मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी
काठमाडौँ । सरकारले मेडिकल शिक्षा अध्ययनका लागि नेपाल आउन चाहने विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ। शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यो जानकारी दिएका हुन्।
सरकारले विदेशी विद्यार्थीका लागि मेडिकल शिक्षामा कोटा बढाउने विषयमा नीतिगत निर्णय गर्न गृहकार्य अगाडि बढाएको उनले स्पष्ट पारे।
नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि स्टुडेन्ट भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग छलफल भइरहेको सचिव पौडेलले बताए।
हाल विभिन्न मुलुकका करिब १४ सय विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको तथ्यांक उनले प्रस्तुत गरे। तीमध्ये सबैभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएकाले यो क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
विदेशी विद्यार्थीहरू ल्याउने सन्दर्भमा स्टुडेन्ट भिसालाई कसरी सहज बनाउन सकिन्छ भनेर गृह मन्त्रालयसँग समन्वय भइरहेको उनले समिति बैठकमा जानकारी गराए। मेडिकल शिक्षामा विदेशी विद्यार्थीको आकर्षण उच्च रहेकाले कोटा बढाउन नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार अगाडि बढिरहेको सचिव पौडेलले उल्लेख गरे।
