काकरोचको जन्तर मन्तर २.०

भोलि शनिबार भारतको राजधानी दिल्लीमा काकरोच जनता पार्टी (सीजेपी) ले ‘जन्तर मन्तर २.०’ गर्ने तयारी गरिरहेको छ। यो भनेको दिल्लीको ऐतिहासिक वैज्ञानिक सम्पदास्थल जन्तर मन्तरमा सीजेपीको दोस्रो विरोध प्रदर्शन हो। यस पटक प्रदर्शन मात्रै नभएर उनीहरूको मुख्य मागहरूमध्येको एक- केन्द्रीय सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने- पूरा नभएसम्म धर्नामा बसिरहने समेत त्यस संगठनको कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

नवगठित काकरोच जनता पार्टीले यसअघि गत जुन ६ का दिन दिल्लीको जन्तर मन्तरमा पहिलो पटक प्रदर्शन गरेर विश्वव्यापी चर्चा बटुलेको थियो। त्यस प्रदर्शनको नेतृत्व सीजेपीका संस्थापक अभिजीत दिप्केले गरेका थिए। त्यहीँ दिप्केले शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै उनले अटेरी गरे विरोध प्रदर्शनलाई देशव्यापी बनाउने चेतावनी दिएका थिए।

युवा र नवयुवाहरूको व्यापक समर्थन रहेको यो नवीनतम पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भएको छैन। यसका मुख्य नेता अभिजीत दिप्केले हालै आफूहरू चुनावी राजनीतिमा प्रवेश गर्न इच्छुक नरहेको बताएका थिए तर केही स्थानमा भने यसलाई दर्ता गर्ने प्रक्रिया चलिरहेको भनेर त्यस संगठनको वेबसाइटमा उल्लेख गरिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन्। कतिले जनपरिचालन गर्ने उद्देश्यले यो पार्टी आगामी पञ्चायत, नगरपालिका र विधानसभा चुनावमा सहभागी हुन्छ भन्ने अनुमान गरेका छन्।

आजका दिनसम्ममा मात्रै एक महिना र तीन दिनको उमेर खाएको काकरोच जनता पार्टीले आफ्नो स्थापनासँगै युवा बेरोजगारी, मेडिकल शिक्षा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट, सरकारी सेवा प्रवेश प्रक्रियामा ढिलाइ र शैक्षिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै युवा विद्यार्थीको पक्षमा आफ्नो अभियान चलाइरहेको छ। यस क्रममा यसले दिल्लीका अतिरिक्त पुणे, लखनउ, अमृतसर, नागपुर लगायतका सहरहरूमा विरोध प्रदर्शन गरिसकेको छ।

वास्तवमा काकरोच जनता पार्टीको जन्म नै व्यङ्ग्यात्मक प्रतिरोधबाट भएको हो। नेपालमा चिकित्सा शिक्षाका लागि नेपाल मेडिकल काउन्सिलले लिने प्रवेश परीक्षा जस्तै भारतमा पनि सबै खाले चिकित्सा शिक्षामा स्नातक तहको पढाइका लागि राष्ट्रिय प्रवेश परीक्षा लिइन्छ। यस्तो परीक्षा नेशनल टेस्टिङ एजेन्सीले लिन्छ। यस्तो परीक्षामा परीक्षापूर्व प्रश्नपत्र बाहिरिने लगायतका धाँधली हुने गरेको भन्दै युवा विद्यार्थीमाझ तीव्र असन्तुष्टि बढिरहेको समयमा गत मे १५ मा भारतीय सर्वोच्च न्यायालयका प्रधान न्यायाधीशले युवाहरूलाई प्यारासाइट र कक्रोच (परजीवी र साङ्ला) को संज्ञा दिए भनेर सामाजिक सञ्जालमा बाढी आएपछि त्यसको भोलिपल्ट यस पार्टीको जन्म भएको हो।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार एक कानुन व्यवसायीको नक्कली प्रमाणपत्रलाई लिएर परेको मुद्दामा सुनुवाइ गर्ने क्रममा गत मे १५ का दिन भारतीय सर्वोच्च न्यायालयका प्रधान न्यायाधीश सूर्यकान्तले प्रतिवादीलाई लक्षित गर्दै भनेका थिए, “हाम्रो समाजमा व्यवस्थामाथि आक्रमण गर्ने ‘प्यारासाइटहरू’ (परजीवीहरू) छन्, तिमी पनि तिनैसँग मिल्न जान्छौ?” त्यस्तै, “यहाँ ‘कक्रोच’ (साङ्ला) जस्तो युवाजमात छ जसले न कुनै जागिर पाउँछ न कुनै व्यवसाय गर्छ। अनि उनीहरू कोही पत्रकार बन्न पुग्छन्, कोही सामाजिक सञ्जालमा पस्छन्, कोही सूचनाको अधिकारका लागि सक्रियतावादी बन्छन् र कोही अन्यखाले आन्दोलनकारी भएर हरेकमाथि आक्रमण गर्न थाल्छन्।”

प्रधान न्यायाधीशको उपरोक्त कथनलाई युवा विद्यार्थीहरूले आफूहरूमाथि गरिएको प्रहार सम्झे र व्यङ्ग्यात्मक रूपमा सामाजिक सञ्जालमा लेख्न थाले, “यदि सत्ताले युवालाई काकरोच ठान्छ भने ती काकरोचहरूले पनि आफ्नो आवाज उठाउनेछन्।” प्रधान न्यायाधीशले अपराह्नतिर बोलेको त्यो वचनले सामाजिक सञ्जालको माध्यमबाट रातभरमा संसार परिक्रमा गरिसक्छ।

दोस्रो दिन अर्थात् मे १६ बिहान बोस्टन युनिभर्सिटीमा सामाजिक सम्बन्ध विषय अध्ययनरत ३० वर्षे भारतीय युवा अभिजीत दिप्के एउटा डोमेन दर्ता गर्छन्, प्रतीक चिन्ह तयार गर्छन्, नारा तय गर्छन् र हस्ताक्षर आह्वान गर्दै एउटा लिङ्क अघि सार्छन्। तीन दिन नबित्दै १ लाख बढी युवा त्यसमा जोडिन्छन्। इन्स्टाग्राममा साढे पाँच लाख बढी फलोअर्स पुग्छन्। युवाहरूले ‘मैं भी ककरोच’ छापिएको टी-शर्ट लगाउन थाल्छन्। अनि सामाजिक सञ्जालमा “म पनि काकरोच हुँ” लेख्ने अभियानले गति लिन्छ। कतै देखिन थाल्छ, “देश का युवा अब डरेगा नहीं लडेगा”, “काकरोच डरते नहीं, कभी मरते भी नहीं।”

तृणमूल कांग्रेसका सांसदद्वय महुवा मोइत्रा र कीर्ति आजाद समेतले जेसीपीको सम्मानित सदस्यता स्वीकारेका छन् भने चर्चित वातावरण संरक्षण अभियन्ता सोनाम वाङ्चुकले पनि परिवर्तनकामी युवाहरूको यस संगठनलाई समर्थन र साथ दिइरहेका छन्।

काकरोच जनता पार्टी भारतको जेन-जी मुभमेन्टभन्दा अन्यथा हुँदैन यद्यपि यसमा अग्रपङ्क्तिमा मिलेनियल्स पनि छन्। जन्तर मन्तरमा प्रदर्शन हुँदै गर्दा धेरैलाई आशङ्का पनि थियो यो कतै बाङ्ग्लादेश या नेपालको जस्तो हिंसात्मक त हुँदैन? तर भएन, शान्तिपूर्ण रूपमा नै त्यो सम्पन्न भयो। अभिजीत स्वयंले त्यसलाई शान्तिपूर्ण बनाउन आह्वान गरेका थिए। उनले गान्धी, अम्बेडकर र भारत मातालाई सम्झेर अगाडि बढ्न आफ्ना साथीहरूलाई आह्वान गरेका थिए, फूल र संविधान लिएर आउन भनेका थिए। अभिजीतले भनेका थिए, भारतीय युवाहरू धेरै सचेत छन्, त्यसकारण हामीहरू संविधान र कानुन विपरीत कुनै क्रियाकलापमा संलग्न नभई परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलन गर्छौँ।

सीजेपीको प्रदर्शनमा प्रहरीले पनि संयमता देखायो। यसै पनि भारतमा प्रजातन्त्रको अभ्यास भएको आठ दशक पूरा हुन लागेको छ। त्यहाँ दिनहूँ अनेक थरिका प्रदर्शन र आन्दोलनहरू भइरहेका हुन्छन्। त्यहाँको प्रशासनिक संयन्त्र दक्ष र अनुभवी छ। तर समस्या त्यहाँ पनि राजनीतिक नेतृत्व हो। प्रदर्शनमा सहभागी कति विद्यार्थी र तिनका अभिभावक ब्यानर सहित फूलका गुच्छा लिएर सहभागी भएका थिए।

