शिक्षा विधेयकमा आज पनि छलफल गर्दै संसदीय समिति
काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिन सक्रिय बनेको संसदीय समितिले आज शनिबार पनि यसमा छलफल गर्दैछ । विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदबीच छलफल हुने भएको हो ।
विधेयकका कतिपय विषयमा दलहरूबीच सहमति जुटिसकेको भए पनि केही विषयमा सहमति बनिसकेको छैन । यसैका लागि छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।
आन्दोलनकारी शिक्षक-कर्मचारीसँग असार १५ गतेभित्र विधेयक ल्याउने सहमति गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि विधेयकमा सहमति जुटाउन सक्रिय छन् ।
विवादमा रहँदै आएको बुँदा प्रारम्भिक बालविकास दुई वर्षे बनाउनेमा सहमति जुटिसकेको छ । बालविकास कक्षामा पढाउने कार्यकर्तालाई शिक्षकको रुपमा मान्यता दिने किन नदिने भन्ने विषय टुंगिसकेको छैन ।
निजी विद्यालयहरूलाई क्रमशः लोककल्याणकारी र सेवामूलक बनाउँदै लैजाने विषयमा पनि सहमति भएको छ । विधेयकमाथि छलफल गरी संसदीय उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सहमतिविपरीत विषय समेटिएको भन्दै नेपाल शिक्षक महासंघलगायत संस्थाहरूले विरोध गरेका थिए ।
शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राखेर लामो समयदेखि शिक्षक र कर्मचारी आन्दोलित थिए । गत चैत मध्यबाट उनीहरुले करिब एक महिना लामो काठमाडौं केन्द्रित सडक प्रदर्शन गरेका थिए ।
शैक्षिक हडताल समेत आह्वान गरेका उनीहरूसँग वार्ता गरी सरकारले माग पूरा गर्ने सहमति गरेको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदमा पारित गर्नुपर्ने छ ।
