‘…तिर्खा पँधेरोमा छटपटाइरहेको हुन्छ’
छोडिजानेहरूका रहर बढी हुँदो हो
छोडिजानेहरूको सहर अर्कै हुँदो हो
लाग्छ दुख्ने कुनै अवयव हुँदैन
बिदाइमा हत हल्लाए जस्तै
हल्लिँदैन मन उसको
जुन दिन हल्लिन्छ मन
र रिक्तताको आभासले
भतभती पोल्न थाल्छ
त्यतिबेला एउटा चिसो सम्झनाले
तिम्रै आँखाअघि आत्महत्या गर्नेछ ।
इलामेली कवि विमल वैद्यका ‘छुटेर जानेहरू’ कविताको एक कवितांश हो यो । हेटौँडामा आयोजित कार्यक्रममा कवि वैद्यको ‘युगको तटमा उभिएर’ कविता सङ्ग्रहमा सङ्ग्रहित उक्त कवितासहित नयाँ कविताहरू वाचन गरियो । ‘गोप्य कोठा’ कवितामार्फत् ‘कामको अभिलेख नरहने, मानिसहरूको भीड वर्जित हुने र नियम अनि कानुनहरू निषेधित हुने’ बताउने कवि वैद्य ‘स्कुल जाने छोरालाई’ कवितामार्फत् वर्तमान व्यवस्थाको तीतो यथार्थ यसरी व्यक्त गर्छन् ।
‘एउटा प्राविधिक स्तरहीन निर्माणको
फर्जी बिल पास गर्छ
र केही दिनमैं पुल र पर्खाल भत्किन्छन्
कानुन पढेका वकिल
रुपैयाँका लागि दाहिने हातले वादी लेख्छन्
र देब्रे हातले प्रतिवादी खाप्छन्
उपचार गर्ने डाक्टर
अस्पतालमा निःशुल्क पाइने दबाई नलेखेर पुर्जामा
नजिकैको मेडिकलबाट कमिसन खान्छ
शिक्षक स्कुलमा नपढाएर
कुनै राजनीतिक दलको झोले बनेर हिँड्छ
इमानको बाटोमा हिँड्न नसक्ने हो भने
छोरा, पढेर केही हुन्न
तिमी स्कुल नगए हुन्छ ।’
कविता वाचनका क्रममा वैद्यले राजनैतिक विचार जे भए पनि कविता लेखनमा नारा र भाषणलाई लेखेर कविताको महत्व घटाउन नहुने बताए । वाचन गर्दैगर्दा उनले केही कविताका रचनागर्भबारे पनि चर्चा गरे । कार्यक्रममा वैद्यले फागुनको मौसम, ननफिक्सन प्रेम, स्कुल जाने छोरालाई, छुटेर जानेहरू, दाहिने खल्तीको पर्स लगायतका कविताहरू सुनाए ।
इलामेली चर्चित हास्यव्यङ्ग्य सर्जक विष्णु नवीनका समाजप्रतिको विद्रोहका प्रसङ्ग उठाउँदै आफ्नो सङ्ग्रहबाट ‘म उही विष्णु नवीन हुँ’ कविता वाचन गर्ने क्रममा वैद्यले भने, ‘विष्णु नवीन इलामका अत्यन्त सचेत कवि भएको र उहाँले आफू जीवित रहुञ्जेल समाज र समाजका विद्यमान धारणाप्रति विमति राख्दै त्यसका विपक्षमा चेतनास्वरूप निरन्तर लेखन र व्यवहारिक पाटोबाट व्यङ्ग्य गरिरहनु भयो ।’
किताबघर हेटौँडाद्वारा आयोजित कार्यक्रममा साहित्यकारद्वय निमेष निखिल र शान्ति प्रियवन्दनाले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा निखिलले वैद्यका कविता पढेर कविता लेख्ने आफ्नो पुस्ताले उहाँको लेखनबाट प्रजातान्त्रिक धारका प्रगतिशील कविताका रूपमा आफूले बुझेको र चेतनशील व्यक्तिले समाजमा घट्ने अस्वाभाविक घटनाप्रति ‘मान्छे’ लाई केन्द्रविन्दु बनाएर कविता लेख्नु कविको शक्ति भएको बताए ।
जीवनयात्राका क्रममा आउने प्रेमविछोड, संयोगवियोगका विषयहरू कवितामा आउनु स्वभाविक हुँदाहुँदै आफ्नै कविताको बाटो बनाएर चार दशकदेखि यात्रारत कवि वैद्यको आगामी यात्राको लागि शुभकामना व्यक्त गरे ।
वैद्यका कविता तथा सङ्ग्रहप्रति आफ्नो धारणा राख्दै वैद्यका कविता सबैखाले वादबाट अलग रहनुका साथसाथै मानवीय संवेदना र प्रवृत्तिलाई उजागर गरेको प्रियवन्दनाको भनाइ थियो ।
उनले आमा, माटो, प्रेम, सम्मान, संस्कृति र दर्शन अनि इतिहासजस्ता जीवन्त विषयलाई कविताले टपक्क टिपेको मात्र नभइ सामान्य र सरल शब्दको प्रयोगबाट वैद्यका कविताले श्रमिकहरूको भोक र विद्रोहसमेत ओकलेको हुँदाहुँदै नारीवादी दृष्टिले भने कमजोर रहेको बताइन् ।
साहित्य सर्जक, साहित्यसेवी, पत्रकार तथा पाठक स्रोता सहभागी कार्यक्रम थर्ड आइ एजुकेसनल सेन्टर प्राइभेट लिमिटेडको सहयोगमा आयोजना गरिएको कार्यक्रमका सहजकर्ता तथा किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए ।
