संसदमा प्रधानमन्त्रीको खोजी
काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै सांसदहरूले सरकारसँग स्पष्ट जवाफ मागेका छन्। बैठकमा सांसदहरूले प्रधानमन्त्रीको उक्त धारणा संसद्को रेकर्डबाट हटाउन पुनः जोडदार माग गरे।
नेकपाका सांसद प्रमेश हमालले जेठ १७ गतेको बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए। नेपालले भारतको भूमि मिचेको छ भन्ने जस्तो गम्भीर विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे संसद्मा चर्चा गर्दै उनले विरोध मात्र गरेर नपुग्ने उल्लेख गरे। यस्ता संवेदनशील विषयमा संसद्मा बारम्बार उही शैली दोहोरिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
सांसद हमालले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुराकानी भएको छ कि छैन भन्दै संसद्मा प्रश्न गरे। उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग जोडिएका विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा बिनाअनुमति हेलिकप्टर उडेको र नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उनले बैठकमा उठाए।
यस्तै नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले विगतमा केटाकेटीलाई ललिपप देखाएजस्तो परराष्ट्रमन्त्रीले बोलेर मात्र नहुने टिप्पणी गरिन्। प्रधानमन्त्रीको यति गम्भीर अभिव्यक्तिबारे मन्त्रीले जवाफ दिएर मात्र नपुग्ने उनको तर्क थियो।
यसैगरी एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको उक्त गैरजिम्मेवार अभिव्यक्तिलाई संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग गरिन्।
