गरिखान गाह्रो भो भन्दै उद्योगी-व्यवसायीद्वारा राष्ट्र बैंक घेराउ

काठमाडौं । बैंकको चर्को ब्याज र आर्थिक क्षेत्रलाई नकारात्मक असर गर्ने नीतिको विरोधमा आन्दोलनरत देशभरका उद्योगी व्यवसायीले मंगलबार नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् ।

काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्दै उनीहरुले धर्नासमेत दिएका थिए ।

अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीमाथि चर्को ब्याज थोपरेको उनीहरुको आरोप छ ।

यसैगरी कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै उद्योगी व्यवसायी आन्दोलित बनेका हुन् ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्न राष्ट्र बैंक आएको बताएका थिए ।

अर्थतन्त्रमा आएका समस्याका कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको दाबी श्रेष्ठले गरे ।

महासंघका उपाध्यक्ष अर्का दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने चेतावनी दिए ।

ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको उनले बताए । अर्थतन्त्र संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको उनले उल्लेख गरे ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंकविरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए ।

उनले पछिल्लो समय बैंकको चर्को ब्याजदरलगायत दादागिरीका कारण व्यवसायी मर्कामा परेको जनाए ।

आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजीकर्जा मार्ग निर्दशन स्थगन गर, ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भयो, उच्च सेवा शुल्क बन्द गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *