दीपेन्द्रको दसैँ कोसेली : ‘फर्किन्छु यसपालि’

काठमाडौँ । व्यावसायिक कामको व्यस्त दैनिकीबाट फुर्सद निकालेर केही नयाँ सिर्जना गरिरहन मन पराउने पोखरेली सर्जक दीपेन्द्र अधिकारीले दर्शक र स्रोतका लागि दसैँ कोसेलीका रुपमा ‘फर्किन्छु यसपालि’ पस्किएका छन् । यसअघि तयार भएको यो गीतलाई दसैँको छेको पारेर उत्कृष्ट संयोजन सहितको म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन् ।

जापान बस्दै आएका अधिकारीले परदेशमा रहेका युवाहरुको भावनालाई टपक्कै टिपेर प्रभावशाली गीत सिर्जना गरेका हुन् । उक्त गीतलाई म्युजिक भिडियोको स्वरुप दिने क्रममा कलाकारहरुले पनि उत्कृष्ट अभिनय गरेका छन् ।

एउटा सिंगो कथा बोल्ने ‘फर्किन्छु यसपालि’ लाई कलाकारहरुले न्याय गरेका छन् । गम्भीर अभिनयले चिनिएका लोकप्रिय कलाकार प्रकाश घिमिरेसहित तेज गिरी, मधु क्षेत्री, प्रमिला तुलाचन, विनोद नेपाली र सुमन कार्कीको सशक्त अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ ।

परदेशमा चाडबाडको रमझम, गाउँघरमा आमाबाबुको छटपटी, कामको चाप जस्ता बाध्यताका बीच परिवारको सुखका लागि परदेशिएका युवाहरुको कथा–व्यथा गीतमा समेटिएको छ ।

अधिकारीको रचना, साहस शाक्यको संगीत र स्वर तथा एरेन्ज रहेको ‘फर्किन्छु यसपालि’ डिए क्रिएसनबाट सार्वजनिक गरिएको हो । गीतको मिक्सिङ सुदेस्ना इन्टरटेनमेन्ट एण्ड अकाउस्टिक नेपाल र मास्टरिङ चन्द्र चौधरीको छ ।

म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । यस्तै, डिओपी अनुप गुरुङ, सम्पादन नहकुल खड्का, श्रृङ्गार जय गुरुङ तथा पोष्ट प्रोडक्सनको काम नताशा क्रिएसनको छ ।

जुनसुकै भूगोलमा भए पनि आखिर यो मन त नेपाली हो भन्ने भावनाले ओतप्रोत भएका सर्जक अधिकारीले संसारको जुनसुकै कुनामा रहे पनि नेपालीको समान कथा र व्यथा हुने भएकाले त्यसलाई प्रतिबिम्वित गर्ने क्रममा यो सिर्जना भएको बताए ।

कहिले प्रकृति र मानवको सम्बन्ध, कहिले विदेशमा रोजगाररत नेपाली युवाका कथा अनि कहिले संस्मरणात्मक लेख लेखिरहने अधिकारीले सामाजिक विसंगति र राजनीतिक विकृतिबारे पनि कलम चलाउँदै आएका छन् ।

लामो समयदेखि जापान बसेर नेपाली संस्कृति, गीत, संगीत अनि मौलिक परम्पराबारे कलम चलाइरहेका पोखराका अधिकारीले केहीअघि ‘जीवनको रेल’ सार्वजनिक गरेका थिए । त्यसअघि ‘मनमोहक पोखरा’ बोलको गीति भिडियो बनाएका अधिकारीले त्यसपछि मामा भान्जीको आदर र स्नेहपूर्ण सम्बन्धबारे सन्देशमूलक गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरेका थिए ।

‘मनमोहक पोखरा’ गीतमा पर्यटकीय महत्व, प्राकृतिक सुन्दरता, पाहुनाको स्वागत जस्ता विषयवस्तु वर्णन गरिएको थियो । अर्को गीत आफ्नी सात वर्षीया भान्जी आस्थाबाट प्रेरित भएर सिर्जना गरेको उनको भनाइ छ ।

‘फर्किन्छु यसपालि’ गीतको परिवेश र सिर्जनाका बारे गीतकार अधिकारी यसो भन्छन्–

‘यसो आकाशतिर नियाल्दा पनि चाडपर्वको आभास हुन्छ, बालपनको सम्झना मनभरि खेल्न थाल्छन् । हामी हरेक नेपालीको भावना एउटै हो । घरदेशमा चाडपर्व आउँदा परदेशमा बिदा मिल्दैन । अनेकन उल्झन हुन्छन् र घर फर्कन पाइँदैन । बल्लबल्ल बिदाको मेसो मिलाएर दामको जोहो गरेर स्वदेश फर्कन्छौँ ।

