धेरैपछि आफू पढेको स्कुल पुग्दा…

धुलोले पुरिएको आँगन उस्तै छ
पुराना भवनहरू हिजोजस्तै उभिएका छन्
केही नयाँ थपिएका छन्
पूर्ण सर अहिले पनि छडी लिएर आउनुहोला जस्तो लाग्छ
बिहानको प्रार्थना गर्ने मैदान उस्तै छ
अलि तल देखिने सिंहवाहिनी मन्दिर त्यहीँ छ
छेउका जंगलहरू मासिएर बस्ती बसेका छन्
हामीले ढुङ्गा हानेर झार्ने गरेको
रूद्राक्ष र लप्सीको बोट
बूढो भएर ढलुलाझैँ गरी उभिएको छ
उहिलेको खोल्सा छेउको चिहानघारीमाथि
मानिसहरू साँझ-बिहान रमाउने बगैँचा र पार्क बनेको छ
धेरैपछि आफैँ पढेको स्कुल पुग्दा ।

स्कुल पछाडि सुन्तलाबारीमा लटरम्म फल्ने सुन्तलाका बोटहरू
अहिले अस्तित्वको सूचनाका निम्ति मात्र उभिएझैँ लाग्छन्
स्कुल मैदानको डिल उस्तै छ
माथिल्लो भागको पुरानो भवन जीर्ण बनेर पनि
अस्तित्व भने धानिरहेछ
सोही भवनका झडापहरू खोलेर
बिहीवार बिहान नाच्ने-गाउने र हँसाउने गर्थ्यौं हामी
स्कुल आउने-जाने बाटोमा छापिएका ढुङ्गाका सोलिङ्मामा
घोप्टेर-लडेर कति घुँडा खुस्काइयो
कति टाउको फुटाइयो
अहिले फेरिएर बाटो कंक्रिट बनेको छ
स्कुल आउदा-जाँदा
चटपटे र आलुको खाजामा अल्मल्याउने बद्री मामा छैनन्
घर त छ उहाँको, व्यवसाय भने बदलिएको छ
स्कुल मुनिको ढुङ्गे धारो उस्तै छ
पानी खस्न भने छोडेको छ
धेरैपछि आफैँ पढेको स्कुल पुग्दा ।

स्कुल झर्दैगर्दा बाटोको मुखैमा फुसको छानामुनि
देवान सर र माया गुरूमा भेटिनुहुन्थ्यो र पढ्ने जाँगर भरिन्थ्यो
आज स्कुल झर्दैगर्दा देखे
बीच बाटो पारेर उभिएको देउराली त्यहीँ छ
उकालो चढ्दै गरेको दसैँको फूलपाती
त्यहीँ देउरालीमा विश्राम गरेर बजार भित्रिन्थ्य‍ो
छेवैको कम्पाउण्ड भित्रको आँगनमा
मिजासिलो क्याप्टेन साबलाई भेटिन्थ्यो
त्यो आँगन हिजोआज सुनसान छ
उसबेला स्कुलमा शास्त्री गुरूले
संस्कृतका नीति श्लोकहरू घोकाएको सम्झना आलै छ
समय फेरियो भनौं,
स्कुल अघि अहिले धार्मिक सत्सङका लागि चर्च बनेको छ
निक्कै पछि स्कुल पुग्दा
मैले कमल पराजुली सरलाई सम्झेँ
ठाकुर सर, नरेन्द्र सर, मानबहादुर सर, कोमल सरहरूलाई खोजेँ
अरू त के भनौँ,
बानियाँ सरको सिर्कना सम्झ्यो कि अहिले पनि पिँडुला पोल्छ
स्कुल पुग्दा धेरै दौँतरीहरूलाई मेरा आँखाहरूले ख‍ोजिरहे
कोही कसैलाई भेटाउन सकिन,
मात्रै सम्झिरहेँ
धेरैपछि स्कुल पुग्दा
मैले आफ्नो बाल्यकाललाई भेटेँ
छोडिएका खुसी र स्मृतिहरू भेटे
स्कुलको आँगनमा पुग्दा देवीदास हेडसरलाई खोजेँ
उहाँ त स्कुलको एउटा कुनामा सालिक बनेर बाँचिरहनु भएको रहेछ ।


प्रतिक्रिया

One thought on “धेरैपछि आफू पढेको स्कुल पुग्दा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *