अधिकारीको नयाँ सिर्जना ‘जीवनको रेल’ सार्वजनिक

काठमाडौं । सर्जक दिपेन्द्र अधिकारीको नयाँ सन्देशमूलक गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर छ ।
बालबालिका कतै शोषणमा परे भने न्याय दिलाउनु पर्छ र गल्ती भएको भए पनि सुध्रने मौका दिनुपर्छ भन्ने सन्देश समेटिएको गीत डिए क्रिएसन युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
अधिकारीका शब्दमा निर्मित गीतमा गायक तथा संगीतकार सिडी विजय अधिकारीले साथ दिएका छन् ।
यसैगरी संगीत संयोजक राजु कार्की, चर्चित गायिका समीक्षा अधिकारीको यस गीतमा भूमिका छ ।
गीत रेकर्डिङ, मिक्सिङ र मास्टरिङको भूमिका प्रसिद्ध गीतकार राजकुमार बगरले निर्वाह गरेका छन् । गीतको भिडियोतर्फ छायाङ्कन, सम्पादन र निर्देशन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन् ।
शृंगार र केश सज्जातर्फ यमुना र समग्र गीत निर्माणको क्रममा गीतकार भाइ प्रकाश सुवेदीले साथ दिएका छन् ।
गीतको छायांकन काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा गरिएको अधिकारीले बताए ।
गीत सिर्जना गर्नुको पृष्टभूमिबारे अधिकारीले भनेका छन्–
‘बाल अवस्थादेखि नै गीत सङ्गीतमा चुर्लुम्मै डुबेकी गला, कला र सुन्दरताकी धनी बहिनी समीक्षा अधिकारी नेपाली सङ्गीत बजारकी अमूल्य निधि हुन्। एक नाबालिकाको जीवनमा घटेका केही घटनाक्रमलाई लिएर बिभिन्न मिडियादेखि सामाजिक सञ्जाल मार्फत उपहास गरेको देखिरहँदा मेरो मन पनि शान्त थिएन । एक त छोरी शब्द नै प्यारो, त्यहीँ माथि मेरै छोरीको उमेरकी र आफ्नै ठाउँ पोखराकी चेली जसलाई झण्डै झण्डै आत्महत्या गर्ने अवस्था सम्म पुर्याइएन । केही समय अगाडिदेखि नै मैले समीक्षालाई एउटा गीत त गाउन लगाउँछु लगाउँछु भन्ने अठोट गरेको थिएँ, यो अठोटले आज आकार लिएको छ ।’
कहिले प्रकृति र मानवको सम्बन्ध, कहिले विदेशमा रोजगाररत नेपाली युवाका कथा अनि कहिले संस्मरणात्मक लेख लेखिरहने अधिकारीले सामाजिक विसंगति र राजनीतिक विकृतिका बारे पनि कलम चलाउँदै आएका छन् ।
लामो समयदेखि जापान बसेर नेपाली संस्कृति, गीत, संगीत अनि मौलिक परम्पराबारे कलम चलाइरहेका पोखराका अधिकारीले केहीअघि ‘मनमोहक पोखरा’ बोलको गीति भिडियो बनाएका अधिकारीले त्यसपछि मामा भान्जीको आदर र स्नेहपूर्ण सम्बन्धबारे सन्देशमूलक गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरेका थिए ।
मनमोहक पोखरा गीतमा पर्यटकीय महत्व, प्राकृतिक सुन्दरता, पाहुनाको स्वागत जस्ता विषयवस्तु वर्णन गरिएको थियो।
अर्को गीत आफ्नी सात वर्षीया भान्जी आस्थाबाट प्रेरित भएर सिर्जना गरेको उनको भनाइ छ।
सर्जक अधिकारीका अनुसार उक्त गीतमा मामा भान्जीको सम्बन्ध, पारिवारिक न्यानो माया दर्शाउँदै बालबालिकादेखि अभिभावकहरुमा सामाजिक चेतनाको सन्देश गीतबाट दिन खोजिएको छ।
अधिकारीले सिर्जना गरेको यसअघिको ‘मनमोहक पोखरा’-
‘चुलबुल चुलबुल’-