चिया निर्यातमा भारतीय अवरोध: कूटनीतिक पहल गर्न सरकारसँग माग

इलाम । भारतीय बजारमा नेपाली चियाको बिक्री तथा वितरणमा उत्पन्न पछिल्लो अवरोधप्रति इलामबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ्ग नेम्बाङ्गले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चियाको बजार अवरुद्ध हुँदा किसानको आम्दानी मात्र नरोकिई उनीहरूको सम्पूर्ण जीवनचक्र नै संकटमा परेको उल्लेख गरेका छन् ।

भारतीय अवरोधका कारण इलामको सूर्योदय क्षेत्रका ५३ चिया उद्योगले उत्पादित चिया बिक्री गर्न नसकेको, गोदाम भरिएको र किसानलाई हरियो पत्तीको भुक्तानी दिन कठिन भएपछि असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९९५ किसान चिया खेतीमा आबद्ध छन्, जहाँ वार्षिक करिब दुई करोड किलो हरियो पत्ती उत्पादन हुन्छ । उद्योगीहरूका अनुसार अहिले तीन लाख किलोभन्दा बढी चिया भारतीय गोदाममा रोकिएको छ भने सात लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगहरूमा थन्किएको छ ।

सांसद नेम्बाङ्गले भारतीय चिया बोर्डको १९ मे २०२६ को संशोधित व्यवस्था अनुसार प्रयोगशालाको प्रतिवेदन पाँच दिनभित्र उपलब्ध गराउनुपर्ने र भारतभित्र बिक्री हुने चियामा भन्सार तथा खाद्य सुरक्षा निकायले जोखिममा आधारित नमुना परीक्षण गर्ने उल्लेख भए पनि व्यवहारमा हप्तौँसम्म प्रतिवेदन नआउने र बिक्री रोक्ने काम भइरहेको बताए । यो अवस्था औपचारिक व्यवस्था र कार्यान्वयनबीचको गम्भीर अन्तर भएको उनको भनाइ छ ।

चिया क्षेत्रमा देखिएको यो संकट समाधानका लागि उनले सरकारसँग पाँच बुँदे माग समेत राखेका छन् । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चियाको निकास खोल्नुपर्ने उनको पहिलो माग छ । त्यस्तै, भारतीय गोदाममा रोकिएका चियालाई प्राथमिकताका साथ परीक्षण गरी तत्काल बिक्री अनुमति दिलाउन र उद्योगीहरूलाई अतिरिक्त खर्चबाट जोगाउन उनले आग्रह गरे ।

नेपालका मान्यताप्राप्त प्रयोगशालाको प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेगरी पारस्परिक मान्यता र संयुक्त परीक्षण प्रोटोकल कायम गर्नुपर्नेमा उनले जोड दिए । प्रभावित उद्योगलाई आकस्मिक सहुलियतपूर्ण चालु पुँजी र ब्याज राहत दिएर किसानको भुक्तानी सुनिश्चित गर्नुपर्ने माग गर्दै उनले पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त चिया परीक्षण प्रयोगशाला स्थापना गर्न र चीन, मध्यपूर्व, युरोप जस्ता वैकल्पिक बजार विस्तारलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । चियाको पातले प्रशासनिक र कूटनीतिक प्रक्रिया नपर्खने भन्दै उनले सरकारबाट तत्काल परिणाममुखी हस्तक्षेपको अपेक्षा गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *