चेक बाउन्सको नीतिलाई कडाइसाथ कार्यान्वयन गर्न माग

विराटनगर । नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चेक बाउन्सलाई बैंकिङ कसुर मान्न नहुने भन्ने धारणा राखेकामा उद्योगी–व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
एसोसिएसनले नेपाल राष्ट्र बैंकलाई चेक बाउन्सलाई बैंकिङ कसुर मान्न नहुने भनी नीति संशोधन गर्न माग राखेकामा उनीहरुको ध्यानाकर्षण भएको हो ।
उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था मोरङ व्यापार संघले राष्ट्र बैंकका गभर्नरलाई पत्राचार गर्दै एसोसिएसनको उक्त मागप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्र बैंकले केही वर्षयता चेक बाउन्स सम्बन्धी गतिविधिलाई कडाइ गर्दै त्यसलाई बैंकिङ कसुरअन्तर्गत राखेको हो ।
त्यसो गर्दा कतिपय अस्वस्थ व्यावसायिक गतिविधिहरु नियन्त्रणमा आएको बुझाई संघको छ ।
राष्ट्र बैंकको चेक बाउन्स सम्बन्धी विद्यमान व्यवस्था व्यावहारिक र स्वागतयोग्य रहेको संघले उल्लेख गरेको छ ।
चेक बाउन्सको नीतिमा कुनै प्रकारको लचकता अपनाइए उधारो बिक्री वितरण गर्ने सम्पूर्ण उद्योगी-व्यवसायीहरुको उधारो असुलीमा चुनौती सिर्जना हुने जनाइएको छ ।
यसैगरी उद्योग, व्यवसायहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋण समेत असुल उपर गर्न कठिनाइ हुने संघका महासचिव अनिल सारडाद्वारा राष्ट्र बैंकलाई प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
संघले बैंकिङ कसुर अन्तर्गत राखिएको चेक बाउन्स सम्बन्धी विद्यमान व्यवस्थामा कुनै पनि प्रकारको लचकता अपनाउन नहुने धारणा राख्दै यसलाई अझ कडाइका साथ प्रभावकारी रुपले कार्यान्वयन गर्न माग गरिएको छ ।