सम्पत्ति शुद्धीकरण अनुसन्धान : एमाले उपाध्यक्ष पौडेल पक्राउ
काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्।
म्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो। पौडेलमाथि सेयर कारोबार तथा उनले आर्जन गरेको सम्पत्तिको स्रोतका बारेमा शंकास्पद देखिएका विषयमा अनुसन्धान भइरहेको छ।
पार्टीको कार्यक्रमका लागि कर्णाली प्रदेशको सुर्खेत पुगेका बेला पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। पक्राउपछि उनलाई तत्काल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। त्यहाँबाट काठमाडौं ल्याउने तयारी भइरहेको र त्यसका लागि हवाई वा स्थलमार्गमध्ये उपयुक्त विकल्पका बारेमा छलफल भइरहेको स्रोतले बताए।
एमालेले हाल देशभरका प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेका बेला पार्टीका दोस्रो वरीयताका नेतामाथि भएको कारबाहीले राजनीतिक वृत्तमा चासो बढाएको छ। सम्पत्ति शुद्धीकरण विभागसँग सम्बद्ध उच्च स्रोतका अनुसार पौडेलसँग सम्बन्धित आर्थिक गतिविधि, विशेषगरी सेयर कारोबार र सम्पत्तिको स्रोतसम्बन्धी विषयमा थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको छ।
पक्राउसँगै उनीमाथिको अनुसन्धान प्रक्रिया थप तीव्र बनाइएको स्रोतले बताए। यस विषयमा सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरी वा एमालेका तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
यसैबीच, सम्पत्ति शुद्धीकरण विभागले पौडेलको निवासमा छापा समेत मारेको छ। उनलाई पक्राउ गर्नुभन्दा अगाडि काठमाडौंको भैँसेपाटीस्थित निवासमा छापा मारिएको हो। विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंका विभागले गरेको छ।
विभागको टोली सोमबार दिउँसो १ बजे पौडेलको निवासमा पुगेको थियो। भैँसेपाटीस्थित घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन्। विभागले सोही भाडाको घरमा छापा हानेको हो। अनुसन्धान जारी रहेकाले थप विवरण क्रमशः खुल्दै जाने बताइएको छ।
