उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंकविरुद्ध प्रदर्शन

काठमाडौं । बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले सोमबार राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् ।
‘बैंक तथा वित्तीय समस्या संघर्ष समिति’ को आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा विरोध प्रदर्शन गरिएको हो ।
ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उद्योगी व्यवसायीले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनका सहभागीले ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नुपर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनुपर्ने जस्ता ब्यानर बोकेका थिए ।
प्रदर्शनका सहभागीहरु केहीबेर सडकमै धर्ना पनि बसेका थिए ।
विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।
यसअघि हिजो आइतबार उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आर्थिक क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने खालका नीति नियमहरु सुधार्न ध्यानाकर्षण गराएका थिए ।
संघर्ष समितिका संयोजक एवं मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको कठोर नीति संशोधन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।
उक्त संघर्ष समितिमा देशभरिका उद्योगी व्यवसायीका संस्थाहरु आबद्ध छन् ।