प्रधानमन्त्रीको आग्रहमा उद्योगी-व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । चर्को बैंक व्याजदर तथाप्रतिकूल बैंकिङ नीतिहरुविरुद्ध उद्योगवी व्यवसायीले गरेको काठमाडौँकेन्द्रित आन्दोलन स्थगित भएको छ ।
बैंक तथा वित्तीय संघर्ष समितिको अगुवाइमा भइरहेको आन्दोलन प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा तत्कालका लागि स्थगित गरिएको जनाइएको छ ।
चर्को बैंक व्याजदर लगायतका समस्याहरुबाट लामो समयदेखि प्रताडित निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या निराकरण गर्न सरकार तथा सम्बन्धित निकायले वास्ता नगरेको भन्दै आन्दोलन सुरु भएको थियो ।
मोरङ व्यापार संघको पहलमा मुलुकभरका जिल्ला, नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरुका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरुले फागुन २७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका थिए ।
संघको आग्रहमा फागुन २७ गते मुलुकभरका १२५ भन्दा बढी उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु एवं औद्योगिक, व्यवसायिक संघ-संस्थाहरु काठमाडौँमा भेला भएका थिए ।
उनीहरुले ‘बैंक तथा वित्तीय समस्या संघर्ष समिति’ बनाएर काठमाडौंको माइतीघर मण्डला, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत स्थानहरुमा विरोध प्रदर्शन गर्दै आएका थिए ।
समितिका संयोजक एवं मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राजधानी बाहिरका विगतका देशव्यापी आन्दोलनलाई सरकारले खासै चासो नदिइएकाले संघीय राजधानीकेन्द्रित आन्दोलन गर्नुपरेको हो ।
प्रतिकूल अवस्थाका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गरिसकेको दुखद अवस्थामा राजधानीकेन्द्रित आन्दोलनको विकल्प नरहेका उनको भनाइ छ ।
आन्दोलनको तेस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहालले आमन्त्रण गरी छलफल गरेका थिए । मंगलबार भएको छलफलमा बैंक व्याजदरलगायत औद्योगिक, व्यावसायिक क्षेत्रका समस्याहरु राम्रोसँग बुझेकै कारण आफूले पदभार ग्रहण गरेलगत्तै तिनको निराकरण गर्न तत्पर रहेको उनले बताएका थिए ।
समस्या समाधानका लागि गृहकार्य गरिरहेको प्रधानमन्त्रीले बताएका थिए । हाल सरकार गठनका कार्यहरु प्रक्रियामै रहेकाले त्यसलगत्तै औद्योगिक व्यावसायिक समस्याहरुको सम्बोधन गराउनेतर्फ अग्रसर हुने बचन दिएका थिए ।
प्रधानमन्त्रीले समस्या समाधानमा अघि बढ्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । संघका अध्यक्ष रिजालले प्रधानमन्त्रीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए ।
प्रधानमन्त्रीसँगको भेटमा रिजालसहित नेपाल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षहरु दिनेश श्रेष्ठ र अन्जनश्रेष्ठ, संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकासकुमार बेगवानी र विभिन्न औद्योगिक व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।