन्य फरक मिति र ब्याच नम्बरमा उत्पादित सम्पूर्ण सामग्रीहरू उपभोक्ताले ढुक्क भएर उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।
गुणस्तरमा प्रश्न उठेको उक्त विशेष ब्याचबाहेक बजारमा रहेका अन्य सम्पूर्ण उत्पादनहरू सुरक्षित रहेको भन्दै कम्पनीले बिक्रेता, अधिकृत विक्रेता तथा आम उपभोक्तालाई बिना हिचकिचाहट बिक्री वितरण र उपभोग गर्न आग्रह गरेको छ।
