रास्वपा महाधिवेशन: गुट र उपगुट नबनाउन निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिलाई निर्देशन दिएका छन्।

महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए। भित्रभित्रै नाम पठाउने र फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि नगर्न उनले सचेत गराए। रास्वपालाई यहाँसम्म ल्याइपुर्‍याउन नेपाली नागरिकले अथाह विश्वास गरेको भन्दै उनले अब उपलब्धिलाई परिणाममा बदल्ने बेला आएको उल्लेख गरे।

सपना देख्दैमा र चाहना राख्दैमा अटो पाइलटमा गएर आफैँ पूरा नहुने र यसका लागि केही कदम चाल्नैपर्ने उनको भनाइ थियो। संसारको राजनीतिक इतिहासमै विरलै हुने गरी पहिलो महाधिवेशनअगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको दाबी गर्दै उनले यसको महिमागान मात्र गाएर हिँड्न नहुनेमा जोड दिए।

लामिछानेले सभापतिको विशेषाधिकार प्रयोग गर्दै महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार रुपैयाँ शुल्कलाई ऐच्छिक बनाएको घोषणा समेत गरे। धेरै दिन बस्दा प्रतिनिधिको खर्च बढेको र आर्थिक भारकै कारण कोही पनि मतदानबाट वञ्चित भएर फर्किनु नपरोस् भन्नका लागि उनले यस्तो निर्णय लिएका हुन्।

शुल्क तिरिसकेका प्रतिनिधिले चाहेमा रकम फिर्ता लिन सक्ने र शुल्क तिर्न नसक्नेहरूका लागि पार्टीले नै वैकल्पिक स्रोतको व्यवस्था गर्ने उनले प्रस्ट पारे। राजनीतिमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले सक्नेले नसक्नेको हात समातेर माथि तान्न आग्रह गरे।

पार्टीभित्र पदीय जिम्मेवारी वा उम्मेदवारीलाई लिएर चलेका विभिन्न अफवाहको पनि उनले खण्डन गरे। सांसद वा मन्त्री भएकालाई उम्मेदवार बन्न नदिने वा पुराना र नयाँबिच विभेद गर्ने कुनै पनि औपचारिक निर्णय पार्टीले नगरेको उनले स्पष्ट पारे। जसले पनि निर्बाध रूपमा उम्मेदवारी दिन पाउने भन्दै उनले कसलाई भोट दिने र कसलाई नदिने भनेर उर्दी जारी गर्ने चरित्र रास्वपाको नभएको बताए।

पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न उनले प्रतिनिधिलाई आग्रह गरे। कसैले सदस्य बनाइदिएका भरमा वा यहाँसम्म ल्याइदिएका भरमा लालमोहर वा औँठाछाप लगाएर आफ्नो इमान बन्धकी राखेर आउन नहुने उनले उल्लेख गरे।

गलत तरिकाले कसैले हलसम्म ल्याइपुर्‍याएको भए पनि देश र पार्टीप्रति उत्तरदायी भएर सक्षम व्यक्तिलाई मात्र मतदान गर्न उनले सुझाए। गलत पात्र र प्रवृत्तिको एउटा सानो बिउ मात्र रोपिए पनि त्यसले कालान्तरमा दुर्घटना निम्त्याउने भन्दै उनले त्यस्तो परम्परा रास्वपामा भित्रिन नदिन जोड दिए।

निर्वाचनको प्रक्रियामा आफू सबैबाट अलग रहेको बताउँदै उनले चुनाव जसले जिते पनि घण्टीवाहकले नै जित्ने र सबै आफ्नै परिवारको सदस्य भएको धारणा राखे। सहमतिको प्रयास भइरहेको भए पनि सबै प्रतिनिधि आफ्ना लागि बराबर र प्रिय भएकाले कसैलाई काखा र कसैलाई पाखा गर्न नसक्ने उनले बताए।

पार्टीभित्र मतभेद वा समस्या आउनु स्वाभाविक भए पनि त्यसलाई समाधान गर्ने क्षमताले नै दललाई परिपक्व बनाउने लामिछानेले उल्लेख गरे। पार्टीभित्रका कुनै पनि असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्ने भन्दै उनले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराए।

रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उनले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गरे। बन्दसत्रमा राजनीतिक, आर्थिक र अनुशासन आयोगका प्रतिवेदनहरू प्रस्तुत हुने र त्यसमाथि घनिभूत छलफल गरिने जानकारी उनले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *