‘शिक्षक आन्दोलनप्रति झाँक्रीको टिप्पणी पार्टी नीतिविपरीत’
काठमाडौं। नेकपा एकीकृत समाजवादीले शिक्षकको आन्दोलनप्रति आफ्नै नेतृ रामकुमारी झाँक्रीले गरेको टिप्पणीको खण्डन गरेको छ। पार्टी प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले झाँक्रीको अभिव्यक्ति पार्टीको नीतिविपरीत रहेको बताएका हुन्।
‘पार्टी शिक्षक आन्दोलनको पक्षमा छ। बेलैमा ऐन आउनुपर्छ भन्ने हो’, उनले भने, ‘उहाँ (झाँक्री) को अभिव्यक्ति पार्टीको नीतिविपरीत भयो।’
२०२८ सालमा आएको ऐनले शिक्षा क्षेत्र नचल्ने भन्दै पटकपटक भएका सम्झौता कार्यान्वयन गर्ने र वार्ताबाट समस्याको समास्याको समाधान गर्न सरकारसँग आफूहरूको माग रहेको ज्वालाले बताए।
झाँक्रीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘अबचाहिँ शिक्षकहरूको रमिता बढी भयो’ ‘अबचाहिँ शिक्षकहरूको रमिता बढी भयो’ भनेकी थिइन्। उनको अभिव्यक्तिप्रति शिक्षकहरूले आलोचना गर्दै आइरहेका छन्।
झाँक्रीले लेखेकी थिइन्, ‘शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनुपर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुर्याउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे। शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?’
