बिदा उत्सव

आउनुस्
उत्सव मनाऔं
आज विशेष दिन हो
यस्तो महत्वपूर्ण दिनमा कसैले पनि
अँध्यारो अनुहार नदेखाउनुस्,
यो दिनलाई सम्झिदा
मन रून्छ भने थाम्नुस्
शिर ननिहुराउनुस्
ठाडो पार्नुस्
र गर्व गर्नुहोस्,
सरकारले भने अनुसार जय भन्नुस्
जिन्दावाद भन्नुस्
मनभित्र
संकोचहरू छन् भने रित्याउनुस्
केही नसोच्नुस्
कुनै संशय नपाल्नुस् ।
तपाईंका निम्ति
सरकारले आज बिदा मनाएर
सडकमा निस्कने हिम्मत गरेको छैन
सिद्धान्तको पुस्तक थन्क्याएर सिरानी मुनि
मलिन अनुहार लिएर मृत्युलाई सम्झिरहेको छ
भित्रभित्रै रोएर आफैँ
ग्लानिमा जलिरहेको छ
नीति र सिद्धान्तमा लागेको
रगतको टाटो धोएर बस्ने दिन हो आज,
शहिदलाई सम्झिन होइन
बिना कसुर बनेका शहिदहरूलाई सम्झेर
पश्चाताप गर्ने दिन हो आज
यो सार्वजनिक छुट्टीका समयमा
आफ्नै कुकर्मलाई सम्झेर
आफैँलाई धिक्कार्ने समय हो आज
केही नबोल्नुस्
केही नगर्नुस्
आउनुस्,
आज बिदा उत्सव मनाऔं ।
सरकार आज छुट्टी मनाएर
बाह्र बर्षको अपुरो निन्द्रा निदाइरहेको छ
बाहिर सडक सुनसान छ
भाग्य बदल्न हिँडेको राइफल
यतिबेला कुन कुनामा थन्किएर
ग्लानीको कचेरा पुछिरहेको होला!
छोरो हराएको आमा
अहिले पनि सिंहदरबार धाइरहेकी छिन्
शरिरमा गोली बोकेको युवक
अहिले पनि अस्पताल गुहारिरहेका छन्
आगो लागेको घरको खरानीको टीको लगाएर
बुढा बा पालीमा रात बिताइरहेका छन्
अयोग्य लडाकु भनेर लखेटिएकाहरू
साउदी–कतारमा श्रमको पसिना चुहाइरहेका छन्
सुराकीका नाममा मारिएका बेपत्ता भाईको
नलिहाड खोज्न दाजु अझै चिहान धाइरहेका छन्
उहिले आफैले बोकेको कटबाँस सम्झेर
आफ्नै ढाड सुम्सुम्याउने दिन हो आज
आदर्शको झण्डामा पोतिएको
रगतको टाटो धोएर बस्ने दिन हो आज
यो उत्सवमय क्षणमा
कसैले दुःख नदेखाउनुस्
क्रान्तिका नाममा
आज सरकारले बिदा घोषणा गरेको दिन हो
कतै नहिँड्नुस्
केही नभन्नुस्
आउनुस्,
छुट्टी मनाऔं
आज विशेष बिदा उत्सव मनाऔं ।
बिमल दाइका कविता सधै बेजोड हुन्छन्, शक्तिशालि हुन्छन्, पढ्दा जीवन्त लाग्छन् । बधाई छ बिमल दाइ ।