गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरेको भन्दै सोमबार आयोगमा उजुरी परेको हो।
पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न माग गरेका छन्। आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई हिरासतमा रहेका उनीहरूको बयान लिई घटनाको सत्यतथ्य जाँचबुझ गर्न उजुरीमा माग गरिएको छ।
उजुरीमा गृहमन्त्री तथा सांसद सुदन गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत भनिएको छ।
पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरुङ र उनको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन माग गरिएको छ। साथै अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन जारी गर्न समेत आयोगसँग आग्रह गरिएको छ।
यसअघि राष्ट्रिय जेनजी नागरिक अभियानले गत जेठ २१ गते प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताएको थियो।
