‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन’
बिर्तामोड। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य भएको बताएका छन्। मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने जनाएका हुन्।
विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले अद्यावधिक नगर्ने अडान लिइरहेका बेला थापाले यदि त्यस्तो अवस्था हो भने पार्टीबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद हुने बताए। सबै साथीहरूलाई आफ्नो आग्रह रहेको र सबै नेताहरूलाई सम्मान गर्ने बताउँदै उनले अधिवेशनमा भाग लिनुपर्छ भन्ने ठानेको उल्लेख गरे।
कसैले अद्यावधिक गरेको छैन भने आफूलाई क्षमा गर्न आग्रह गर्दै उनले अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान र माया गरे पनि पार्टी सदस्यको रूपमा अब सिस्टमले नचिन्ने स्पष्ट पारे।
उनले असन्तुष्ट पक्षका नेताहरुको माग नै नमिलेको जवाफ दिए। अद्यावधिक भन्दा अघि तय भएको क्रियाशील सदस्यता र विशेष महाधिवेशन अघिको कार्यसमितिका आधारमा १५औँ महाधिवेशन हुनुपर्ने माग नै त्रुटिपूर्ण भएको उनको भनाइ थियो। १४औँ महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति अहिलेकोमा मिलाएर १५औँ महाधिवेशन गर्न नसकिने उनले बताए।
पार्टीभित्रको असन्तुष्टि मिलाउन धेरै लचिलो भए पनि समाधान ननिस्केको गुनासो उनले गरे। सभापति थापाले बीपी कोइरालाले बनाएको पार्टीलाई पछिल्लो आठ-दस वर्षमा छियाछिया बनाइएको आरोप लगाए। सुधारलाई रोक्ने गरी आएको प्रस्तावलाई अस्वीकार गरेरै अघि बढ्ने उनको चेतावनी थियो।
कति विनम्र र लचिलो हुनुपर्ने हो, त्यो सबै कुरा हुने भए पनि बीपी कोइरालाले बनाएको पार्टीलाई बिगारेकाले यसलाई सुधार्छु भनेर संकल्प गरेर आएको बेलामा ठेस पुर्याउने गरी आएका प्रस्तावहरू नमानेर अगाडि बढ्ने उनले बताए। यसका लागि अरू कुनै बाटो नभएको उनको भनाइ थियो।
