सरकारका गतिविधिप्रति चिन्ता, असार ५ को र्‍यालीलाई ऐक्यबद्धता

काठमाडौँ। शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै पापडले वर्तमान शासन सञ्चालनको शैलीले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण जस्ता आधारभूत मूल्य–मान्यतालाई कमजोर बनाउने प्रयास भइरहेको जनाएको छ।

लोकतन्त्र निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र नागरिक स्वतन्त्रतामा आधारित प्रणाली भएको पापडले स्मरण गराएको छ। राज्यका सबै अङ्गलाई यसको सम्मान गर्न आग्रह गर्दै पापडले पछिल्लो समय सुकुम्बासी बस्ती जबर्जस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथिको हस्तक्षेप, संसद्को प्रभावकारी भूमिका खुम्च्याउने प्रवृत्ति तथा नागरिक अधिकार सङ्कुचित गर्ने प्रयासप्रति असन्तुष्टि जनाएको छ।

त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि आघात पुग्ने गरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रयास, संविधानप्रदत्त पेसागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामा हस्तक्षेप तथा शिक्षा र स्वास्थ्य क्षेत्रप्रतिको नीतिगत अस्पष्टताप्रति पनि पापडले विरोध जनाएको छ। नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्दै लोकतान्त्रिक मूल्य-मान्यता र संस्थागत सन्तुलनको रक्षा गर्न सरकारसँग माग गरिएको छ।

लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेसागत सङ्गठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन पापडले आह्वान गरेको छ। यसैक्रममा नागरिक अधिकार खुम्च्याउने तथा प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासङ्घले असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आयोजना गर्ने विरोध र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। उक्त र्‍यालीमा सक्रिय सहभागी हुन सबै सरोकारवालाहरूलाई आह्वान समेत गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *