‘जीपीए बढी ल्याउनु सबै कुरा प्राप्त गर्नु होइन’
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै धेरैको चासो हुने नै भयो । नतिजामा कतिपय विद्यार्थीले बढी अंक ल्याउँछन्, कतिले अलि कम । मेहनत सबैले गरेकै हुन्छ ।
पोहोरको भन्दा यसपालि नजितामा सुधार भएको देखिएको छ । यसमा धेरैले धेरै खालका प्रतिक्रिया दिइरहेका छन् । प्रधानमन्त्रीदेखि शिक्षक, अभिभावक, विद्यार्थी लगायतले फरक फरक खाले प्रतिक्रिया दिइरहेका छन् ।
सबैजसोले सफल हुनेहरुलाई बधाई दिंदै उल्लेख्य अंक ल्याउन नसकेकाहरुलाई सान्त्वना समेत दिएका छन् । यहाँ केही प्रतिक्रियाहरु समेटिएको छ ।
सोम निरौला आफ्नो फेसबुक पेजमा लेख्छन्–
‘परीक्षा सञ्चालन हुनु र नतिजा प्रकाशन गरिनु सामान्य कुराहरु हुन् । जीपीए घटीबढी हुन सक्छ । बढी जीपीए ल्याउनु भनेको सबै कुरा प्राप्त गर्नु होइन । एउटा नतिजामा ननग्रेडेड विद्यार्थीहरु अरु नतिजामा उत्कृष्ट हुन पनि सक्छन् । नतिजा राम्रो भए नहौसिइ र कमजोर भए नआत्तिइ थप मेहनत गर्न एसईई दिएका भाइ बहिनीहरुलाई अनुरोध छ ।
एसईई ग्रेड (जीपीए) केही हो, सबै होइन भन्दै निस्कल राई लेख्छन्, ‘जीवन उपयोगी सीप बिनाको शैक्षिक उपलब्धि गौण हुन्छन् । लक्ष्य निर्धारण गरी अघि बढ्नुहोस् । सबैलाई बधाई तथा शुभकामना ।’
जीवन पाण्डे सामाजिक सञ्जालमा लेख्छन्, ‘धेरै नम्बर ल्याउने अरुका छोराछोरीको नतिजा देखेर आफ्ना सन्तानलाई ख्यापख्याप नपारौं । धेरै नम्बर ल्याउँदैमा उपरखुट्टी लगाएर खान पाइँदैन । थोरै ल्याउँदैमा भोकै भइन्न । जिल्ला, क्षेत्र या बोर्ड टपेर कालान्तरमा त्यही नम्बरको बोझले थिचिइ डल्लो परेका मान्छे हाम्रो वरिपरी छन् । त्यसैले सन्तानले धेरै नम्बर ल्याइदिएको भए हुन्थ्यो भनेर कल्यिै नसुनाऔं । सकेसम्म सामाजिक सञ्जालमा पनि ग्रेड नलेखी बधाई दिऔं । नम्बरभन्दा महत्वपूर्ण कुरा हो– उनीहरूको जीवनको यो लामो दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् । सन्तानलाई नम्बर ल्याउने यन्त्र होइन, असल मान्छे बन्न सिकाऔं, भोकको अर्थ र श्रमिको महत्व सिकाऔं । यति सिके भने बुढेसकालमा तपाईंहरु जत्ति सन्तोषी कोही हुन्न ।’
एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता सुजनले परीक्षार्थीलाई बधाई र शुभकामनाका साथै सन्देशमूलक धारणा सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रिय एसईई उत्तीर्ण विद्यार्थीहरु, हार्दिक बधाई । तपाईंहरुको निरन्तर मेहनत, समर्पण र लगनले आज यहाँसम्म ल्याएको छ । एसईई पास गर्नु भनेको शैक्षिक भविष्यको अर्को नयाँ अध्यायको सुरुवात हो । स्मरण रहोस्– भविष्य ग्रेडले हैन, तपाईंको इमान्दर प्रयास, सकारात्मक सोच र व्यवहारले निर्माण हुन्छ । जीपीए तपाईंको क्षमतालाई देखाउने एउटा माध्यम मात्र हो, जीवनमा सफल हुन मानवीय मूल्य, मेहनत र निरन्तरता चाहिन्छ । अब समय आएको छ, आफ्नो लक्ष्यलाई अझ स्पष्ट बनाउने । र, आँटका साथ अघि बढ्ने । शुभकामना छ, तपाईंहरुको जीवन सुन्दर, सफल र प्रेरणादायी बनोस् । असल मानिस बन्न सक्नुहोस् । शुभकामना ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार साँझ नतिजा सार्वजनिक भएलगत्तै विद्यार्थीलाई बधाई दिंदै आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको धारणाप्रति धेरैले नकारात्मक अनि कतिपयले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
उनको फेसबुक पोस्टमा यो समाचार तयार पार्दासम्म ८ हजारभन्दा बढीले फरक फरक ‘रियाक्ट’ गरेका छन् भने करिब दुई हजारले प्रतिक्रिया लेखेका छन् ।
प्रधानमन्त्री ओलीले ‘आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको’ भनेका छन् । उनले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गत वर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्काे दिन पनि आउने छ । ’
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ छ ।
बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।
यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।
