हाम्रो मेहनतले एसईई नतिजामा सुधार : प्रधानमन्त्री
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको’ बताएका छन् । नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् यस्तो जनाएका हुन् ।
उनले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गत वर्ष ४७.८६५ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्काे दिन पनि आउने छ । ’
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ छ ।
बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।
यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।
एसईईमा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुने प्रधानमन्त्रीको अनुमान