एक पत्रिकासँगको अन्तर्वार्तामा अभिजीतले भनेका छन्, युवा र बेरोजगारहरूलाई हियाएर काकरोच भनेको सुनेर व्यङ्ग्यात्मक रूपमा मैले पनि “काकरोचजति एक ठाउँ भेला हौँ न त” भनेर सामाजिक प्लेटफर्म एक्समा राखेको थिएँ। यति विशाल साथ र समर्थन होला भन्ने मलाई लागेकै थिएन। भनिन्छ भारतमा २५ वर्ष मुनिका ४० प्रतिशत स्नातक बेरोजगार छन्। काकरोच पार्टीको मूलतः सुशासनको माग गर्ने यस अभियानलाई भारतका सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूले पनि साथ दिइरहेका छन्।

भनिन्छ भारतमा उच्च शिक्षामा राज्यले जति लगानी गर्छ त्योभन्दा बढी त्यहाँ प्राइभेट ट्युसनमा लगानी हुन्छ। भारतमा आफ्ना छोराछोरीलाई डाक्टर बनाउन आमाबाबुहरूले उनीहरूको प्रवेश परीक्षाको तयारीका लागि ठूलो लगानी गरेका हुन्छन्। यस्तो परीक्षामा धाँधली हुँदा मेधावी विद्यार्थीहरू पछि पर्दछन् र उनीहरूमा असन्तुष्टि चुलिन्छ।

यस वर्षको मेडिकल प्रवेश परीक्षामा एक लाख ३० हजार सिटमा २० लाख विद्यार्थी प्रतिस्पर्धामा थिए। पछिल्लो पटक पनि छनोट परीक्षामा धाँधली भएको आरोप लाग्यो। केन्द्रीय शिक्षा मन्त्री प्रधानले धाँधली भएको छैन भनेर अडान लिए तर धाँधलीका प्रमाणहरू फेला परेपछि पुनः परीक्षा लिइने भयो। त्यसैले अनियमितताको केन्द्रमा मन्त्री प्रधान देखिन पुगे। उनको राजीनामाको मागको कारण यही हो।

दिल्लीमा प्रदर्शन गर्दाताका सीजेपीका इन्स्टाग्राम फलोअर्स २२ मिलियन रहेको बताइएको थियो। यस्तो सङ्ख्या सत्तारुढ भारतीय जनता पार्टीको ९ मिलियन र भारतीय कांग्रेस पार्टीको १३ मिलियन रहेको बताइन्छ। यस दलका नेता अभिजीत सन् २०२०-२०२३ मा आम आदमी पार्टीमा आबद्ध थिए र उनी सामाजिक सञ्जाल व्यवस्थापनको काम हेर्थे।

सीजेपीको घोषणापत्रमा सेवा निवृत्त प्रधान न्यायाधीशलाई राज्य सभामा लान नहुने, निर्वाचन आयोगलाई पनि गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम लागू हुनुपर्ने, मतपत्रमा केरमेट भएको पाइएमा सम्बन्धित कर्मचारीलाई तत्काल समयबद्ध कारबाही प्रक्रिया अपनाइनुपर्ने, महिला आरक्षण बढाएर ५५ प्रतिशत पार्नुपर्ने र आगामी दिनमा पञ्चायत, नगरपालिका र राज्य सभाको चुनावमा सहभागी हुने युवाहरूका लागि राजनीति तथा नागरिक सचेतना कार्यक्रम ल्याइनुपर्ने कुरा समावेश गरिएको छ।

जन्तर मन्तरमा आयोजित पहिलो विरोध प्रदर्शनलाई सम्बोधन गर्न अभिजीत दिप्के त्यही दिन बिहान अमेरिकाबाट जहाजमा सोझै दिल्ली ओर्लिएका थिए। साङ्ला आकृतिको मुखन्डो लगाएर सभामा सहभागी भएका हजारौँको सङ्ख्याका सहभागीलाई सम्बोधन गर्दै उनले भने, म यहाँ आउने कुरा सुनेर मेरी आमा रुन थाल्नुभयो। मलाई गिरफ्तार गरिन्छ भन्ने भय थियो वहाँलाई। मेरी आमा मात्रै होइन विपक्षी राजनीतिमा चासो राख्ने हरेक भारतीय युवाका आमाहरूमा यस्तै पिर छ।

(विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीमा आधारित।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *