आन्दोलनको मोर्चाबाट रामकुमारी झाँक्रीलाई पत्र

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीकै नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई ‘रमिता बढी भयो’ भनेकी छन्। उनको यो टिप्पणीलाई आन्दोलनरत् शिक्षकहरू मात्र होइन तटस्थ रहेकाहरूले पनि राम्रो मानेका छैनन्।

उनी स्वयं अनेक आन्दोलनमा सहभागी भएर ‘रामकुमारी झाँक्री’ बनेको भनेर धेरैले टिप्पणी गरिरहेका छन्। कुनै पनि जायज माग सरकार र सत्ताले सजिलै दिंदैन भन्दै कतिपयले उनको विगतको आन्दोलन सहभागिता सम्झाउँदै त्यस्तो टिप्पणी सुहाउँदो नभएको भनिरहेका छन्।

यसै मेसोमा शिक्षक–कर्मचारी आन्दोलनमा सक्रिय शिक्षक विश्व सिंह मेवाहाङले झाँक्रीलाई केही जिज्ञासा सहित जवाफ लेखेका छन्।

मेवाहाङ लेख्छन्–

आदरणीय रामकुमारी झाँक्री दिदी
सादर नमस्कार।

शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर ‘रमिता’ भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु। मेरा केही कन्फ्युजन निम्न बमोजिम छन्।

-तपाईले २०६० को दशकमा टाउकोमा फेटा बाँधेर सडक पेटीको रेलिङ भाँच्दै राज्यसत्ताविरुद्ध ढुंगा हानिरहँदा त्यो बेलाका शासकहरुले पनि तपाईंलाई ‘के रमिता देखाएको’ भन्थे। त्यो साँच्चै रमिता थियो कि आन्दोलन?

-२०७७ सालमा आफ्नै पार्टीको अध्यक्षको विरुद्धमा मुखमा टेप बाँधेर हिन्दी फिल्मी शैलीमा मञ्चमा इन्ट्री गर्दा तपाईंलाई तपाईंकै अध्यक्षले ‘रमिता देखाउने केटी’ भनेका थिए। त्यो साँच्चै रमिता थियो कि विद्रोह?

-२०७८ सालमा मन्त्री पदबाट चिप्लिँदा पत्रकार सम्मेलनमै क्वाँक्वाँ रुनुभएको थियो। धेरैले ‘के रमिता देखाएको होला’ भनेर टिप्पणी गरेका थिए। त्यो साँच्चै रमिता थियो कि देशप्रतिको जिम्मेवारीबोध?

अब हाम्रो आन्दोलनको रमिताको बारेमा केही बोलौं है त। हामीले १८ औँ दिनसम्म निरन्तर आन्दोलन गरिरहेका छौँ। आन्दोलनमा कोही गीत गाइरहेका छन्, कोही नाचिरहेका छन्, कोही जादु देखाइरहेका छन्, कोही टिकटक बनाइरहेका छन्। यी सानातिना क्रियाकलापलाई रमिता भन्नुहुन्छ भने त्यो पनि स्वीकार छ। तर हामीले त जम्मा १८ दिन भो रमिता देखाएको, तपाईंहरुले कति वर्ष भो रमिता देखाएको यो देशमा? तपाईंहरुको रमिता हेर्न नसकेर प्रत्येक दिन ३ हजारभन्दा बढी युवाले देश छाड्ने गरेको देख्नु भएको छ?

हाम्रो रमिता के को लागि हो भनेर तपाईं जत्तिको राजनीतिज्ञले बुझ्न सक्नु भएन भने अरु नेताले के बुझ्लान्। तपाईंहरु आफैंले लेखेको संविधानमा तीन वर्षभित्र आवश्यक सम्पूर्ण कानुन निर्माण गरिसक्ने भन्ने बाध्यकारी प्रावधान उल्लेख गरिएको छ। दस वर्ष बितिसक्दा पनि एउटा शिक्षा ऐन बनाउन नसक्नुमा आत्मग्लानि हुँदैन? तपाई आफू एक चोटि सांसद हुँदा र एकचोटि मन्त्री हुँदा शिक्षा ऐन निर्माणको लागि के के भूमिका खेल्नु भयो भन्ने हेक्का छ?

मलाई लाग्थ्यो, तपाईं विद्यार्थी राजनीतिबाट आएको हुनाले नेपाली शिक्षा क्षेत्रको सम्पूर्ण समस्या, विकृति, विसंगति राम्ररी बुझ्नु हुन्छ। यसको निराकरणको लागि कस्तो कानुन बनाउने भन्नेबारे तपाईंबाट गम्भीर सुझाबहरु आउनु पर्थ्यो। तर तपाईं पनि शासक भइसक्नु भएछ। आदेश दिन थाल्नु भयो। आदेश दिनु शासकहरुको विश्वव्यापी विषेशता हो। शासकहरुले समस्या सुल्झाउँदैन, बल्झाउँछ मात्र।

र, अन्त्यमा दिदी,

आफूले गरेका हरेक आन्दोलन आफ्नो लागि गौरवपूर्ण हुन्छ। तपाईं आफूले २०५० सालदेखि अहिलेसम्म गरेका आन्दोलनहरु सम्झेर ल्याउनु्स त, के ती आन्दोलनहरु तपाईंका लागि गौरवपूर्ण छैनन्? कि तपाईंलाई आफूले गरेको आन्दोलनप्रति घृणा र पश्चाताप छ? हामी शिक्षकहरुले २०३६ सालदेखि निरन्तर आन्दोलन गरिरहेका छौं। आन्दोलनबाटै प्राप्त उपलब्धिको कारण हामी नेपाली शिक्षकहरु यतिको हैसियतमा छौं। हाम्रो आन्दोलनलाई तपाईं रमिता भन्नुस् या तमासा, हाम्रो आन्दोलन हाम्रो लागि गौरवपूर्ण छ। आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नु मानसिक स्खलनबाहेक केही होइन। आगे उप्रान्त तपाईंको जय होस्।

झाँक्रीले भनिन्, ‘शिक्षकहरूको रमिता बढी भयो’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *