विमल वैद्यको ‘युगको तटमा उभिएर’ लोकार्पण

काठमाडौं । इलाममा बसेर साहित्य सिर्जनामा सक्रिय विमल बैद्यको कवितासंग्रह ‘युगको तटमा उभिएर’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।

कवि एवम संस्कृतिविद तुलसी दिवस, गीतकार एवम निवन्धकार गणेश रसिक साथै कवि महेश पौड्याल र मोमिलाले संयुक्त रुपमा कवितासंग्रहको लोकार्पण गरेका हुन् ।

पेज ट्रनर प्रालिले प्रकाशनमा ल्याएको संग्रह लोकार्पण समारोहमा साहित्यकारहरु राजेन्द्र सलभ, ब्रजेश खनाल, स्नेह सायमी र प्रज्वल अधिकारीले वैद्यले सिर्जना गरेका कविताहरु बाचन गरे ।

समारोहमा संग्रहमाथि समीक्षा गर्दै कवि महेश पौडयाल र मोमिलाले वैद्यको साहित्य सिर्जनाको प्रशंसा गरे ।

कवि एवम संस्कृतिविद तुलसी दिवसले कविता लेखेर केही हुँदैन भन्नेहरुलाई वैद्यको सिर्जनाले नयाँ सन्देश दिन चाहेको बताए । उनले भने,‘कविता लेख्न आग्रह गर्दैमा लेख्ने होइन् । लेख्नुपर्ने स्थितिमा लेख्नुपर्छ । हिजोकाले के लेखे भन्दापनि आज लेख्नुपर्ने के हो भन्नेबारे बुझ्नुपर्छ, ।’

कविता लेखेकै आधारमा आफूले ८३ देशको भ्रमण गरेको सुनाउँदै दिवसले विमलले आफू बाँचेको जीवन लेखेको र विद्रोहको रुपमा उठाउने प्रयास गरेको भन्दै प्रशंसा गरे ।

कवि वैद्यले आफ्नो सिर्जनामा मान्छेको जीवन र समकालीन अवस्थालाई नाङ्गो बनाउन नसक्ने उल्लेख गर्दै लेखनमा शब्द थुपारेर मात्र नभइ कलात्मक बनाउन चाहेको बताए । ‘म प्रेमका बारेमा लेख्दा घर परिवार सबैले पढ्न सक्ने बनाउने प्रयास गर्छु । नाङ्गो बनाउन सक्दिन । कलात्मक मनाउने प्रयास गर्छु,’उनले भने ।

३८ वटा कविता समावेश गरिएको संग्रह वैद्यको चौथो कविता कृति हो । समारोहमा गीतकार एवम निबन्धकार रसिक, बरिष्ठ पत्रकार किशोर नेपाललगायतले वैद्यको साहित्य सिर्जनाको प्रशंसा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *