कति विद्यार्थीले ल्याए ४ जीपीए ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसपालि कति जनाले चार जीपीए ल्याए भन्ने यकिन हुन बाँकी छ । प्रकाशित नतिजाको विश्लेषणपछि यसबारे यकिन हुने जनाइएको छ ।
समग्रमा नतिजा सार्वजनिक गरिए पनि चार जीपीए ल्याउने विद्यार्थीको संख्या भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । हाल आएको नतिजाको विश्लेषणपछि संख्या यकिन हुने राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ ।*
शुक्रबार साँझ सार्वजनिक नतिजा अनुसार जीपीए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन् । यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन् ।
यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ ।
यसपालि सबैभन्दा बढी गणित विषयमा फेल (एनजी) भएको पाइएको छ । बोर्डका अनुसार १ लाख २८ हजार २१५ जना (२६ प्रतिशत) गणितमा फेल भएका छन् । यसैगरी, विज्ञानमा ७९ हजार २७१, अंग्रेजी विषयमा ८० हजार १७२, सामाजिकमा ४७ हजार २७१ विद्यार्थी फेल भएका छन्।
*यसअघि चार जीपीएको संख्या अन्यथा हुन गएकाले सच्याइएको छ । -सं.