नेपाल फर्कने जहाज चढ्दै गर्दा साथीभाइ र आफन्तसँग भेट्न पाइने आशाको कल्पना गरेका हुन्छौँ । आफ्नो देशको राजधानीमा पुगेपनि कता बाढी पहिरो र असुरक्षित यातायात सेवाका कारण आफ्नै घरमा पुग्न सकिन्न कि भन्ने डर हुन्छ ।

सिर्जना पनि त कति खेर कुन कारणबाट प्रस्फुटन हुन्छ थाहै हुँदैन । प्रस्फुटन हुनासाथ त्यसैमा तल्लीन हुन सकियो भने त्यसले एउटा मूर्त रूप लिन्छ र सबल सिर्जना बन्छ । मैले पनि पोहोर सालको दसैँ तिहारको पूर्वसन्ध्यामा मनमा अनेक तर्कना खेलाउँदा खेलाउँदै एउटा गीत लेखेको थिएँ र त्यसलाई एउटा राम्रो टिमको सहकार्यमा अडियोसम्म तयार गर्ने काम पोहोर नै भयो । समय अभावले भिडियो तयार पार्न सकिएको थिएन ।’

प्रारम्भिक रुपमा तयार भएको गीतलाई अहिलेको अवस्थासम्म आइपुग्न योगदान र सहयोग गरेकाहरुलाई सम्झँदै अधिकारी अगाडि भन्छन्–

‘मेरो लेखन कार्य र शैलीमा हरपल मार्गदर्शन गर्ने पत्रकार सरल पत्रिका सम्पादक माधव घिमिरे, गीत लेख्न प्रोत्साहित गर्ने गीतकार गुरू प्रिय भाइ प्रकाश सुवेदी, ‘फर्कन्छु यसपालि’ गीत लेख्दालेख्दै उति नै खेर सङ्गीत मा ढालेर आकार दिने, स्वर दिने, सङ्गीत संयोजन गर्ने प्रिय भाइ साहस शाक्यप्रति हृदयदेखि नै आभारी छु ।

गीतको भावना अनुसार देश, काल र परिस्थितिलाई नियालेर यो भिडियो निर्देशन गर्नुहुने प्रिय भाइ रोहन नेपालीको प्रयास अति नै प्रशंसनीय छ । हाम्रो यस भिडियोमा तेज गिरी, प्रकाश घिमिरे, मधु क्षेत्री, प्रमिला तुलाचन, बिनोद नेपाली, सुमन कार्की लगायत सबैको बेजोड अभिनय छ । यहाँहरूप्रति धेरै आभारी छु ।

मेरो जन्मघर गैरीगाउँ, जामुनाबोटबाट हाम्रो यस टिमलाई सहयोग गर्ने साथी बाबुराम आचार्य, रमेश आचार्य, बिकास आचार्य, बिनोद आचार्य, जुम्ली दाइ लगायत सम्पूर्णमा आभारी छु ।

सिङ्गै हाम्रो गाउँका बुबाहरू, आमाहरू, भाउजुहरू, दाइ, भाइ, दिदी, बहिनी, छोराछोरी, साथी भाइहरूले देखाउनु भएको माया र सहयोगले हाम्रो गैरीगाउँ, जामुनाबोटको गरिमा बढेको छ । हार्दिक नमनः गर्न चाहन्छु ।

पक्कै पनि बिगतको सम्झना र कल्पनाका रमाइला पलहरू हेर्दै र सुन्दै गर्दा अकस्मातको परिस्थितिमा फेरबदल आउने अवस्थाले जोकोहीको पनि आँशु नथामिन सक्छ । हामीले पीडालाई देखाउन मात्र खोजेका हैनौँ । आज कैयौँ घरपरिवारमा बियोगको अवस्था छ । त्यो अवस्थालाई पनि सबैले आत्मसात् गरौँ भन्ने उद्देश्यले यो भिडियो प्रस्तुत गरेका हौँ ।’

अधिकारीको नयाँ सिर्जना ‘जीवनको रेल’ सार्वजनिक

बुझ्दाबुझ्दै दिपेन्द्रलाई लाग्यो, ‘जिन्दगी हो खेल जस्तै’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *